पश्चाताप छ साल्दाई 

  प्रकाशित मिति
२६ श्रावण २०७३, बुधबार १३:५७


Bhubikramभूबिक्रम नेम्वाङ अर्थात साल्दाई । जसको नाम मेरो बुवाको मुखबाट बारम्बार सुन्ने गर्दथे । बिशेष गरी घरमा जब नेपाली काङ्ग्रेसको सशस्त्र जनक्रान्तिको कुरा चल्थ्यो । नेपाली काङ्ग्रेसले गरेका सशस्त्र जनक्रान्तिको पूर्वक्षेत्रमा नेतृत्व गर्दै सशस्त्र आन्दोलन चर्काउने उनै व्यक्तित्व जसको घर नै धुलाबारीमा छ । मलाई ठूलो कौतुहल भयो भेट गर्ने । बुवासँग ईच्छा राखे र एकदिन भेट्न भनि बुवासँगै उहाँको घर गए ।

संयोगवस पर्शुराम भण्डारी (पी.आर.सर) त्यहीँ हुनुहँुदो रहेछ । बुवालाई देख्ने बित्तिकै जयनेपाल आदानप्रदान भयो । छेवैको खाटमा हातको ईसाराबाट बस्न भन्दै उहाँले सोध्नु भयो–‘पुण्यजी स्वास्थ्य कस्तो छ ?’ र भन्नुभयो–‘आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नुहोला । पहिलाको जस्तो तपाई हामी जस्ता कार्यकर्तालाई सोध्ने नेता अब पार्टीमा कम हुँदै जाँदैछन् ।’

मलाई अचम्म लाग्यो जबकि उहाँ स्वयम् पार्टीको अग्रज कार्यकर्ता त्यसमा पनि सबैले मानेका नेता । अहिले पनि बहुदलको पक्षमा वकालत गर्दै हिँड्दै हुनुहुन्छ । उहाँकै वरिपरिका कार्यकर्ता हुन् मेरा बुवा । बुबाले खाटमा बस्दै भन्नु भयो–‘हामीलाई कसैले सोध्नु पर्दैन साल्दाई, तपाई हुनुहुन्छ नि सोध्ने ।’

माथिका यी कुरा २०३६ सालको हो । जतिखेर म कक्षा ८ मा शान्तिनगर हाईस्कुलमा पढ्दथें । बुबालाई मैले शान्तिनगरमा बहुदलको पक्षमा भएको आन्दोलनमा होमिएका चन्द्र भण्डारी, जो मेची क्याम्पसका कम्युनिष्ट बिद्यार्थी नेता हुनुहुन्थ्यो, उहाँले गरेको भाषण तथा बिद्यालयमा गठन गरिएको प्रारम्भिक कमिटिमा उहाँले मलाई पनि सदस्य बनाएको कुरा सुनाएको थिएँ । सायद बुबालाई पर्यो होला छोरो कतै कम्युनिष्ट त हँुदैन भन्ने । त्यसैले पनि हुनसक्छ बुबाले उहाँसँग भेट गराएको । यो कुरा मैले त्यहाँ पनि राखेँ ।

मलाई धेरै कुरा त भन्नु भएन तर बीपी कोइरालाको भनाई उद्धृत गर्दै भन्नुभयो–‘ठिक छ, २५ वर्षसम्म त कम्युनिष्ट नै हुँदा राम्रो ।’ उहाँकै भनाईमा सार मिलाउदै पर्शुराम भण्डारीले थप्नु भयो–‘तर पढाईमा बढी ध्यान दिनु ।’ उहाँहरू बिचमा बहुदल र निर्दल बिचका प्रचारप्रसारका कुराहरू धेरै भए । भूविक्रम नेम्वाङका कुरा सुनिरहेँ । बढो रोचक ढङ्गबाट इतिहासलाई केलाउँदै भविष्यसम्मको दूरदर्शी मूल्याङ्कन गर्ने क्षमताका धनी भन्ने मेरो अन्तरहृदयमा पर्यो । जुन आजसम्म पनि छँदैछ ।

