पहिलो बाढीमै यत्रो वितण्डा, प्रकृति होइन मान्छे नै दोषी

  प्रकाशित मिति
२८ असार २०७६, शनिबार २१:४०


अर्जुन कार्की

झापा । असार अन्तिम साताको बाढीले झापामा ३ जनाको ज्यान लिएको छ । एक जना अझै बेपत्ता छन् । करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ । ११ परिवार विस्थापित भए भने २ सय ६८ जनाको परिवार प्रभावित छन् । सयौँ विघा खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ ।

केही दिनमै यतिछिटै ठूलो क्षति हुनुको कारण प्राकृतिक विपद मात्रै हो त ? निश्चय पनि होइन । तथ्यहरुले के देखाउँछ भने, यति ठूलो क्षतिका पछि पूर्णतः मानवीय कमजोरीले काम गरेको छ । अझ भनौँ सरकारी वेवास्ता र गैरजिम्मेवार राजनीति नै यो विपद्को मुख्य कारक बनेको छ ।

उदाहरण खोज्न टाढा जानै पर्दैन, झापाको मुख्य सहर बिर्तामोड नगरकै वडा नम्बर ३ को मुसहर बस्ती तथा झापा गाउँपालिकाको ४ र ५ नम्बर वडालाई हेरे पुग्छ ।

अन्धुवा खोला किनारैमा रहेको मुसहर बस्तीमा असार २६ गते मध्यरातमा खोलाको बाढी पस्यो । गाउँका धेरैले एकसरो लाउने लुगाकपडा र ज्यान बाहेक सबैथोक गुमाए । वस्तीका अधिकांशले भने ‘जन्मेर यत्रो उमेरसम्म यो खोला यतिठूलो भएको थाहा थिएन ।’

कसरी यसपटक अन्धुवाले यो रुप लियो त ? यसको पछिको मुख्य कारण जथाभावी प्लटिङ नै हो । मुख्य सडकभन्दा उत्तर अनियन्त्रित रुपमा भइरहेको प्लटिङले गाउँ डुबाएको थियो । ‘व्यवस्थित निकासको प्रबन्ध नगरी जथाभावी प्लटिङ भएको छ, यसले खेतबारीमा पानी जम्न रोक्छ’, प्रकोप क्षेत्र बिर्तामोडका यदुनाथ दाहालले भने–‘अनि भएभरको पानी खोलामा भरियो, खोल्सो जस्तो खोलाले विशाल रुप लियो ।’

मनसुनका बेला बङ्गालको खाडीबाट पानीका कण बोकेर उडेको वायु भारत हुँदै भित्रिएपछि चुरे र महाभारतमा ठोक्किएर चिसिँदै गर्दा नेपालमा वर्षा हुन्छ । गर्मीले तातिएको चुरे र महाभारत क्षेत्रको वायु उचालिँदै उत्तरतर्फ वग्न थालेपछि नै २६ असारदेखि यसक्षेत्रमा वायुको चाप कम भयो र पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा बन्न पुग्यो ।

ठीक यहीबेला भारतबाट उत्पन्न वायुले नेपालतर्फ दबाब बढाइरहेको थियो । त्यो वायु न्यून चापीय रेखामा सघन रुपले जम्मा भयो र चुरे र महाभारतका पहाडमा ठोक्किएर चिसिँदै मुसलधारे वर्षा भयो ।

‘पछिल्ला प्रत्येक मनसुनमा हामी अत्यधिक वर्षाबाट हुनसक्ने विपत्तिको जोखिममा छौ’, मौसम पूर्वअनुमान महाशाखाकी मौसमविद् मञ्जु वासी भन्छिन्–‘नेपालको चुरे पहाड बालुवा र ढुङ्गाले बनेको छ । माटो कम भएको योे पहाड अनियन्त्रित वन फँडानी, ढुङ्गा गिट्टीको दोहन, डोजरले जथाभावी बनाइएका सडक लगायतका खराब राजनीतिबाट उब्जिएको विकृतिकै कारण दिनहुँ खिइँदै गइरहेको छ । त्यसैले पानी पर्ने वित्तिकै पहिरो जान्छ, अनि माटो र बालुवासहितको लेदो बग्दै समथर भूभागमा पुगेर थिग्रिन्छ ।

चुरे क्षेत्रका जानकार दाहालका अनुसार यसरी खोलाको सतह माथि उठ्दा खोलाले आफ्नो बाटो बिराउँछ र बस्तीमा पस्छ । झापासहितका तराईका धेरै खोलाहरुको सतह बस्तीभन्दा माथि उठिसकेको छ ।

झापा गाउँपालिकामा कनकाई र विरिङ नदीले गरेको क्षतिको कारण पनि यही थियो । कनकाईले शिवसताक्षी नगरको दक्षिण भेगमा गरेको क्षति, निन्दाले मेचीनगर–१, २, ३, १४ र १५ मा पुर्याएको क्षति र भद्रपुर आसपासमा मेचीले मच्चाएको ताण्डवको कारण पनि यही नै हो । खोलामा पानीको सतह थोरै बढ्नासाथ पानी वस्तीतिर जाने गरेको छ ।

झापा र इलामको सीमा क्षेत्रमा पर्ने चुरे विनाश यो बाढीको मुख्य कारण हो । स्थानीयहरुका अनुसार चुरे क्षेत्रमा पहिले बाँस प्रशस्तै हुन्थ्यो । बाँसका जराले माटो बग्नबाट रोक्थ्यो, पानी सोझ्याउँथ्यो । अचेल चुरेमा बाँस देखिँदैन, वन फँडानी पनि उस्तै छ । ठूला ढुङ्गा, गिट्टी र खस्रो बालुवा त क्रसर उद्योगीले देख्नै हुँदैन, सीमावर्ती भारत र विभिन्न क्रसर उद्योग पुरयाइहाल्छन् ।

अर्जुनधारा नगरको विरिङ किनारमा क्रसर उद्योगीले गरिरहेको मनपरी यस्तै एउटा उदाहरण हो । ‘पानी सोस्ने र वेग रोक्ने अवरोध बाँकी नहुँदा चुरे क्षेत्रमा परेको पानी बस्तीसम्म पुग्न धेरै समय लाग्दैन’–दाहाल भन्छन् ।

चुरेको फेदमा भावर क्षेत्र पर्छ । ८ देखि १२ किलोमिटर दक्षिणसम्म पसारिएको भावरमा केही दशक अघिसम्म रुखविरुवा प्रशस्तै थिए । दाहालका अनुसार बाक्लो जङ्गल र अन्य चुरेबाट बगेर आउने पानीको वेग रोक्थ्यो र माटो खोलामा जान दिँदैनथ्यो, छानिएको पानी विस्तारै खोलासम्म पुग्थ्यो । यही क्षेत्रमा थुप्रिएको बालुवाले सोसेर राखेको पानी जमीन मुनी–मुनी बग्दै पर दक्षिणका बस्ती छेउ मूल फुट्थ्यो, जरुवा रसाउँथ्यो । सिँचाई र खानेपानीको गर्जो केही महिनाका लागि टथ्र्यो । वर्षामा मानिस रमाउँथे अहिलेको जस्तो वर्षा लाग्नासाथ त्रासमा बस्नुपर्ने अवस्था थिएन ।

‘बढ्दो जनसङ्ख्याको चाप, पूर्वपश्चिम राजमार्ग र अन्य सहायक मार्ग वरपर बढेको बस्तीले चुरे क्षेत्रमा पारेको दबाब र चुरे क्षेत्रको अत्यधिक दोहन नै अहिलेको विनाशको मुख्य कारण हो’– मौसमविद् वासीको निष्कर्ष छ ।

‘चुरे क्षेत्रको संरक्षण गर्न सकियो र पानी व्यवस्थापनका उपाय गरियो भने मात्रै पनि बाढी र डुबानको समस्या धेरै कम हुन्छ’–उनी भन्छिन् ।

मौसमविद् वासीका अनुसार अहिले निरन्तर वर्षा हुनु मनसुनी स्वाभाविकता हो । भारतबाट न्युन चापिय क्षेत्र यता सरेकोले केहि दिन मनसुन सक्रिय रहने उनले बताइन् । अझै २÷३ दिन पूर्वी तराईमा भारी वर्षा हुने सम्भावना रहेको उनको दावी छ ।

झापामा ३ जनाको शब भेटियो, एक वेपत्ता
शनिबार शिवसताक्षी वडा नं.५ सालमारको बनियानी खोलाले बगाएर एक जना ९ वर्षीय बालकको मृत्यु भएको छ । बनियानी खोला डिलमा चिप्लिएर शिवसताक्षी वडा नं.१० स्थित बैङ्कडाडा सौगात चापागाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार दमक नगरपालिका वडा नं.१० का ६ वर्षीया एलिजा न्यौपानेको स्थानीय खोलाले बगाएर मृत्यु भएको छ ।

त्यस्तै ईलाम चुलाचुली–१ बस्ने ५१ बर्षीय अञ्चल लावतीलाई कमल खोलाले बगाएर कमल गाउँपालिकाको भालुगाउँमा शव फेला परेको झापा रेडक्रसले जनाएको छ ।

यता मेचीनगर वडा नं १४ दुहागढीका शारीरिक रुपमा अपाङ्ग ४१ बर्षीय सुफल हस्दा फुलवासा खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाढीका कारण जिल्लामा ११ जनाको परिवार विस्थापित भएका छन् भने २ सय ६८ जनाभन्दा बढीको परिवार प्रभावित बनेका छन् ।

शनिबार विरिङ नदिको बाढी पसेर झापा गाउँपालिका वडा नं ५ र ६ को चन्द्राबस्ती र राधाबस्तीका १ सय १ घरपरिवार प्रभावित भए । उनिहरुलाई शरणामति उपशाखा र वडाले मुराई र चाउचाउ वितरण गरेको थियो ।

गौरीगञ्ज गाउँपालिका वडा नं २ वडा कार्यालय पुर्व टटुवामारी बस्तीका ५ र आमगाछी बस्तीका १ घर परिवारलाई वडा कार्यालय र गौरीगञ्ज उपशाखाले मुराई, चाउचाउ वितरण गर्यो ।

गौरादह नगरपालिका वडा न. ५ स्थित जनता माविको बालुवथान पश्चिम टोलमा रतुवा खोलाले १० वटा घर डुवानमा परेको छ ।

यता कचनकवल गाउँपालिका–१ घेराबारीको प्रहरी चौकी कुटी पश्चिम २ घर परिवार पुर्ण रुपमा विस्थापित भए । उनिहरु प्रहरी चौकी कुटीमा आश्रय लिएर बसेका छन् । कनकाई नदिले शिवसताक्षी नगरपालिका वाड नं. ३ को कमलझोडा बस्तीका ६ परिवार डुवानमा परेको झापा रेडक्रसले जनाएको छ ।

शुक्रबार कनकाईको बाढी ओभरफ्लो भएर झापा गाउँपालिका वडा नं १ को मिलन बस्तीमा ७८ घरधुरीका परिवार विचल्लीमा परे ।

कनकाई नगरपालिका वडा नं. ६ लक्ष्मी ओलीको घर पूर्वमा रहेको विजनी खोल्साको पानी भरिएर बासको बाँध फुटाएर नजिकैको शिवाकोटी गाउँ, मन्सापुर, चम्पापुरका १ सय १० घरधुरी डुवानमा परेको थियो ।

यसैगरी कनकाइको बाढीले गौरीगञ्ज गाउँपालिका वडा नं. १ को कुञ्जीबारी पूर्वको सन्थाल बस्ती डुवानमा परेको छ भने कोरोबारी तथा आँपगाछीका ९ घरपविारका ४५ जना विस्थापित भएर आफन्तकोमा शरण लिएर बसेका छन् ।

यता मेची नदीको बाढीले मेचीनगर वडा नं ५ का १ सय २५ घरधुरीहरु डुवानमा परेका छन् । कनकाई नदीले शिवसताक्षी नगरपालिका वडा नं ३ स्थित ताराबारी दक्षिणका १४ घर परिवार डुवानमा परेको छ ।

त्यस्तै बिर्तामोड–चन्द्रगढी सडक निमार्णका कारण वर्षाले झन त्यस क्षेत्रका स्थानीय त्रसित भए । निरन्तरको वर्षाले सडक खाल्डाखुल्डी र बाटो हिलाम्मे भएकोले पानी जमेर यात्रुहरुलाई आवतजावत गर्न कठिनाई भएको छ । त्यसक्षेत्रका करिव ३० घर डुवानमा परेको स्थानीयको भनाई छ ।

रेडक्रस झापाका हरिशरण खड्काले बाढीका कारण तीन सय भन्दाबढी घर डुवानमा परेको बताए ।
…………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: