बिर्तामोड । भारतको सीमावर्ती पानीटङ्की बजारमा रहेको एउटा क्लिनिकले पायल्सको ग्यारेन्टी उपचार गर्ने भन्दै एक नेपाली नागरिकलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएपछि पीडितले क्षतिपूर्ति माग्दै प्रशासन गुहारेका छन् ।
पीडितका छोरा अभिषेक योगीले जिल्ला प्रशासन कार्यालय झापामा क्षतिपूर्ति माग्दै केही दिन अघि उजुरी दिएका हुन् । उजुरीमा गलत उपचार गरेर ज्यान जोखिममा पार्ने भारतीय क्लिनिक र त्यहाँ उपचारका लागि नेपाली बिरामी फकाएर लैजाने कार्यमा संलग्न शान्तिनगरका भुपेन्द्र भट्टराईलाई कानूनी कार्वाही गरी क्षतिपूर्ति भराइदिन माग गरिएको छ ।
घटना विवरण अनुसार शिवसताक्षी–१० का ४४ वर्षीय जयनारायण योगीलाई पायल्सको ग्यारेन्टी उपचार गर्ने भनेर शान्तिनगरका भूपेन्द्र भट्टराईले ललाइफकाई पानीटङ्कीको माँ पाथिभरा आयुर्वेदिक क्लिनिकमा कात्तिकको दोस्रो साता पुर्याएका थिए ।
भट्टराईको नेपालबाट विरामी लैजाने र कमिसन खाने धन्धा नै भएको बताइएको छ । क्लिनिकको प्रचारमा नेपालका विभिन्न गाउँ देहातमा टाँसिएको पोस्टर र बाँडिएको पर्चामा भट्टराईलाई सहायक विशेषज्ञ भनेर हाँस्यास्पद एवम् झुठो उपाधि समेत दिइएको छ ।
योगीलाई पुर्याइए पछि क्लिनिकका स्वघोषित डाक्टरहरुले मलद्वारमा इन्जेक्सन दिएका कारण अत्याधिक रक्तश्राव भई पीडित उनी मरणासन्न भएका थिए ।
दोमुखा पर्यटकीय विकास समितिका सचिव समेत रहेका योगी नबाँच्ने अवस्थामा पुगेपछि विर्तामोडको बीएन्डसी हस्पिटलमा उनलाई भर्ना गरिएको थियो । वीएन्डसीको उपचार पाएर योगी बाँचेका छन् ।
बुधवार एक पत्रकार सम्मेलनमा योगीले आफुले सस्तो र ग्यारेन्टी उपचारको लोभमा अर्काले बहकाएको भरमा पानीटङ्कीमा पायल्सको दवाइ गर्न जाँदा झण्डै ज्यान गुमाउनु परेको बताए ।
उनले पायल्सको बिना चिरफार उपचार भन्दै पानीटङ्कीको माँ पाथिभरा आयुर्वेदिक क्लिनिकमा आफ्नो मलद्वारमा इन्जेक्सन दिइएको र लगत्तै रक्तश्राव नरोकिएको बताए ।
बीएन्डसी हस्पिटलका चिरफार विभागका प्रमुख सर्जन डा. रोहित यादवले पानीटङ्कीमा नक्कली डाक्टरहरुले उपचारको बहानामा नेपालीहरुलाई लुटिरहेको र नेपालीहरुको सोझोपनलाई मुर्गा बनाइरहेको बताएका छन् ।
‘योगीजीलाई यहाँ (बीएन्डसी) भर्ना गर्दा बाँच्ने आशा कसैले गरेका थिएनन्’, बुधवार पत्रकार सम्मेलनमा डा. यादवले भने–‘उहाँको मलद्वारबाट रक्तश्राव जारी थियो, रगतका फाल्साहरु झथ्र्यो, सिचुरेसन डाउन भइसकेको थियो ।’
अथक मिहेनत र वीएन्डसी हस्पिटलमा उपलब्ध प्रविधिको प्रयोग गरेर बिरामीलाई बचाउन सकिएको उनले बताए ।
पानीटङ्कीमा गलत उपचारका कारण स्वास्थ्य नाजुक भएर बीएन्डसीमा आउने नेपालीहरुको सङ्ख्या ह्वात्तै बढेको जनाउँदै अर्काबाट सुनेको भरमा, बर्षौदेखि चलेको चलनका भरमा र सस्तो एवम् विना चिरफारको आशमा नेपालीहरु पायल्सको उपचार गर्न जाने गरेको डा. यादवले बताउँछन् ।
भारतका नक्कली क्लिनिकको विज्ञापनिक प्रचार स्थानीय सञ्चारमाध्यमहरुमा आउने गर्नाले नेपालीहरुमा भ्रम फैलिएको बताउँदै योगीका छिमेकी युवा पुष्प पौडेलले त्यस्ता विज्ञापन रोक्न र कमिसनको लोभमा नेपालीलाई भारतमा पुर्याउने दलालहरुलाई कडा कार्वाही गर्न सरकार समक्ष माग समेत गरेका छन् ।
(लोकतन्त्र पोस्ट दैनिक)