फिक्कल । समुन्द्र सतह नजिक भएको तराईमा मात्र भूमिगत स्रोतबाट सिञ्चाइका लागि पानी निकालिने गरेकोमा अब पहाडी भूभागमा समेत यसको सफल प्रयोग हुन थालेको छ ।
समुन्द्र सतहबाट १६ सय मिटरको उचाइमा रहेको इलामको सूर्योदय नगरपालिकामा डिप बोरिङ प्रणालीबाट हालै भूमिगत पानी निकालिएको छ ।
बोरिङ प्रणालीमार्फत पहाडमा पहिलो पटक पानी निकालिएको अलैँची विकास केन्द्रले दावी गरेको छ ।
केन्द्रले अलैँची नर्सरीमा सिञ्चाइको लागि बोरिङ प्रविधिबाट पानी निकालेको केन्द्रका अधिकृत पदमप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
नेपाल तराई निर्माण तथा डिप ट्वेल प्रालि दोलखाको कम्पनीबाट डिटिएच मेसिन ल्याएर पानी निकालिएको हो ।
अलैँची विकास अधिकृत अधिकारीले पहाडमा बोरिङ प्रविधिबाट पानी निकालिएको यो नै पहिलो हुनुपर्ने बताए ।
यहाँ पानी निकालिए पछि अग्लो स्थानमा पनि डिप बोरिङ गरेर निकाल्न सकिने ज्ञान र जानकारी बाहिर आएको उनको भनाइ छ ।
सो क्षेत्रमा पानीको अभाव छ । पानी अभावका कारण अलैँची नर्सरीमा समस्या हुँदै आएको थियो । अब भने सहज हुने अधिकृत अधिकारी बताउँछन् । यो प्रविधि भित्रिएसँगै जिल्लाका सुख्खा ठाउँमा खानेपानी तथा सिञ्चाइको लागि पानी निकाल्न सहज हुनेछ ।