पर्यटक लोभ्याउँदै सामुदायिक वनहरु

  प्रकाशित मिति
१३ माघ २०७२, बुधबार १३:२६


Jamun simsar 1
झापा । झापाका सामुदायिक वनहरुले प्राकृतिक सिमसार र बन्यजन्तुको संरक्षण गरेर आन्तरिक पर्यटक आकर्षित गर्न सफल भएका छन् ।
जिल्लामा ५७ वटा सामुदायिक बनमध्ये ५० वटा समुदायमा हस्तान्तरण भइसकेका छन् । तीमध्ये समुदायमा गएका एक दर्जन सामुदायिक बनले आफ्नो बन क्षेत्रका सिमसार, पोखरी र हरियाली वातावरणलाई पर्यटकीय स्थलको रुपमा विकास गरेका छन् ।

विगतमा बन पैदावारको मात्र आम्दानी लिइरहेका सामुदायिक बनहरु अहिले पर्यटकीय स्थलको आम्दानी थपिएपछि आर्थिक पक्षमा अझ समृद्ध भएका छन् ।

कनकाई नगरको ६ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको जामुनखाडी सामुदायिक वन पर्यटकीय क्षेत्रको प्रबर्धन गरेर मुलुककै नमुना बन्न सफल भएको छ । उपभोक्ता समितिले निर्माण गरेको जामुनखाडी पर्यटकीय सिमसार क्षेत्रमा सुविधा सम्पन्न बनभोज स्थल र चिडियाखाना रहेको छ ।

सुरुमा बनभोज स्थलको पहिचानले चिनिएको जामुनखाडी पर्यटकीय क्षेत्रमा गङ्गा र जमुना नामका दुई वटा ठूला जलाशय छन् । जहाँ केही वर्षदेखि नौका विहार र झोलुङ्गे पुल यात्राको सुविधा थपिएको छ ।

जामुनखाडी सामुदायिक बनले पर्यटकीय स्थलबाट मात्र वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरी बताउँछन् ।

जामुनखाडीमा दैनिक औसत ७ सय जना घुम्नका लागि आउने गरेका छन् । वर्षमा २ लाख ५० हजार भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको र उनीहरुबाट प्रवेश शुल्क असुली गर्दा नै राम्रो आम्दानी हुने गरेको अध्यक्ष गिरीले बताए ।

जामुनखाडी सामुदायिक बनले पर्यावरणसँग पर्यटन जोडेर मनग्ये आम्दानी लिन थालेपछि झापाका अन्य सामुदायिक बन समेत हौसिएका छन् । कतिपयले उस्तै र धेरैले पृथक किसिमको पर्यटकीय आकर्षण गर्ने उपाय निकालेका छन् ।

कनकाई नगर क्षेत्रकै चुरे इलाकामा कनकाई नदीको पूर्वी किनारमा रहेको सुकेडाँगी सामुदायिक बन पर्यटक आकर्षण गर्नेमा अर्को नमुना बनेको छ । सुकेडाँगीले धनुषकोटी धामको समेत प्रचारप्रसार गरेर धार्मिक पर्यटकको ओइरो लगाएको छ ।

उत्तरी झापाको बाँसबारी, थोप्लेविरान, मागुरमाडी, कालिका र खुट्टेडाँगी सामुदायिक वनले समेत चिडियाखाना, बनभोजस्थल सञ्चालनमा ल्याएका छन् ।

jamunkhadi suspension bridge

बाँसवारी सामुदायिक वनमा घुम्ने पार्क, झोलुङ्गे पुल, चिल्ड्रेन पार्कलगायत निर्माणधीन अवस्थामा छ । भने चिडियाखाना सञ्चालित छ ।
विशेष गरी इलाम, मोरङ, सुनसरी र भारतका दार्जीलिङ, सिक्किम, सिलगुढीलगायतका स्थानबाट आउने पर्यटकहरु जाडो मौसममा बनभोज खान र गर्मीमा डुङ्गा सयरका लागि आउने गरेको जिल्ला बन उपभोक्ता महासङ्घ झापाका सदस्य समेत रहेका सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गङ्गा ढुङ्गेलले बताए ।

सामुदायिक बनहरुले पर्यटकीय स्थल घुम्न आउनेलाई प्रवेश शुल्क वापत जनही २० देखि ५० रुपैयाँसम्म र बनभोज खान आउने टोलीलाई ३०० देखि १००० रुपैयाँसम्म शुल्क लिने गरेका छन् ।

शनिअर्जुनको नमुना सामुदायिक बनभित्र रहेको सहिद स्मृति पार्क पर्यटकीय आकर्षणको अर्को प्रमुख थलो भएको छ । यहाँ कछुवा प्रजनन केन्द्र सञ्चालित छ भने पोखरीमा नौका विहारको व्यवस्था समेत छ ।

सामुदायिक बनहरुले पर्यटकीय क्षेत्रबाट प्राप्त भएको आम्दानी पर्यावरणको संरक्षण र गरीबी न्यूनीकरणका लागि खर्च गर्दै आएको जनाएका छन् ।

धाइजनमा रहेको बाँसबारी सामुदायिक वन १५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँको चिडियाखानामा दुर्लभ अजिङ्गर, मयूर, हरिण, दुम्सी, खरायो, अस्ट्रिज लगायतका बन्य जन्तु पालिएका छन् ।

बाँसवारी बन उपभोक्ता समितिका अध्यक्ष दुर्गा शिवाकोटीले रुख काटेर आम्दानी गर्ने पुरानो चलन पर्यटकीय स्थलको विकासले बद्लिएको बताउनु हुन्छ । पर्यटक आकर्षित गरेरै धेरै आम्दानी हुन थालेपछि उपभोक्ता समितिले पर्यटक लोभ्याउन नयाँ नयाँ उपायको खोजी गरिरहेको उनी बताउँछन् ।

वन्य जन्तु हेर्न र बनभोज खान विद्यार्थीहरुको भीड लाग्ने गरेको अध्यक्ष शिवाकोटीको भनाई छ । बाँसवारी पर्यटकीय स्थलमा यातायातको दृष्टिकोणले पनि राजमार्गबाट नजिक भएकोले दैनिक ३०० जना आन्तरिक पर्यटक आउने गरेको समितिको भनाई छ ।

झापामा सामुदायिक बनहरुले पर्यटकीय विकासको नमुना प्रस्तुत गरेको बन उपभोक्ता महासङ्घ नेपालकी केन्द्रीय सदस्य सङ्गीता थापा बताउँछिन् । सामुदायिक वनहरु समुदायमा हस्तान्तरण भएपछि पर्यटन पर्यावरणको क्षेत्रमा विकास हुन थालेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: