मेचीनगर । मेची उद्योग वाणिज्य सङ्घले यस बर्षको आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका उपसम्पादक पर्वत पोर्तेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
आर्थिक क्षेत्रमा कलम चलाउने झापा जिल्लाका एक जना सक्रिय पत्रकारलाई सङ्घले हरेक वर्ष १५ हजार रुपैयाँ नगदराशीको सो पुरस्कार प्रदान गर्छ ।
२०७१ सालमा स्थापना गरिएको उक्त पुरस्कार यस अघि पहिलोपल्ट ‘द हिमालयन’ अङ्ग्रेजी दैनिकमा कार्यरत भद्रपुरका पत्रकार गोविन्दचन्द क्षेत्रीले प्राप्त गरको थिए ।
आज सङ्घका अध्यक्ष एवम् पुरस्कार छनौट समितिका संयोजक पङ्कज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको पुरस्कार छनौट समितिको बैठकले मेचीनगरका पत्रकार पोर्तेललाई पुरस्कार प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
पत्रकार पोर्तेल विगत एक दशकदेखि झापामा रहेर आर्थिक लगायतका क्षेत्रमा सक्रिय पत्रकारिता गरिरहेका छन् ।
पुरस्कार छनौट समितिमा नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटा र महासङ्घकै पूर्व केन्द्रीय सदस्य मोहन काजी लगायत सदस्य रहेका थिए ।