पातकी बुढा !

  प्रकाशित मिति
२६ पुष २०७६, शनिबार १३:१६


                  गगन ढकाल

‘रेडियोबाट आवाज आयो । अहिले बिहानीको सात बज्यो !’ हैट सात बजिसकेछ उठ केटो अब । म हतारहतार उठेर हातमुख धुन थालें । हातमुख धुँदा आवाज आइरहेको थियो ‘ए उठिस् ल छिटो दगुर संसार जित्ने उमेरमा आधा दिनसम्म सुतिराख्छस् गधा ।’ हातमुख धोएर म हाम्रो बगरको खेततिर लागें ।

खेतमा जाँदैथिएँ, एउटा बूढो आवाजले मलाई बोलायो ‘ओइ तन्नेरी ओइ कता हिनिस् हौ एकाबिहानै ।’ ए को पो करायो भन्या त तिमी पातकी बुढा पो यसै धानको ढेंडी हेर्न हिन्या नि अब अरु काम केही छैन यतिखेर । ‘ए… यता आइज त यहाँ हेर मेरो नि ढेंडी यो पाली सत्तरी मन त फल्छ हौ केटा धान’ बुढाले खुब हसिलो हुँदै सुनाए । ए साँची तिमीले त पोहोर नि सत्तरी मन नै फलाका हैनौ र बुढा गाउँमा त खुब हल्लाथ्यो क्यारे तल्लाघरे पातकी बुढाले नि दश कट्ठामा सत्तरी मन धान फलाएर भनेर कि हैन हौ बाबै ? ‘हो बरै हो सत्तरी मन त फलाकै हो ।’ यति भन्दै बुढाले लामो सास फेरे ।

सत्तरी मन धान फलाएर के गर्छौ बाबै पैतीस मन यो जगा धनी मुखियाले लगिहाल्छ । अनि त्यो रहेको पैतीस मन धान बेचेर असारको खेतालालाई तिर्छौ कि आफू खान्छौ हँ बुढा ? लु भन त यो साल चाहिँ म भोकभोकै सुत्न पर्दैन भनेर सक्छौ भन्न ? एकछाक खानको लागि त्यो मुखियाको छोरोको लात खानु पर्दैन भनेर लु भन त बडो फुर्ती लगाउँछन् बा ! सत्तरी मन धान फलाए भनेर । के भो किन नबोल्या बुढा कि मेरो कुराले रिस उठ्यो हौ एक्कसी हाँसिखेली अनुहारमा ग्रहण लगायौ त । हेर बुढा तिमी किसान हौ यति फलाए उति फलाए भनेर फुर्ती नलाउ । यो धान झारेको एक घण्टा पछि तिमीसँग न त एक गेडो धान नै हुन्छ न त एक रुपे पैसा । लु आफै भन न तिमी आजसम्म यस्ता कति ढेंडी पसिना बगाएर, आफू भोकभोकै बसी दुनियाँ मुखमा माड पुयार्एका छौ ? अरे अरे बुढा के गर्छौ हौ, बर्खामा झोडा सुसाएझैँ तिमी त सुसाउन पो थालेउ त । हैन रे ? के म तिम्रो आँखाको भवसागरको छाल देख्न सक्दिन भन्या ।

तिम्रा जस्तो आँखापुरमा हड्ताल चल्ने उमेर भाको छैन है मेरो अलिक विचार गरेर बोल । हन तिमीले मसँग आफ्नो आँसु लुकाएर के पाउँछौ भन त ? बोल न बोल बाबै के मुखमा पानी हालेर बस्छौ कि बोल्ने शब्द छैन । यो धानको ढेंडी हैन बुढा यो त तिम्रो पसिना हो, अनि तिमी यो मुलुकको अन्नदाता तिमीले असारमा र मङ्सिरमा पसिना नबगाउने हो भने कैयौं घरका धुरीबाट बाफ उड्दैनन तिमी त एक सम्मानयोग्य स्रष्टा हौ तिमीले खेतको आलीमा बसेर रोएर हुन्न बुढा ।

तिमीले फलाको अन्न क–कसले खान्छन्, अन्दाज छ बुढा तिमीलाई ? डाक्टर, इन्जिनियर, नेता, मन्त्री, मास्टर अनि त्यो क्यारे पिलेन उडाउने त्यो पाइलट, ब्यापारी, व्यवसायी सबैले खान्छन् । तिमी त अन्नदाता, प्राणदाता पो हौ त । उनीहरुले त तिम्रो पूजै गरे नि खेर नजाने हो । लौ बुढालाई के भयो हौ फेरि धानको डाँठ पो बजाउन थालेउ त हेर हेर बुढा गद्गद् भाका ।

बुढा गद्गद् भएको हेर्दै म सोचिरहेको थिएँ, यत्रो बडो सङ्घर्ष गर्ने दुनियाँका अन्नदाताको नाम कसले के कारणले पातकी राखिदियो होला । तर, हाम्रो समाजमा गरीब किसानलाई कसले पो राम्रो नाम दिन्छ र मैले यो बारेमा सोच्नै छाड्देँ । तिमीले फलाएका सुनको मूल्य कति छ थाहा छ ? हजार रुपे मन रे अनि त्यो राँगावालको एक हल राँगो एकछिन हल्लाको चैं पन्ध्र सौ रे ! कति हेपेका हुन् हौ यी धनाढ्यले तिमी हामी किसानलाई अचम्म पर्छु म त । तिनीहरुलाई त थाहा पनि छ के कति पसिना बराबर एक मन धान फल्छ भनेर सरर.. फेन चलार घुम्ने कुर्सीमा बसेर चाहिँ चाइना जो हाम्रो पसिनाको मूल्य तोक्ने काम गर्छन् । म त घरीघरी भाउन्ने छुटेर आउँछ भन्या । यो मुलुकका तिमी हामी किसानले यसै मैलोधैलो भएरै जिन्दगी बिताउनु पर्ने रैछ है ।

के रे तिम्रो खुट्टाले जुत्ता सुँघ्नु पाएका छैनन् रे ! ए अभागी बुढा जुत्ता लगाउन त ठूलो मान्छे हुनुपर्छ अनि मात्र लगाउन पाइन्छ । तर, तिमीले ठिक कुरा गर्यौ बाबै, यत्रो धनाढ्यको अन्नदाता तिमी भन्दा कोही ठूला छैनन् यहाँ । तर, तिमी माटोसँग मित्रता राख्ने मान्छेलाई यता धुलो जत्तिको नि गन्दैनन् । तिमी ज्यादै हेपिएका छौ ।

ए ! अँ साँची तिम्रो छोरो बिदेशबाट फर्कियो त ? हेरन बुढा छोरोको के कुरा मात्र गर्या थिए रुन पो थाले भैगो छाड्देउ बैगुनी निष्ठुरीलाई । यी गाउँका सबै छोरा तिम्रै त हुन् नि तिमीले कुनै आफ्ना बाबुको दुःख नबुझ्नेहरुका लागि आफ्नो अमृत नबगाउ । हिँड बरु तलतिर माइली भाउजूको चियापसलमा चिया खानुपर्छ ।

अँ साँची अघि के पो भन्दै थिएँ । यहाँ तिम्रो कुनै इज्जत छैन । के तिमीलाई चाहिँ सुकिलो मुकिलो भएर चट्ट कोट, पाइन्ट लगाएर चिल्ला गाडीमा हिँड्ने रहर छैन र ? यसो कुनै पुँजीपतिलाई किसान भनी हेर त उनीहरु फुस्रो मैलो धसिङ्गरे मात्रै सोच्न सक्छन् । के यही हामी किसानहरुको पहिचान ? सुनिन्छ अहिले त किसानका लागि विभिन्न कार्यक्रम आएका छन् रे ! के ती कार्यक्रमले वास्तविक किसानलाई समेटेका छन् त ? विभिन्न अनुदानहरु छन् रे त्यसको बारेमा तिमी हामी जस्ता किसानले त्यो सुविधा पाएका छौं त ?

के निच्च परेर हाँसेको, सोच है बुढा सोच लोकतन्त्र हो यहाँ आवाज उठाउन सजिलो छ । हाम्रो पसिनाको मूल्याङ्कन हामीले नै गर्न पाउनुपर्छ । जमिनदार र जग्गाधनीले हामी अधिकार माथि गरेको ज्यादतीको अन्त्य हुनै पर्छ । दुईजना मान्छेको अगाडि उभिदा हामीले नि सुकिलो भएर उभिन पाउनु पर्छ । धनाढ्यले झैँ हामीले पनि मानसम्मान पाउनु पर्छ ।

बुढा कति हेपिएर बस्ने । अब हामीले हाम्रो सन्ततिको हितको लागि आधुनिक कृषिमा जोड दिँदै कृषिक्रान्ति गर्नैपर्छ । जति दुःख खप्नु तिमी हामीले खपी सक्यौं । अब हाम्रा सन्ततीले उज्ज्वल भविष्य पाउनु पर्छ । सोच बुढा, अब हामीले कृषिक्रान्ति गर्नैपर्छ । लौ पातकी बुढा तिमीसँग गफ गर्दागर्दै नौ पो बजेछ मलाई क्याम्पस जान ढिला हुन्छ म गएँ है । सोच विचार गर है बुढा म तिमीलाई फेरि भेट्छु नि । ए माइली भाउजू चियाको पोइसा मेरो नाममा टिप्दिनु है ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: