पुनर्जन्मको ६ महिना–१

  प्रकाशित मिति
१४ जेष्ठ २०७९, शनिबार १३:०९


विराटनगरस्थित विराट नर्सिङ होममा २०५० सालदेखि मैले गाइनो (तल्लो पेट) सम्वन्धी रोगको उपचार गराइरहेको थिएँ । डाक्टरले दिएको समयमा गएर नियमित चेकजाँच चलिरहेको थियो । पछिल्लोपटक २०७० सालको फागुन महिनामा औषधी सेवनको समयावधि सकिएपछि डाक्टरलाई भेट्न विराट नर्सिङ होम गयौँ । गाईनो सम्वन्धी समस्या पूर्णरुपमा निको भएको र अन्य समस्याको शंका भएकोले एकपटक फिजिसियनलाई देखाउन डाक्टरले सुझाएको र डाक्टरको नाम समेत दिएकाले सोही सल्लाह अनुसार विर्तामोडको साथी मेडिकोमा डाक्टर समीर पौडेललाई देखाइयो ।

आवश्यक परीक्षणपछि टेस्ट रिपोर्ट हेरेर डाक्टरले ‘तपाईँको पिसावबाट प्रोटिन जान थालेको, प्रेसर पनि बढेको र क्रिटिनिन पनि बढेको छ । तपाईँको किड्नीमा समस्या आइसकेको छ । आजैबाट प्रेसरको औषधी खान सुरु गर्नु’ भनी औषधिहरु लेखिदिए डाक्टर समीर पौडेलले । अब भने मलाई निकै तनाव बढ्न थाल्यो । एउटा रोग निको हुन नपाउँदै अर्को झन् डरलाग्दो रोगको आक्रमण ! थकित र चिन्तित शरीर लिएर घर फर्कियौँ । घरमा आएपछि आपसमा सल्लाह गरियो । उपचारको लागि कुनै राम्रो हस्पिटलमा जाने कुराकानी भयो । तर कहाँ ? घर सल्लाह गर्यौँ, छलफल गर्यौँ र निष्कर्षमा पुग्यौँ । भारतको सिलगुढीस्थित प्रधाननगरमा रहेको पतञ्जलि क्लिनिकमा जाने ।

हामी दुवैजना पतञ्जलि योगसंग सम्वन्धित पनि थियौँ । २/३ वर्षदेखि योग शिक्षकको रुपमा योग साधना गर्दै आएका पनि थियौँ । आस्था टीभी च्यानलबाट बाबा रामदेवको योग शिविर र उहाँको प्रवचन अनि आयुर्वेद औषधि सम्वन्धी प्रवचन पनि सुनेका थियौँ । त्यसो त हरिद्वारमा नेपालीहरुको लागि मात्र आयोजित एक हप्ते योग शिक्षक तालिममा पनि हामी दुवैजनाले भाग लिएका थियौँ । बाबा रामदेव र आयुर्वेद औषधिप्रतिको विश्वासले गर्दा अन्ततः आयुर्वेदिक उपचार नै गर्ने निष्कर्षमा पुग्यौँ हामी । सिलिगुडी गइयो । त्यहाँ आयुर्वेद डाक्टर प्रभालाई देखाइयो । औषधिको थुप्रो लिएर आयौँ ।

आयुर्वेदिक औषधि त कति खाएँ खाएँ । न त ब्लडप्रेसर कम हुन्छ न त क्रिटिनिन नै घट्छ । डाक्टरले ठिक हुन्छ भन्न पनि नछाड्ने तर कहिल्यै २० को १९ पनि नहुने । समस्या दिनानुदिन झन् झन् बढ्दै गयो । विस्तारै आयुर्वेद औषधिप्रति वितृष्णा जाग्न थाल्यो । पछि विराटनगरको नेसनल किड्नी अस्पतालमा गयौं, धेरै परीक्षण पश्चात् त्यहाँको डाक्टरले ‘अब जाति हुँदैन तपाईंको विमारीलाई । घरमा लगेर मन लागेको कुरा खानेकुरा खान दिनु भनेछन्’ मेरो श्रीमान् देवीचरण भण्डारीलाई । उहाँले मलाई यो कुरा सुनाउनु भएन त्यतिबेला । समय र धन दुवै मनग्ये खर्च भयो स्वास्थ्य पनि कमजोर बन्यो । त्यहाँबाट पनि निराश भएर फर्कियौँ ।

त्यसपछि काठमाडौंमा ठूलो छोरो टिचिङ हस्पिटल महाराजगञ्जमा बीएएसएलपी (ब्याचलर अफ अडियोलोजी एन्ड स्पिच लेङ्वेज प्याथोलोजी) पढ्दै थियो । उसकै सल्लाहमा काठमाडौ गइयो । सबै परीक्षण र वायोस्पीको रिपोर्टपछि किड्नीले अहिले ३५ प्रतिशत मात्र काम गरेको र खानपान र औषधि नियमित सेवन गरे केही वर्ष टिकिन्छ भन्ने सल्लाह बमोजिम १५ दिनको बसाइपछि औषधि लिएर झापा आइयो । त्यसले मात्र सन्तुष्टि भएन र माघको अन्तिम साता २०७२ मा भारतको तामिलनाडु राज्यस्थित भेल्लोरको सीएमसी (क्रिस्चियन मेडिकल कलेज)मा गइयो । त्यहाँको ल्याव रिपोर्ट र काठमाडौंको ल्याव रिपोर्टले एउटै कुरा देखायो । त्यहीँको डाक्टरको सल्लाह बमोजिम औषधि सुरु गरियो ।

सुरुमा औषधिको असरले धेरै शिथिल बनायो । तनाव भयो । सीकेडीको ट्याग लाग्यो एकातिर भने अर्कोतिर धेरै औषधिको असरले सुरुआती चरणमा सिकिस्त बनायो, दारीजुँगा पनि पलाए । शरीर सुन्नियो । यस्तै अवस्थामा घरमै आराम गरिरहेको समयमा धेरै साथीभाइ इष्टमित्रहरु हेर्न आउनु भयो । कति जनाले हौसला र प्रेरणा दिनु हुन्थ्यो र उत्साह भर्नु हुन्थ्यो भने कतिपयले विल्कुलै नकारात्मक कुरा गरेर निराश र हतोत्साही बनाउनु हुन्थ्यो । एक त पीडा, त्यसमाथि विभिन्न किसिमका कुराहरु सुन्दा कहिलेकाहीँ त होइन, अब निको हुँदैन कि क्या हो ! जस्तो पनि लाग्न थाल्यो ।

घर बसेर अनेकौं कुरा सुन्नु भन्दा स्कुल जान्छु भन्ने लाग्यो र स्कुल जान थालेँ । त्यहाँ गएपछि म धेरै फ्रेस र तनावबाट मुक्त भएँ । यसरी क्रमशः औषधिलाई शरीरले चिन्दै गयो । असरहरु कम हुन थाले । यसरी नै ६ वर्ष वितेछन् मेरा । प्रत्येक वर्ष भेल्लोरमा फ्लोअपका लागि जान थालियो । स्वास्थ स्थिति राम्रो भएको थियो । झट्ट हेर्दा मलाई विरामी जस्तो कहिल्यै लाग्दैन थियो अरे । मलाई पनि म विरामी छु भन्ने कहिले पनि मनमा लागेन । सबै ठिकसँग चल्दै थियो । २०७६ को चैतमा भेल्लोर जाने योजना थियो । तर त्यस अघि नै विश्वव्यापीरुपमा कोभिडको महामारी फैलियो । भारतमा नेपालमा भन्दा पहिले नै लकडाउन कडा रुपमा लागेको थियो । हामी जान सक्ने स्थिति रहेन । यहाँसम्मकि विराटनगर पनि जाने अवस्था थिएन हाम्रो ।

कोभिड सङ्क्रमण भैहाल्यो भने बाँचिने अवस्था थिएन मेरो । स्थानीय फिजिसियन डाक्टरको सल्लाह मान्नु वाहेक अर्को विकल्प हामीसँग थिएन । स्थानीय चिकित्सकको सल्लाह बमोजिमको औषधि खान थालियो । त्यसले दिन प्रतिदिन स्वास्थ्य खराव हुँदै गयो । म जस्ता दीर्घ र अति सम्वेदनशील रोगीका लागि कोरोना अभिषाप भएर आयो । त्यही पनि ‘मर्ता क्या नही करता’ भनेर यहीँका स्थानीय हस्पिटल र डाक्टरहरुको शरण पर्यौ । एकवर्ष पछि २०७७ माघ २६ गते प्लेनको टिकट भयो बाघडोगराबाट चेन्नइको । चन्द्र भण्डारी काकाले टिकट र अस्पतालको एपोइन्मेन्ट उहाँको भतिज मार्फत् लिनु भयो र हामी लीना काकीका साथमा अन्तिम पटकको भेल्लोर यात्रामा निस्कियौँ । अन्तिम यस मानेमा कि अब कि त बाँच्न असम्भव छ या त ट्रान्सप्लान्ट या त डाइलोसिस गर्नु पर्छ । त्यसो हुँदा त्यहाँ अब फेरि गइरहनु पर्दैन ।

सबै चेकजाँच पछि डाक्टरले दुईवटा विकल्प मात्र रहेको सुझाउनु भयो, एउटा ट्रान्सप्लान्ट, अर्को डाइलोसिस । डाइलोसिस पनि दुई प्रकारको हुँदोरहेछ । एउटा हेमोडाईलोसिस र अर्को पेरिटोनियल डाईलोसिस । दोस्रो डाईलोसिस चाहिँ घरमा विमारी आफैले पनि गर्न मिल्ने रहेछ । त्यसका लागि पेटको अप्रेसन गरेर एक किसिमको झोला राखिदोरहेछ । एउटा मेशिन पनि चाहिँदो रहेछ । विमारीलाई यसबाट डाईलोसिस गर्ने तरिका सिकाएर विमारी सिपालु भएपछि मात्र घर पठाउने रहेछन् चिकित्सकले । त्यहाँ हामीलाई टेलिभिजनको स्क्रिनमा यस्तो डाईलोसिस गरेको दृश्य र यसका बारेमा भारतका नाम चलेका अस्पतालहरुका डाक्टरहरुले भनेको कुराहरु देखाइएको थियो । हेमोडाईलोसिस भन्दा पेरिटोनियल डाईलोसिस धेरै राम्रो र उपयुक्त हुने भनाई थियो डाक्टरहरको । तर त्यहाँ धेरै दिन बस्नु पर्ने, खर्च पनि बढी लाग्ने र यो सुविधा नेपालमा पनि भएकाले नेपालमै गएर दुईवटा विकल्पमध्ये एउटा विकल्प रोज्न भन्ने सल्लाह त्यहाँको नेफ्रोलोजिस्ट डाक्टर एन्ना टि भ्याल्सनले दिएपछि हामी नेपाल फर्कियौँ माघ ७, २०७७ मा ।

खर्चको व्यवस्थापन, जागिर र घरको तालमेल मिलाएर २०७७ फागुन ९ गते काठमाडौं हिड्यौ हामी । भोलिपल्ट सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा डाक्टरलाई भेटेर आवस्यक परीक्षण गरियो । परीक्षण पश्चात् फेरि डाक्टरलाई भेट्यौं । डाक्टरले ट्रान्सप्लान्टको योजना छ कि छैन भनि जिज्ञासा राखे । अल्टिमेटली ट्रान्सप्लान्ट नै गर्ने हो भनेपछि फेरि डाक्टरले भने ‘त्यसो हो भने दुई दुई चोटी किन अप्रेसन गर्नु ? डोनरलाई बोलाउनु र प्रारम्भिक परीक्षण गराई हाल्नु, तबसम्म हेमोडाईलोसिस गराउनु’ भन्ने सल्लाह डाक्टरबाट प्राप्त भयो । यसका लागि तुरुन्तै अप्रेसन थिएटरमा लगेर मेरो घाँटीमा अप्रेसन गरेर जुगल बनाइयो र डाइलोसिस सुरु गरियो । यसरी २०७७÷११÷११ गतेदेखि डाइलोसिस सुरु भयो मेरो ।

एक महिना काठमाडौंमा बसेर झापा भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा डाइलोसिस सुरु भयो भने उता भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणको प्रक्रिया पनि अघि बढ्दै थियो । दाताको सबै परीक्षण सकिएपछि डाक्टरले ‘बधाई छ, सबै चेकजाँचको प्रक्रिया सकियो अब कानुनी कागजात मिलाउन काउन्सिलिङ रुममा गएर के के कानुनी कागजातहरु चाहिन्छ सो कुरा बझेर जतिसक्दो चाँडो कानुनी कागजातहरु संकलन गरेर अस्पतालमा बुझाउनु’ भनी डाक्टरले भने पछि कान्छो छोरो प्रभात गएर सल्लाह गर्दा काका ससुराले भतिजी बुहारीलाई मानव अङ्ग दान गर्न कानुनले मिल्दैन भनेर प्रभातलाई भनेछन् काउन्सिलरले ।

यो कुरा पुत्र प्रभातले निराश हुँदै हामीलाई बताएपछि हामीलाई ठूलो झट्का लाग्यो । हाम्रो अगाडिको पृथ्वी भासिए झै, आकाश खसे झैं भयो । आशाको दियो निभ्न लागेझै भयो । एक त प्रतिदिन कमजोर हँुदै गएको मेरो स्वास्थ्य अवस्था अर्कोतिर प्रत्यारोपणको लागि दाताको सवै परीक्षण पूरा भएपछि कानुनी अड्चन हाम्री अगाडि तगारो भएर उभियो, जसलाई नाघेर अघि बढ्ने हाम्रो हैसियत र ल्याकत थिएन । यो कानुन पनि हामी जस्ता भुईँमान्छेलाई मात्र लागु हुँदोरहेछ, पावर र पहुँचवालालाई त कानुनको २० हातको टाँगोले पनि नछुँदो रहेछ । राज्य पनि हुनेखानेकै पक्षमा उभिदोरहेछ भन्ने आभाष भयो हामीलाई । यसरी कानुनी अड्चनले मेरो बाँच्ने आशाको त्यान्द्रो चुडिन्छ कि जस्तो भयो । अब भने सबै अन्धकार भएको जस्तै भयो, यति छिटो मरिन्छ जस्तो लागेको थिएन तर यो राज्यको कानुनले मलाई मार्ने भयो । राष्ट्र र राष्ट्रियताको मन्त्र जपे पनि हामीलाई केही भएन, मुलुकमा उपचार नपाएर मर्नु पर्ने भयो भनेर मन पोलिरह्यो । अब भने दाहिने हातबाट पनि डाइलोसिस नहुने भयो, देब्रे हात भने पहिले नै फिस्टुला बनाउँदा विग्रेर काम नदिने भएको थियो । घाँटीमा पहिले नै जुगल बनाएर डाईलोसिस भइसकेको हुँदा फेरि त्यहीँबाट गर्न नमिल्ने अवस्था थियो । अन्तिम विकल्पको रुपमा अब तिघ्रामा अप्रेसन गरेर फ्युमरल क्याथेटर बनाइयो । यसले बढीमा डेढ महिनासम्म मात्र काम गर्छ, त्यसबेलासम्ममा ट्रान्सप्लान्ट नगरे उपाय छैन । हाम्रो घर परिवारमा भुइँचालो गए झैँ भयो ।

(बाँकी अंश अर्को लेखमा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: