झापा, १७ कार्तिक । पाकिस्तानी वेब सिरिज ‘चुरेल्स’ विवादमा तानिएको छ ।
सिरिजका केन्द्रिय पात्र रहेका महिलाहरुको प्रभावकारी भूमिकाका कारण विवाद चर्किएको हो ।
१० अंकको सिरिजमा फरक क्षेत्रमा सक्रिय महिलाहरुलाई देखाइएको छ । उनीहरु एक समूह बन्छन् र चुरेल्स नामक जासुसी संस्था स्थापना गर्छन् । उक्त कार्यक्रम पाकिस्तानमा प्रदर्शनको लागि प्रतिबन्ध लगाइयो । सम्बन्धित भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रदर्शन रोकिएको हो ।
बीबीसीका अनुसार नियामक निकायले भारतीय भिडियो प्ल्याटफर्म जीफाइभलाई पाकिस्तानी दर्शकका लागि भिडियो उपलब्ध नगराउन आग्रह गरेको हो ।
निर्देशक असीम अब्बासीले यस कदमले आफूलाई निराश बनाएको बताएका थिए । ट्वीटमा लेखेका थिए,‘यो कलात्मक स्वतन्त्रताको हनन हो । अन्य देशमा प्रशंसा कमाउँदा आफ्नै देशमा प्रतिबन्ध भयो ।’ पाकिस्तानीहरुले सिरिजको पाइरेटेड भर्सन हेरिरहेको बीबीसीमा उल्लेख गरिएको छ ।
सिरिजमा धनी परिवारकी वकिल, कार्यक्रम आयोजक, किशोरावस्थाकी बक्सर र जेलबाट भर्खर निस्किएकी महिलालाई पितृसत्ताका कारण भोग्नु परेको अन्यायले जोड्छ । उनीहरु गोप्य जासुसी संस्था स्थापनाका लागि बुटिक खोल्छन् । जासुसी संस्था लुकाउन ।
उनीहरुको उद्देश्य अन्य महिलालाई सहयोग पुर्याउनु हो जसलाई आफ्नो पतिमाथि शंका लाग्छ ।
सिरिजले बालबालिका, विवाह, दूर्व्यवहार, जबरजस्ती विवाह, वर्ग असमानता लगायत विषयको समेत उठान गरेको छ ।
(पहिलोपोष्ट)