पाउरोटीले धानेको ‘कार्की बा’को जीवन

  प्रकाशित मिति
१३ माघ २०७४, शनिबार ०९:१६


           देबु बानियाँ 

काँकरभिट्टा । वियोगान्त कथाहरु कहिलेकाँही मानिसलाई निडरताका साथ अघि बढ्न प्रेरित गर्ने हुन सक्छन् । जीवनमा उनले भोगेका हरेक पलहरु सुखदायी थिएनन्, तर त्यसले जिजीविषालाई अविरल बग्न सहारा दिइनै रह्यो । जीवनभर दुःख सहँदा पनि उनी विचलित कहिलै बनेनन् । न त दुःखसँग भागे, मात्र गरिरहे सङ्घर्ष ।

मेचीनगर–४ बाहुनडाँगीका ७९ वर्षीय पदमबहादुर कार्की यस्तै वियोगान्त कथाबाट गुज्रिएका एक पात्र हुन् । जसले काँकरभिट्टा बसपार्कमा पाउरोटी बेचेको निरन्तर ३३ वर्ष भएको छ । जसको सिङ्गो जीवन नै पाउरोटीसँगको सङ्घर्षको कथा बनेको छ । काँकरभिट्टालाई ३३ वर्षदेखि अघाउँजी पाउरोटी खुवाउने ‘कार्की बा’लाई अहिलेसम्म कुनै कलमले लेखेनन्, कुनै क्यामेराले उनलाई देखेनन् ।

उनलाई जीवनमा ठूलै केही गरुँला भन्ने सपना छैन । ‘एक्लो जीवन जिउन हो, शरीरले थेगिन्जेल काम गर्छु’, बिहीवार धुम्मधाम्म बिहानको चिसोमा काँकरभिट्टाको बसपार्कमा पाउरोटी बेचिरहेका कार्कीले भने–‘जुन दिनदेखि काम गर्न सक्न छोड्छु, देखैजाला, केही त कमाएको छु नि ।’

उनकी श्रीमती फुलमाया कार्की ३५ वर्ष अघि बितिन् । छोरा ज्ञानबहादुर कमाउन भनी हिन्दुस्तानतिर भासिए, फर्केर आएनन् ।

‘कमाउन जान्छु भनेर हिँडेको थियो’, ग्राहकको हातमा भुक्के पाउरोटी थमाउन भ्याइ नभ्याइ भएका ‘कार्की बा’ले मलिन मुखाकृति बनाउँदै भने–‘कुनै अत्तोपत्तो छैन, १९ वर्षको उमेरमा मलाई एक्लै छोडेर हिँडेको थियो ।’

उनी ज्ञानबहादुर कहाँ र कुन अवस्थामा छन् त्यसको कुनै जानकारी छैन । श्रीमतीको निधन अनि बेपत्ता छोराको पीडामा रहेका कार्की बा यही परिवेशमा आफ्ना जीवनको चक्का चलाइरहेका छन् ।

काँकरभिट्टाका विकास देवकोटाले एकदिन ‘कार्की बा’को बारेमा बेलिविस्तार लगाएपछि म उनको जीवनलाई नियाल्न निरन्तर ४ दिन बसपार्क धाएँ । तर, उनीसँग बिहीवार मात्र भलाकुसारी गरेँ ।

‘पत्रिकामा लेख्छु’ भनेपछि मात्र उनी मनको वह फुकाउन तयार भए । उनी आफ्नो जीवनका हरेक भोगाइका पाना पल्टाउँदै जान्थे, म तरङ्गित हुँदै कुराकानी टिप्दै गर्थेँ । उनको कथा सुन्दै जाँदा कोही बेला मन ढक्क फुल्थ्यो । बोल्दै जाँदा उनका आँखाहरु रसाइरहेका हुन्थे ।

‘कति रुवाउनु, अहिलेसम्म मनमै गुम्सिएका पीडा कति खोतल्नु’ जस्तो लाग्थ्यो घरिघरि । पाउरोटी किन्न आइरहने ग्राहकले उनको ध्यान भङ्ग गथ्र्यो । क्यामराबाट ल्यापटपमा तस्वीर ट्रान्सफर गरे जसरी म उनको वियोगान्त इतिहास कापीमा सारिरहेको थिएँ ।

बिहान ३ बजे उठ्ने, ५ बज्दा पसलहरुमा पाउरोटी र बिस्कुट पु¥याउने र ६ बज्दा काँकरभिट्टा बसपार्कमा पुगेर बिस्कुट बेच्न थाल्ने उनको दिनचर्या झमक्कै साँझ नपर्दासम्म रोकिदैनथ्यो । बैँसका बेला मिठो खानेकुरा कर गरीगरी खुवाउने पत्नी र वेपत्ता छोरोको सम्झनाले उनलाई हरपल बेचैन तुल्याउँदो होला । म कल्पना गर्छु उनको पीडा । काँकरभिट्टालाई भोको देख्न नचाहने उनी कयौँ रात भोकै बसेका छन् । कति दिन चाउचाउको भरमा काटेका छन् । जति बेला पनि उनलाई बाहुनडाँगी स्टेन्डमा पाउरोटीको ठेलामा भेटिन्छन् ।

वि.सं. १९९५ सालमा ओखलढुङ्गामा जन्मिएका उनी २०१६ सालमा झापा बसाई सरेर आएका थिए । केही वर्ष उनले लक्ष्मीनारायण मन्दिर अगाडि पान पसल पनि सञ्चालन गरे । उनी काँकरभिट्टा एउटा जीवित इतिहास मध्येका एक हुन् । उनले काँकरभिट्टाको अँध्यारो र उज्यालो दुबै इतिहासलाई नजिकबाट नियालेका छन् ।

३३ वर्षको अवधिमा मेचीमा थुप्रै पानी बग्यो । काँकरभिट्टाले आफुलाई थुप्रै परिवर्तन गरेको छ । साना झुप्रा टहराहरु थिए । अहिले सबै महल बनेका छन् । जुन ठाउँहरुमा जङ्गल थियो । अहिले सबै बस्ती बसेको छ । उनी आउँदा जवान थिए । जस्तोसुकै काम गर्ने हिम्मत र उत्साह थियो । अहिले बृद्ध र अशक्त बनेका छन् । तर यति लामो समयमा उनले आफ्नो जीवनमा कुनै परिवर्तन गराउन सकेनन् । जे थियो त्यसबेला त्यहि छ अहिले पनि । एउटा ठेला, अनि ठेलामाथि पाउरोटी ।

उनका आँखाले भेउ पाउन छाडेको छ । ग्राहकले दिएको पैसा धेरैबेर नियालेर हेर्नुपर्छ । २ पटक आँखाको शल्यक्रिया समेत गरे । भन्छन्–‘यो आँखा म भन्दा बुढो भएछ कि क्या हो ।’

उनको अर्काे भित्री कथा छ । उनको थाकथलो बाहुनडाँगी भए पनि २६ वर्षदेखि काँकरभिट्टालाई नै कर्मथलो बनाएर बसेका छन् । बाहुनडाँगीमा आफ्नो भाई, बुहारी, भतिज तथा नाती नातिनी छन् । उनीहरु सबैले ‘कार्की बा’लाई औधी माया गर्छन् । उनी पनि समय समयमा छोरी माइत गएझैँ गरेर कोसेलीपात बोकेर जाने गरेका छन् ।

यो वर्षको दसँै र तिहार परिवारसँग बसेर बाहुनडाँगीमा मनाए । आउँदो माघ २४ गते फेरि उनकै भाषामा माइत जाने साइत जुरेको छ रे । नातिनीको बिहेमा जाने भाकल छ उनको । उनले सुनाए–‘ नातिनीको बिहेका लागि खर्चपात पनि जुटाइसकेको छु ।’

उनी काँकरभिट्टाको शर्मिला पाउरोटी उद्योगले उत्पादन गरेको पाउरोटी बेच्छन् । उनको बस्ने र खाने बन्दोबस्त उद्योगका सञ्चालक गोपाल बुढाथोकीले नै गरिदिएका छन् । विगत २६ वर्षदेखि उनी त्यही उद्योगमा बस्दै आएका छन् । बुढाथोकीलाई उनी मालिक भन्छन् ।

‘मलाई मालिकले धेरै माया गर्नु हुन्छ’, रसिला आँखा मतिर सोझ्याउँदै भने–‘दुःखमा पनि साथ दिनु भएको छ ।’ उनी बेलुकाको खाना उद्योगमा खान्छन् । बिहान चिया र पाउरोटी खाएर काम चलाउँछन् । दिउँसो थोरै खाना खान्छन् ।
एक पटक बुढाथोकीको घरमा खसीको मासु पकाइएको रहेछ । कार्की बा बाहुनडाँगी गएका थिएँ । तर, बुढाथोकी उनलाई लिन बाइक लिएर बाहुनडाँगी नै पुगेछन् ।

कार्की बाले पाउरोटी बेचेर मासिक १० देखि १५ हजार रुपैयाँ कमाउँछन् । उनले कमाएको करिब ५ लाख रकम नेपाल बहुउदेश्यीय सहकारी (एनएमसी)मा जम्मा गरेका छन् । उनी एनएमसी बैङ्क २०५० सालमा स्थापना गर्दाका सदस्य हुन् । बैङ्कको रेकर्डमा उनले भतिज कुमार कार्कीलाई हकवालाका रुपमा राखेका छन् ।

एनएमसी सहकारीका अध्यक्ष रामचन्द्र उप्रेती कार्की बालाई कर्मशील व्यक्ति भन्न रुचाउँछन् । ‘उनीबाट हामी सबैले प्रेरणा लिनु पर्छ’–उप्रेती भन्छन् ।

उनलाई काँकरभिट्टा बसपार्कमा माया गर्ने र साथ दिने थुप्रै मान्छे छन् । त्यस मध्येका एक शत्रुधन पोखरेल पनि हुन् । उनी यातायातमा काम गर्छन् । ‘कार्की बा साह्रै असल हुनुहुन्छ’–पोखरेल भन्छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: