पर्यटन क्षेत्र र हाम्रो दायित्व

  प्रकाशित मिति
२६ असार २०७३, आईतवार ११:३७


bimal 1

देश विकासको प्रमुख आधारमध्ये पर्यटन पनि महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । नेपालको सन्दर्भमा आर्थिक, सामाजिक रूपान्तरणको आधार पर्यटन क्षेत्र र पर्यटन क्षेत्रको विकासलाई मान्नुपर्छ । किनकि अहिले निजी लगानीको सबैभन्दा उपयुक्त क्षेत्रका रूपमा नेपालमा मात्र होइन, अन्यत्र पनि पर्यटनलाई लिन थालिएको छ । नेपालजस्तो देशका निम्ति यसले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा पनि यसलाई विकास गर्न सकिन्छ ।

नेपालको भौगोलिक अवस्था, प्राकृतिक सुन्दरता, यहाँको जाति, धर्म, भाषा र धर्मगत रूपमा देखिएको विविधता र ऐतिहासिक सांस्कृतिक सम्पदाको प्रचुरता एउटा चर्चित र लोकप्रिय पर्यटकीय क्षेत्र हुनका लागि काफी छ । यसले नेपाल एउटा उत्कृष्ट, भरपर्दो, विश्वसनीय र रोमाञ्चक पर्यटकीयस्थल हो भन्ने कुरा प्रमाणित गर्छ । नेपाल भनेको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधता भएको देश हो । यहाँ अथाह सम्भावना हुँदाहुँदै पनि पर्यटकहरु आउन सकेका छैनन् ।

निजी क्षेत्रको संलग्नता, साझेदारिता र विकास भनेको स्थानीय आर्थिक समृद्धिका निम्ति हुनुपर्छ । अहिले स्थानीय आर्थिक विकासको कुरो उठिरहेको छ । यसलाई सम्बोधन गर्ने माध्यम पनि पर्यटनको विकास हो । किनभने यसबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुन्छ । नेपालमा यातायातको उचित व्यवस्थापन छैन । पर्याप्त बिजुली आपूर्ति गर्न सकेको छैन । सहर, राजमार्ग र चोकबस्ती अन्धकार छन् ।

विदेशीहरुले प्रशस्त खर्च गर्न सक्ने सहर, नगर, गाउँबस्तीमा खानेपानीको सहज आपूर्ति छैन । तर, नाफा कमाउनका लागि हरेक निकायमा सर्वसाधारणको तँछाडमछाड बढ्दै गइरहेको छ । चाहे खाद्यान्न उत्पादन वा उद्योगधन्दा नै होस् । पर्यटन व्यवसाय, पर्यटकलाई सेवा र पर्यटकबाट आम्दानी पनि सर्वसाधारणमा सीमित भएको छ । राज्यसंयन्त्र देखाउने दाँत भएको छ । राज्य गरिब हुँदै गएको छ र जनता गरिबीको चपेटोमा पर्दै दिनानुदिन खस्कँदै गएका छन् । साधन र स्रोत भएर पनि हामीले यसको उचित प्रयोजन गर्न सकेका छैनौँ, यो दुःखको कुरा हो ।

हामीले हाम्रो स्थानमा पर्यटनको माध्यमबाटै समग्र आर्थिक उन्नति गर्ने, समग्र गरिबी निवारण गर्ने उद्देश्य लिएर अघि बढ्यौंँ भने र हाम्रा प्राकृतिक सम्पदा र सांस्कृतिक विविधतालाई सही सदुपयोग गर्न प्रयत्न गर्यौँ भने सही रुपमा र व्यापक प्रचार प्रसार गरेर दीगो पर्यटन प्रवर्दन गर्न सकिन्छ । वैदेशिक मुद्राको आजन गर्न सकिने कुरामा दुइमत नै छैन । निजी क्षेत्रको दायित्व भनेको लगानी गर्ने, विश्वव्यापी पर्यटकीय बजारमा सशक्त बजारीकरण गर्ने र विदेशी पर्यटकलाई भित्र्याउनका लागि उल्लेख्य भूमिका खेल्ने काम सञ्चारमाध्यमको पनि हो । हाम्रा कलमहरु यसतर्फ मोडिन आवश्क छ । पर्यटनमा सबैभन्दा ठूलो भूमिका भनेको नीजि क्षेत्रको हुन्छ । यस अर्थमा कि ठूलो लगानी निजीक्षेत्रकै हुन्छ । राज्यले त नीतिगत सुधार र योजना निर्माणमा ध्यान दिने हो । सबै कुरामा सरकारको मुख ताकेर मात्र आन्तरिक विकास सम्भव छैन । नेपालमा दीगो विकास र विकासका पूर्वाधारको संरक्षण हुन नसक्नु भनेको राज्यको मुख ताक्ने चलनले भएको हो । हामीले सधैँभर सबै कुरामा राज्यको भर पर्ने बानी छाड्न सक्नुपर्छ ।

