अर्जुनधारा, २४ भदौ । झापाको अर्जुनधारास्थित शंकराचार्य पीठ साधुटारका प्राचार्य लक्ष्मी खतिवडा तीज पौराणिक शास्त्रमा आधारित परम्परागत चाड भएको हुँदा यसको महत्व धर्म, संस्कृति र आस्थामा आलोकित भएको बताउँछन् ।
“पहिले पहिलेका मानिसहरु धर्मप्रति निष्ठापूर्वक आस्था राख्दथे, अहिले आस्थालाई देखावटी र फेसनको रुपमा मान्नेहरु बढेका छन्,” तीजको नाममा विकृति समेत बढेको जनाउँदै प्राचार्य खतिवडा भन्छन्–“मान्छे जति आधुनिक भए तापनि आफ्नो संस्कृति र संस्कार छोड्न र तोड्न हुँदैन । शास्त्रसम्मत आचरणको खडेरी लाग्दै गएको छ ।”
उनले तीजको ब्रतमा पानी पिउनै नहुने भनेर कुनै धार्मिक शास्त्रमा नलेखिएको बताउँदै हरेक ब्रतालुको आहार, विहार, व्यवहार र आचरण पवित्र हुनुपर्नेमा जोड दिए । स्वास्थ्यको ख्याल गर्दै पानी पिएर ब्रत बस्न कुनै रोकतोक नभएको उनले स्पष्ट पारे ।