।। अर्जुन कार्की ।।
मेचीनगर । भारतको पश्चिम बंगाल सरकारले अत्यावश्यक सामग्रीसमेत पानीट्याङ्की लगायत नाकाबाट नेपाल निर्यात गर्न बन्द गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भारतमा मृत्यु हुनेको संख्या बढ्न थालेपछि पश्चिम बंगाल सरकारले अत्यावश्यक समेतका सामग्री पानीट्याङ्की लगायतका नाकाबाट नेपाल निर्यात गर्न बन्द गरेको हो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुबराज विश्कर्माले पश्चिम बंगाल सरकारले कोरोनाको संक्रमण तिब्ररुपमा बढीरहेको भन्दै पानीट्याङ्की लगायतका नाका बन्द गरेको बताए ।
उनका अनुसार अत्यावश्यक लगायतका सामग्री पानीट्याङ्की नाकाबाट आउन बन्द गरेको छ ।
भारत सरकारको अफिस अफ द प्रिन्सिपल कमिस्नर अफ कस्टम कलकत्ताले यहि अप्रिल १२ तारिख पानीट्याङ्कीको कस्टमलाई कुनै पनि सामानको गाडी काँकरभिट्टा नपठाउनु भन्ने आशयको पत्र आएको उनले जानकारी दिए ।
पानीट्याङ्की, पशुपतिनगर, भुटानको जयगाउँ र फुलचिलिङ बाहेकको नाका र बंगलादेशको फुलबारी नाकाबाट कुनैपनि सामान निर्यात नगराउने सम्बन्धको आशय पत्र आएको मेची भन्सार कार्यालय प्रमुख विश्कर्माले बताए ।
‘भारतबाट आएका कुनै पनि सामान हामीले यहाँ कुनै पनि हालतले रोक्न मिल्दैन’, प्रमुख विश्कर्माले भने–‘एकदुई दिन अघि आएका अत्यावश्यक लगायतका सामान आयात गरेर प्रज्ञापन भरेर पठाइयो । तर, अहिले अत्यावश्यक लगायतका सामान आउन पनि ठप्प भएको छ ।’
उनका अनुसार कोरोना भाइरसकै कारण पश्चिम बंगाल सरकारले पानीट्याङ्की लगायतका नाका बोर्डर शिल गरेको हुनुपर्छ । पानीट्याङ्की कस्टममा कुनै पनि सामानसहित गाडी आउन नदिएको उनको भनाई छ ।
पानीट्याङ्की नाकामा आएका सामान पनि रि–रुड गरेर अन्य नाकाबाट लान पश्चिम बंगाल सरकारले भनिसकेको भारतीय कस्टमलाई उर्धित गर्दै भन्सार प्रमुख विश्कर्माले जानकारी दिए ।
भन्सार एजेन्ट र व्यापारीहरुलाई आफ्नो पायक पर्ने अन्य नाका, जस्तो विराटनगर वा विरगञ्ज नाकाबाट रि–रुड गरेर सामानसहित लोड गरिएका गाडी पानीट्याङ्की नाकाबाट हटाउन निर्देशन गरिसकेको उनले बताए ।
यसअघि अत्यावश्यकका रुपमा पेट्रोलियम पर्दाथ, ग्यास, औषधि र खाद्यान्न लगायतका सामग्रीमा आयात भएका थिए । अहिले त्यो पनि बन्द गरेको छ ।
उनले अत्यावश्यक सामग्री आयातका लागि परराष्ट्र मन्त्रालयसँग कुराकानी भइरहेको बताए ।