खासगरी पर्यटनमा राज्यको दायित्व भनेको नीति नियम बनाउने हो । राज्यको दायित्व भनेको ठूलाठूला पूर्वाधारमा लगानी गर्ने हो । पर्यटन व्यवसायलाई सरलीकृत गर्ने र प्रवर्दनात्मक काम गर्नेमा पनि राज्यले नीति निर्माणको तहमा दायित्व बहन गर्नुपर्छ । नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सुधार, नेपाल वायुसेवा निगममा थप जहाज किन्ने र सशक्तिकरण गर्ने, व्यवस्थापन चुस्त बनाउने, मुख्य मार्गहरु जो अन्तर्राष्ट्रिय सम्बन्ध राख्छन्, जस्ता कुरा राज्यको दायित्वभित्र पर्दछन् ।

विश्वसमक्ष पहिचान दिने विश्वकै अग्लो सगरमाथा, गौतम बुद्धको जन्मभूमि, मठमन्दिर, हरियाली र जलसम्पदा लगायतका धेरै ऐतिहासिक धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा नेपाल सम्पन्न रहेको छ । नेपाल पर्यटकीय क्षेत्रको रुपमा विश्वसामु चिनिन्छ । पर्यटन प्रवर्दनकालागि भौतिक पूर्वाधार व्यवस्थापन गर्नु मुख्य काम हो ।

प्राकृतिक सुन्दरतामा नेपाल विश्वका धनी देशको कोटीमा पर्छ । प्राकृतिक सौन्दर्यताको अवलोकन र उच्च शिखरहरु चढ्ने रोमाञ्चकतालाई सहज र सुलभ बनाउँदै विश्वका मानिसलाई आकर्षित गर्नसक्ने हो भने देशको अर्थतन्त्र सबल र एउटा धनी मुलुकको रुपमा हरेक जनताले गौरव गर्न पाउने थिए ।

पर्यटनले आर्थिक क्षेत्र सबल भएको उदाहरणका रुपमा बेलायतलाई लिन सकिन्छ । बेलायतको प्रमुख आर्थिक स्रोत पर्यटन पनि हो । विश्वभरबाट लन्डन आउने पर्यटकहरुले पूरै बेलायतको अर्थतन्त्रमा ठूलो टेवा दिने गर्दछन् । हामीले थाहा पाउनुपर्ने कुरा यति मात्र हो । लन्डन कुनै पनि सौन्दर्य प्राकृतिक भएको मुलुक होइन । सबै मानव निर्मित हुन् र निर्माण गर्न शताब्दियाँैं लागेको थियो । निर्माण गरिएको सौन्दर्यताबाट देशको अर्थतन्त्र सबल हुनसक्छ भने प्रकृतिले उपहार दिएको सुन्दरताको उपयुक्त समायोजन गरेर नेपाल किन धनी हुन नसक्ने भन्ने प्रश्न उठ्नै सक्दैन । यहाँको जल, जमिन र भौगोलिक संरचना अनुसारको वन जङ्गललाई सदुपयोग गर्न नीतिगत योजनामा लाग्न सकिन्छ, यी नै हाम्रा पूर्वाधार हुन् ।

युएई, कतार, मलेसिया मोरक्को जस्ता कयौंँ देश जहाँ मानव निर्मित संरचनाका कारण दीर्घकालीन रुपमा धनी भएका छन् । कुनै समय ती देश पनि उजाड, बङ्जर वा जङ्गली उपनामले ग्रसित र गरिब कहलाइन्थे भनेर अध्ययन गर्न पाइन्छ । आज तिनै देश उद्देश्यमूलक ढङ्गले विश्वभरका मानिसलाई आफ्नो देशमा आकर्षित गर्दै धनी बन्दै गएका छन् । प्राकृतिक सौन्दर्यमा रमाएर नेपाल भ्रमणमा आउने वा उच्च शिखर चढेर मनोरञ्जन लिने विश्वभरका मानिसको सङ्ख्या लन्डन वा दुबई हेर्न जाने मानिसका सङ्ख्याभन्दा बढी हुन सक्छ । तर, उनीहरुको नेपाल भ्रमणमा बिताउने दिनहरु सहज, सुविधायुक्त र अनुकूल बनाउनु हाम्रो दायित्व र जिम्मेवारीमाथिको प्रश्न हो । सहज, सुविधायुक्त र अनुकूल नभएका कारण पर्यटकले नेपालमा एउटै कुराको अनुभूति गर्दछन् त्यो हो– राज्यसंयन्त्रले जनतालाई मनोमानी ढङ्गले फुक्का छाडिदिएको छ । एकातर्फ राज्यसंयन्त्रबाट सहज हुनुपर्ने सरकारी सेवा, यातायात, विद्युत, खानेपानी र सुरक्षाको अभाव प्रत्यक्ष देखेका हुन्छन् भने अर्कोतर्फ सेवाभन्दा ज्यादा कमाउने ध्यानमा लागेका प्रत्येक जनता आफ्ना व्यवसायबाट रातारात धनी हुने मानसिकताका साथ लुट्न र छिन्न आतुर देखिन्छन् । यी हाम्रा दोष र कमजोरी हुन् ।

यातायात, विद्युत, अस्पताल, स्कुल, खानेपानीमा सम्पूर्ण तवरले राज्यसंयन्त्रको अधीनमा राख्नुपर्छ । अनिमात्र हामी धनी देशका सम्पन्न जनता हुने गर्व गर्न पाउने छाँैं । प्राकृतिक सुन्दरतालाई अवलोकन गर्ने र प्राकृतिक सुन्दरतामा रोमाञ्चित हुन चाहने विदेशीका लागि सेवा दिने भावनाको विकास गर्न सक्नुपर्छ ।

हुनत सिङ्गो देश नै पर्यटकीय सम्पदा हो । सबै स्थान पर्यटकीय दृष्टिले आकर्षक छन्, तर त्यसो भनेर पर्यटनलाई छरपस्ट र हलुका रूपमा बुझ्नु हुँदैन । हाम्रा पर्यटकीयस्थल र सम्पदा कुन–कुन हुन्, त्यसको यकिन गरेर एउटा उपयुक्त संरक्षण र व्यवस्थापनको योजनासहित जानुपर्छ ।

निजी क्षेत्रसँग भएको दक्षता, कार्यगत क्षमता, व्यावसायिक निरन्तरता, पुँजी र प्रविधिको कुशल उपयोग गर्न सक्ने क्षमतालाई सार्वजनिक क्षेत्रको विश्वसनीयता, उत्तरदायित्व जिम्मेवारी र सार्वजनिक क्षेत्र पनि संलग्न भएको अनुभूति दिएर त्यसको संयोजनबाट अगाडि लाने उपयुक्त वातावरण तयार गर्नुपर्छ । यसो गर्न सके नेपाललाई पर्यटकीय गन्तव्यको उदाहरणको रुपमा विकास गर्दै मुलुकलाई समृद्धितर्फ लान सकिन्छ । भौतिक पूर्वाधारको प्रयोजनविना कुनै क्षेत्रमा विकास सम्भव छैन ।
दmििबmष्अजजबलभ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: