मेचीनगर, ९ साउन । ‘एकका लागि एक अभियान’का संयोजक महेन्द्र गिरीले कनकाईको कोटिहोममा स्थापना गरिएको कोरोना भाइरसको सङ्क्रमण जाँच्ने पीसीआर मेसिन सरकारले नै सञ्चालन गर्ने जनाएका छन् ।
‘एकका लागि एक अभियान’ झापामा जनस्तरबाट पीसीआर ल्याव स्थापनाका लागि नेतृत्व गर्ने समुदायबाट स्वस्फुर्त गठित संस्था हो । करीव एक करोड २० लाख रुपैयाँ चन्दा सङ्कलन गर्दै अभियानले अत्याधुनिक पीसीआर मेसिन खरिद गरेर कनकाईको समर्पण भवनमा जडान गरिसकेको छ ।
मेसिनको परीक्षण चरणमा आइपुगेपछि सङ्घीय सरकारले सुरुङ्गामा ल्याव सञ्चालन गर्न नदिने हल्ला चलाइएपछि अभियानका संयोजक गिरीले ल्याव सरकारले नै सञ्चालन गर्ने र अबको केही दिनमा सरकारलाई हस्तान्तरण गरिने स्पष्ट बताएका हुन् ।
कनकाईमा स्थापना भएको ल्यावको स्थापनामा स्थानीय सरकार, सहकारी र समुदायको अभूतपूर्व योगदान रहेको छ । उद्योग वाणिज्य सङ्घहरु, जेसिज, अन्तर्राष्ट्रिय झापाली समाज लगायतका दर्जनौं संस्थाहरुको सहयोग छ । मानवीय भावनाले ओतप्रोत भएर सञ्चालित एकका लागि एक अभियानप्रति झापाली जनमत आभारी छ ।
अभियान आफैले सञ्चालन नगर्ने स्पष्ट पारिसकेपछि यो पीसीआर ल्याव अब मेची प्रादेशिक अस्पतालको प्रयोगशाला शाखाको रुपमा प्रदेश सरकारले नै सञ्चालनको सम्पूर्ण जिम्मेवारी लिने लगभग निश्चित भएको छ ।
एक कार्यक्रमविच अभियानले ल्याव सरकारलाई हस्तान्तरण गर्ने र प्रदेश सरकारले आफ्नो प्राविधिक जनशक्ति प्रयोग गरेर ल्यावलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने छ ।
नेकपा नेता एवम् सहकारी अभियन्ता घनश्याम अधिकारीले समाचार माध्यमहरुसँग कुराकानी गर्दै कनकाईमा स्थापना भएको पीसीआर ल्याव प्रदेश सरकार र मेची अञ्चल अस्पताल मातहत कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल सकारात्मक मोडमा अघि बढिरहेको बताएका छन् ।
‘चाँडै यो विषयमा निर्णय हुन्छ,’ उनले भनेका छन्–‘बैधता सम्बन्धी समस्याहरु होला्, यो विषयमा प्रदेश र सङ्घीय सरकारसँग छलफल भइरहेको छ ।’
उनले अभियानले स्थापना गरेको ल्याव प्रदेश सरकारले नै जिम्मा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । समर्पण भवनसहित पीसीआर ल्याव हस्तान्तरण गर्ने विषयमा कुरा चलिरहेको उनको सङ्केत थियो ।
मिडियाहरुसँगको कुराकानीहरुमा झापाका स्थानीय सरकारसमेत कनकाईमा ल्याव राख्ने विषयमा सकारात्मक देखिएका छन् ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले कानून जनताको हितका लागि बनाइने हुँदा कुनै कानून बाधक रहेछ भने परिवर्तन हुने बताएका छन् ।
नगरप्रमुख पोखरेलले मेची अस्पतालको शाखाको रुपमा उसकै जनशक्ति प्रयोग गरेर हाललाई पीसीआर ल्यावको सञ्चालन गरिनु पर्ने धारणा व्यक्त गर्दै त्यसका लागि कनकाई नगरपालिका जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।
झापा गाउँपालिकाका प्रमुख जयनारायण साहले जनस्तरबाट नै कनकाईमा पीसीआर ल्याव स्थापना हुनु खुशीको विषय भएको जनाउँदै हरेक वर्ष ल्यावलाई ५ लाख रुपैयाँका दरले सहयोग पुर्याउने बचनबद्धता प्रकट गरेका छन् ।
विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले एक सञ्चार माध्यमसँगको कुराकानीमा स्वाव परीक्षणका लागि ७ दिनसम्म पालो कुरेका झापालीले आफ्नै जिल्लामा पीसीआर ल्याव स्थापना हुँदा खुशी मानेको जनाउँदै यसबाट कोरोना नियन्त्रणमा योगदान पुग्ने धारणा व्यक्त गरेकी छन् । उनले यसमा विर्तामोड नगरपालिकाले सहयोगको जिम्मेवारी पूरा गर्ने बताएकी छन् ।