पुण्यसरको पुण्य कर्म

  प्रकाशित मिति
१० कार्तिक २०७३, बुधबार १२:५५


debu

मेचीनगरको इटाभट्टा चोकदेखि डेढ किलोमिटर उत्तर लागेपछि अर्काे चोक आउँछ । जसलाई पुण्य चोकले चिनिन्छ । सामान्यतया समाजमा राम्रो काम गर्ने मानिसको जब मृत्य हुन्छ, मृत्युपछि उनको नाममा बाटो बनाइन्छ, स्कुल बनाइन्छ या चोकहरूको नाम नामाकरण गर्ने चलन हुन्छ । तर, पुण्य चोक भनेर जुन ठाउँलाई मानिसहरू चिन्ने गर्छन्, त्यो पुण्य चोक, जसको नामबाट ठाउँको नाम चलनचल्तीमा आयो । उनी अहिले जीवित नै छन् र अहिले उनी त्यही चोकमा रहेको दुई तले घरमा बसोबास गर्छन् । पुण्य चोक जसको नामबाट चलनचल्तमीा आयो त्यो चोकको पुण्य नामको व्यक्तिको थर पौडेल हो र उमेर ८२ वर्ष पुग्यो । उनी समाजसेवी, धार्मिक र राजनीतिक व्यक्ति हुन् । अहिले उनी राजनीतिकको रिटायर्ड जीवन बिताइरहेका छन् । यो पटकको साता व्यक्तित्वमा उनै पुण्यप्रसाद पौडेल अर्थात् पुण्यबाबुको जीवन बृत्तलालाई यहाँहरू समक्ष ल्याएको छु ।

एउटा कालखण्ड थियो, चन्द्रगढीको जेलमा ती पुण्यप्रसाद पौडेलको । त्यही कालखण्डमा उनी अत्याचारको विरुद्धमा जेल गए । आफ्नो निष्ठा र आस्थालाई कहिलै बेच्न चाहेनन् र बेचेनन् पनि  । राजनीतिमा लागेर बहुदल र प्रजातन्त्रका लागि निरन्तर लडिरहे । पञ्चायती कालमा आउटफोर्स कब्जा गर्ने भनेर काँकरभिट्टा गाउँ पञ्चायतमा बहुदलको पक्षमा २०४३ सालमा काङ्ग्रेसले लडायो । जसमा उनी पराजय भए । तैपनि उनी पछि हटेनन् ।

बहुदल आएपछि २०४६ सालमा काङ्ग्रेसको महासमिति सदस्य भए । तर, त्यसपछि उनी पार्टीको कुनै पनि पदमा बसेर पदीय जिम्मेवारी लिएनन् । बरु आफ्नो छोरा पुष्पराज पौडेललाई मार्गप्रशस्त बनाइदिए । राजनीतिमा नमरुन्जेलसम्म पदमा बसिरहने जुन संस्कार छ त्यसलाई उनले तिलाञ्जली दिए र दोस्रो पुस्तामा हस्तान्तरण गरे । जसले स्वच्छ राजीतिक संस्कारको विकास गरे । देशको परिवर्तनका लागि भएका आन्दोलनका साक्षी मात्र बनेन्, उनी आफै अघि सरेर प्रजातन्त्र, बहुदल र लोकतन्त्रका लागि लडे पनि । २००७, २०३६, २०४६ र २०६२÷६३ का चार ठूला आन्दोलनमा आफुलाई सहभागी गराएका उनले २००७ सालमा प्रजातन्त्रका निम्ति पहिलोपटक काङ्ग्रेसको झण्डा बोकेका थिए ।

वीपी कोइराला बनारसमा रहेको बेलामा पुण्यबाबु र पर्शुराम भण्डारी गएर देशको राजनीतिक अवस्थाका बारेमा वीपीसँग कुराकानी गरेका थिए । वीपीको प्रेरणाबाट प्रभवित भएर उनी नेपाली काङ्ग्रेसको राजनीतिमा निरन्तर लागिरहे ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. भूविव्रmम नेम्बाङसँग निकट रहेर काम गरेका पुण्यबाबु गुटको राजनीतिबाट टाढा रहन चाहन्थे । पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा झापाका भूविव्रmमलाई केन्द्रीय सदस्यमा हराएपछि उनलाई पाटीप्रति नैराश्यता पलाएको थियो । अन्तिम समयमा आएर पार्टीले भूविव्रmममाथि अन्तरघात गरेपछि त्यसको प्रत्यक्ष असर उनलाई परेको थियो । त्यसपछि पार्टीका तर्फबाट कुनै पनि पदमा बस्न चाहेनन् । उनी पार्टीलाई मजबुत बनाउनु छ भने गुट र स्वार्थ भन्दा माथि उठेर जनताका लागि काम गर्नु पर्ने बताउँछन् ।

झापाका अग्रज पत्रकार चन्द्र भण्डारी पुण्यबाबुलाई सरल स्वभाव भएका धार्मिक र सामाजिक व्यक्तिका रुपमा व्यख्या गर्छन् । ‘उहाँलाई म सानै उमेरदेखि राम्ररी चिन्थे । गाउँमा उहाँको योगदान अत्यन्तै धेरै थियो’, उनले भने । कञ्चनजङ्गा एफएमका प्रबन्ध निर्देशक समेत रहेका भण्डारीले भने–‘शािन्तनगरका पुराना पुस्ताका मानिसहरू मध्येका अग्रज उहाँ हो । आज शान्तिनगर जुन ठाउँमा आउन सफल भएको छ, त्यसको एउटा हिस्सा उनै पुण्यबाबु पनि हुनुहुन्छ । जसले विना स्वार्थ समाज परिवर्तनका लागि योगदान दिनु भयो ।’