एसएलसी पास गरिसकेपछि उहाँसँगको सामिप्यता कहिल्यै भएन । किनकि म पढ्न घर छाडेर बाहिर जानु पर्ने भयो । पढिसकेर धुलाबारी क्याम्पसमा पढाउन थालेबाट कहिले कहिँ मात्र उहाँसँग भेट हुन्थ्यो । लगभग दश बाह्र वर्ष पछि भेट हुँदा मलाई बुवाको बारेमा हालखबर सोध्दा म त अवाक् भए । उहाँको स्मरण शक्तिका कारण । हुन पनि हो, जब नेपाली काङ्ग्रेसका बारेमा ऐतिहासिक कुनै कुरा हुन्थ्यो उहाँ मिति, स्थान सहित सबै धाराप्रवाह सुनाउनु हुन्थ्यो ।

त्यतिमात्र हैन भविश्यमा हुनसक्ने सम्भावनालाई पनि त्यति नै मूल्याङ्कन गर्न सक्ने क्षमता उहाँमा थियो । उहाँसग जति नजिक भएर बुझ्न खोज्यो त्यति नै कम बुझेको महसुस हुन्थ्यो मलाई । उहाँको कुरा सुन्दा वीपीको नजिकका कार्यकर्ताहरूमध्ये एक हुन् भूविक्रम नेम्वाङ । वीपीलाई नजिकबाट चिनेका भूविक्रमको इतिहासलाई बाहिर ल्याउन कसैले कोसिस पनि गरेन र उहाँले पनि चाहनु भएन ।

बिशेष गरी पछिल्लो समयमा आएर नेपाली काङ्ग्रेससँगै उहाँको असन्तुष्टि बढेको महसुस हुन्थ्यो । किनकि नेपाली काङ्ग्रेसले सबै क्षेत्र, समुदायसँग समन्वय गरेर उनीहरूलाई पनि मूलधारमा ल्याउन सकेन भन्ने विश्लेषण उहाँको थियो । ने.कां. पार्टीप्रति ज्यादै इमान्दार र निष्ठावान कार्यकर्ता भएको नाताले हुनसक्छ आफ्ना अभिव्यक्ति बाहिर ल्याउन नचाहेको कारण । जे भए पनि उहाँसँग लुकेको इतिहास हामीजस्ता पछिल्लो पुस्ता जान्नबाट बन्चित भएका छौँ ।

सुशिल कोइरालासँगको सामिप्यता बढी भएको प्रसङ्ग कोट्याउदै कोइरालाले नेम्वाङकै निवासमा भेट्न आउँदा साल्दाईले भन्नुभो–‘वीपी कोइरालासँग त्यति धेरै नजिक भएर पार्टीको काममा हिडियो खटियो तर उहाँसँग खिचेको फोटो भने छैन, यसमा मलाई पश्चाताप महसुस भएको छ ।’

ने.कां. मेचीनगर नगरसमितिले यस क्षेत्रका ऐतिहासिक व्यक्तित्वको बारेमा एक स्मृति प्रकाशन गर्ने योजना बनाइरहेको अवस्थामा सोको जानकारी गराउँदै हँुदैन भन्नु हुन्छ कि भन्ने डरले डराउँदै डराउँदै सोधेको थिए–‘बडा (मैले सम्बोधन गर्ने गरेको) मलाई उक्त प्रकाशनका लागि आवश्यक आफ्ना बिचारहरूको खोराकी दिनुहुन्छ भने म भेट्न आउँछु ।’ पुलुक्क मतिर हेर्दै उहाँले भन्नुभयो–‘हुन्छ तर समय मागेर आउ ।’ म अत्यन्तै हर्षित भए । जति हर्षित त्यस समय थिएँ, त्यति नै दुःखित साउन २३ गते भए जब उहाँले आफ्नो जीवनलीला यस धर्तिबाट त्याग गर्नुभयो । अब उहाँसँग समय माग्न म सक्दिन । भूविक्रम नेम्वाङ (साल्दाइ)लाई वीपीसँग फोटो खिच्न ध्यान नदिएकोमा जति पश्चाताप महसुस भएको थियो त्यति नै मलाई साल्दाइसँगको समयका बारेमा भएको छ ।

अलविदा आन्तरिक बिचारका धनि आदरणीय (बडा)साल्दाइ । हार्दिक हार्दिक श्रद्धाञ्जलि तथा समवेदना ।

(पौडेल नेपाली काङ्ग्रेस झापाका जिल्ला सदस्य हुन् ।)

(२०७३ साउन २६ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: