भद्रपुर । चुनाव भन्ने बित्तिकै खर्चपर्चको कुरा आइहाल्छ । उम्मेदवारले चुनावी खर्च जुटाउन अपारदर्शी ढङ्गले चन्दा बटुल्ने गर्दै आएका छन् । तर बैशाख ३१ गते हुने स्थानीय चुनावमा पुरानो पारामा चन्दा उठाउन र खर्च गर्न नपाइने आचारसंहिता बनेको छ ।
झापा जिल्ला निर्वाचन कार्यालयले सोमवार आयोजना गरेको आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा दिइएको जानकारी अनुसार उम्मेदवारहरुले ५ हजार भन्दा बढी चन्दा लिनु परेमा बैङ्क खातामार्फत लिनु पर्ने छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ लागू गरिसकेको छ ।
प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न छलफलमा जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत गोपाल आचार्यले आयोगबाट जारी आचारसंहितका विषयमा प्रकाश पारेका थिए ।
आचारसंहितामा ६ वटा परिच्छेद र १८ वटा दफा रहेका छन् । निर्वाचनमा भाग लिने कुनै पनि उम्मेदवार र राजनीतिक दलहरुले अनिवार्य रुपमा आचारसंहिताको पालना गर्नै पर्ने आचार्यले बताए ।
चुनाव प्रचार प्रसारको समयमा कुनै पनि राजनीतिक दल तथा उम्मेदवारहरुले स्थानीय साधनका अतिरिक्त २ भन्दा वढी मोटर साइकल प्रयोग गर्न नपाइने, साम्प्रदायिक हिंसा फैलाउने गरी प्रचार प्रसार गर्न नपाइने, नागरिक स्वतन्त्रताको हकको हनन गर्न नपाइने, लगायतका वुँदाहरु आचारसंहितामा उल्लेख गरिएको छ ।
यसैगरी सार्वजनिक मठ मन्दिरमा प्रचार प्रसार गर्न नपाइने, निर्वाचन आचारसंहिता बमोजिम कुनै पनि उम्मेदवार तथा राजनीतिक दलहरुले प्रचार प्रसारको लागि ५ हजारभन्दा माथिको चन्दा लिनु पर्ने भएमा वैंक खाता मार्फत मात्र लिनु पर्ने, निर्वाचन आयोगले तोकेको भन्दा बढी कुनै पनि निर्वाचनमा खर्च गर्न नपाइने, मतदान सुरु हुनु भन्दा ४८ घण्टा अगाडि कुनै पनि चुनावी प्रचार प्रसार गर्न नपाइने लगायतका कुराहरु आचारसंहितामा उल्लेख छ ।
छलफल कार्यक्रममा झापाका राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चार कर्मी, सरकारी कार्यालय प्रमुख, सङ्घसस्थाका प्रतिनिधिहरु लगायतको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।