१९९१ साल साउन २९ गते तत्कालीन इलामको इरौँटार गाविस (हाल झापा शान्तिनगर) मा बुबा देवीप्रसाद र आमा दिव्यश्वरा पौडेलका एक्लो छोराका रुपमा जन्मिएका पुण्यप्रसाद पौडेल यस क्षेत्रका पुराना पुस्ताका व्यक्तिहरू मध्येका एक हुन् । मध्यम परिवारमा जन्मिएर सामाजिक क्षेत्रमा अतुलनीय योगदान दिएका उनलाई सबैले बोलाउने साझा नाम भने पुण्यबाबु हो । उनको यो नाम उनका समकालीन साथी पर्शुराम भण्डारी ( युवा नेता विश्वप्रकाश शर्माका बुबा) ले राखिदिएका थिए । पुण्यबाबु भनेपछि एकताका शान्तिनगरमा राम्रो छाप थियो । शिक्षित समाजले मात्र सिङ्गो गाउँ विकास हुन्छ भन्ने मान्यता बोकेका पुण्यबाबुले गाउँमै रहेको संस्कृति पाठशालामा अक्षर चिनेका थिए ।

उनले गाउँमा शिक्षाको उज्यालो छर्नका निम्ति ठूलो योगदान दिए । उनका समकालीन साथीहरू त्यसताका इन्द्रबहादुर प्रसाई, रामबाबु प्रसाई, भेषराज खतिवडालगायतको टिमसँगको सहकार्यमा शान्तिनगरमा विद्यालय खोल्ने जमर्काे गरे । २००७ सालको आन्दोलनपछि गाउँमा शिक्षा दिनुपर्छ भन्ने उद्देश्यले २००८ सालमा शान्ति आदर्श विद्यालयको स्थापना गरे । जसको संस्थापक सदस्य बनेर आफै शिक्षक भई शिक्षण पेशामा लागे । २०१५ सालमा शान्तिनगरलाई छोडेर उनी हालको मेचीनगर–४ मा बसाई सरेर आए । गरिब किसान र आदिवासी समुदायको बाहुल्यता रहेको यस ठाउँमा उनले सबैलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गरे । घना जङ्गलले घेरिएको यो ठाउँमा बाघ, भालु र चितुवाले असाध्यै दुःख दिने गरेको थियो । त्यसलाई पनि पन्छाउँदै उनी निरन्तर समाजसेवामा लागिरहे । यस क्षेत्रका मानिसहरू पढ्नका लागि धुलाबारी मावि जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै यही ठाउँमा विद्यालय खोल्न लागि परे । २०१६ सालमा कविशिरोमणि माविको स्थापना गरे । जसको संस्थापक अध्यक्ष उनी नै हुन् । विभिन्न दाताहरूसँग चन्दा उठाएर विद्यालय सञ्चालन गरे । खुट्टेडाँगी चोकको सखुवाको रुखमा २÷४ जना विद्यार्थीलाई भेला गरेर सुरु गरिएको यो विद्यालय अहिले झापाकै नमुना विद्यालयको रुपमा स्थापित बन्न सफल भएको छ । उक्त विद्यालयलाई उनले अहिले १ लाखको पुण्य छात्रवृत्ति अक्षयकोषको समेत स्थापना गरिदिएर यहाँका गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति वितरण गर्दै आएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले बताए ।
यसैगरी २०४८ सालमा स्थापना भएको धुलावारी क्याम्पसको संस्थापक सदस्य समेत हुन् पुण्यबाबु ।

२०३१ सालमा उक्त ठाउँबाट बसाई सरेर उनी मेचीनगर–७ मा आए । काम गर्ने मान्छेलाई ठाउँले असर गर्दै भन्ने मान्यता उनीमाथि प्रमाणित बन्न गयो । यस ठाउँमा आएर पनि उनी निरन्तर सामाजिक विकासमा लागिरहे । शैक्षिक सङ्घ संस्था, बाटो घाटो निर्माणमा लागिरहे । सुरुमा धानको विव्रmी वितरणको व्यवसाय गरेका उनले पछि त्यही धानलाई चामल बनाएर बेच्नका लागि मिलको स्थापना गरे । जुन मिलको नाम पुण्य राइसमिल राखिएको थियो । सोही मिलको नामले यो चोकलाई पुण्यचोक भन्न थालियो र अहिले पनि पुण्यचोकले परिचित छ ।

१४ वर्षको उमेरमा रुकमणीसँग विवाह गरेका पुण्यबाबुले १ छोरा रमेशलाई जन्म दिएपछि श्रीमतीको निधन भयो । त्यसपछि २७ वर्षको उमेरमा पुन राधादेवीसँग विवाह गरे उनले । जसबाट १ भाइ छोरा र ३ बहिनी छोरीको जन्म भयो । जेठो छोरा रमेश पौडेल ग्रामीण विकास बैङ्कको पूर्वाञ्चल विकास क्षेत्रको पूर्व डाइरेक्टर हुन् भने कान्छो छोरा पुष्पराज पौडेल धुलावारी क्याम्पसको क्याम्पस प्रमुख छन् । साथै बुबाको राजनीतिक हिरासतलाई थाम्दै उनी काङ्ग्रेस पार्टीमा व्रिmयाशील समेत छन् । हाल जिल्ला सदस्यको जिम्मेवारी सम्महालिरहेका पुष्पराज बुबाकै प्रेरणाबाट यो स्थानसम्म आउन सफल भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: