पीसीआर ल्याब स्थापनाका लागि सहकारीद्वारा २५ लाख घोषणा

  प्रकाशित मिति
३२ जेष्ठ २०७७, आईतवार २१:५३


मेचीनगर । झापामा पीसीआर ल्याब स्थापनाका लागि सहकारीद्वारा २५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब झापामा स्थापना गर्ने पक्का भएको छ ।

‘एकका लागि एक’ अभियानले झापामा पीसीआर ल्याब स्थापना गर्ने घोषणा गरेसँगै विभिन्न क्षेत्रबाट सहयोग गर्नेको घुइँचो लाग्न थालेको छ ।

आइतबार चारपानेमा पत्रकार भेटघाट कार्यक्रमकाबीच अभियानलाई जिल्लाका सहकारी तथा विभिन्न संघ–संस्थाबाट ७ लाख १२ हजार रुपैयाँ सहयोगको घोषणा भएको हो ।
अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको ल्याब स्थापना गर्न सहकारी संघ–संस्थाहरुले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

आइतबारै एकै दिन झापाका चार सहकारी संस्था, झापा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले रकम सहयोग गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा सहारा नेपाल साकोसबाट एक लाख ५ हजार, पूर्व नेपाल साकोसबाट एक लाख २ हजार, पब्लिक साकोसबाट एक लाख १ हजार र हाम्रो नेपाल साकोसबाट एक लाख १ हजार रुपैयाँ सहयोग घोषणा भएको छ ।

त्यस्तै, झापा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकबाट जनहि एक लाख १ हजार रुपैयाँ प्रदान गर्ने घोषणा भएको छ ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार संघको समन्वयमा अभियानलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्न लागिएको हो ।

एक साताभित्र रकम संकलन गरिसक्ने गरी संघले अन्य सहकारीसँग पनि समन्वय गरिरहेको छ । सामाजिक अभियान भएकाले झापाका सहकारी तथा सहकारीसँग आबद्ध देशभरका केन्द्रीय संघहरुलाई स्वेच्छिक रुपमा सहयोग गर्न जिल्ला संघले अपिल समेत गरेको छ ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष तथा बैंकका पूर्वअध्यक्ष रमेश पोखरेल, नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य घनश्याम अधिकारी, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मिनाकुमारी ढकाल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बोलेका थिए ।

कार्यक्रममा एकका लागि एक अभियानले सुरु गरेको पीसीआर ल्याब सञ्चालन गर्ने अभियानमा सहकारीको सबैभन्दा माथिल्लो निकाय पनि जोडिएको ढकालले बताए । ‘यो एकदमै खुसीको कुरा हो’, ढकालले भने, ‘यसले समाजमा राम्रो सन्देश दिएको छ ।’

ल्याब सञ्चालनका लागि अभियानले १५ लाख रुपैयाँ उपलब्ध गराएर सहयोग जुटाउन सुरु गरिएको छ । अभियानले दुई साताअघि रकम घोेषणा गरेको थियो भने ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ ।

कार्यक्रममा अभियान अन्तर्गत झापामा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । संसारभर रहेका झापाली र संघसंस्था तथा अन्य क्षेत्रका दाताहरुसँग अभियानले सहयोगको अपिल गरेको छ ।

ल्याब सञ्चालन गर्न अन्तर्राष्ट्रिय झापाली समाजले पनि ३० लाख रुपैयाँको हाराहारीमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । ४० देशमा सञ्जाल रहेको समाजका अभियान्ताहरुले अनलाइन कोष खडा गरेर रकम संकलन गरिरहेको समाजका संरक्षक दिनेश पोखरेलले जानकारी दिए ।

पीसीआर ल्याब स्थापना गर्न झन्डै एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ल्याब सञ्चालनको जिम्मेवारी लिन झापाका कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई अभियानले अनुरोध गरेको छ । ल्याब कहाँ राख्ने भन्ने टुंगो एक सातामा लाग्ने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: