‘पुराणमा चन्दा दिनै पर्छ भन्ने छैन’

  प्रकाशित मिति
३० चैत्र २०७२, मंगलवार ०२:४६


lalit bohoraमेचीनगर–१ धुलावारीस्थित निन्दा नदीको तटमा अवस्थित रामघाटलाई तीर्थस्थलको रुपमा विकास गर्ने हेतुले नववर्ष २०७३ सालको बैशाख ३ देखि ९ गतेसम्म रामघाट सेवा समितिको परिसरमा श्रीमद् भागवत महापुराण आयोजना हुँदैछ । समितिका अध्यक्ष ललितकुमार बोहोरासँग महापुराण र रामघाटको विकासका विषयमा लोकतन्त्र पोस्टले लिएको अन्तर्वार्ता प्रस्तुत छ–

रामघाटमा पुराणको तयारी कस्तो हुँदैछ ?
निन्दा नदीको पवित्र तटमा रामघाट सेवा समितिले श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना गरेको छ । बैशाख ३ देखि ९ गतेसम्म हुने यस महापुराणलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी तीब्र रुपमा भइरहेको छ । तयारीको लगभग अन्तिम चरणमा हामी प्रवेश गरिसकेका छौँ ।

पुराण आयोजनाको उद्देश्य के के छन् ?
अधिकांश मानिसहरूले रामघाटलाई मान्छे मरिसकेपछि दाहसंस्कार गर्ने ठाउँको रुपमा मात्र बुझेका हुन सक्छन् । तर हिन्दू धर्म शास्त्र हेरौँ या अधिकांश ठूला तीर्थस्थल हेरौँ । दाहसंस्कार स्थल र तीर्थ स्थल एक अर्काका पूरक जस्तै पाउँछौँ । भारतको बनारसमै हेरौँ, पवित्र गङ्गा नदीको तटमा मणिकणिका घाट रहेको छ । त्यहीँ विश्वनाथ मन्दिर र गङ्गा स्नानस्थल रहेको छ । नेपालको देवघाट, पशुपति आर्यघाट, कन्काई आर्यघाट लगायत अनेकौँ उदाहरण छन्, जहाँ दाहसंस्कार स्थल र तीर्थस्थल एउटै थलोमा छन् । हामी पवित्र निन्दा नदी तटको रामघाटलाई प्रसिद्ध तीर्थस्थलको रुपमा विकसित गराउन प्रयासरत छौँ ।

कहाँको गङ्गा नदी अनि हाम्रो निन्दा नदी, महत्वका हिसावले फरक होला नि त ?
नेपालमा कयौँ नदी र धामहरू ओझेलमा छन्, जसको धार्मिक, ऐतिहासिक र पौराणिक महत्व अत्यन्त ज्यादा छ । भर्खरै मात्र चतरा धामले चारधामको जत्तिकै मान्यता पाएको हामीले थाहा पाएकै छौँ । त्यहाँ नेपालका एकमात्र जगद्गुरु विराजमान हुनुहुन्छ । देवभूमिको रुपमा नेपालका धेरै स्थलको खोज तथा अनुसन्धान हुन बाँकी छ । हिमालय पर्वतको काखमा रहेको नेपाल पवित्र देवभूमि, तपोभूमि हो भन्नेमा कुनै विमति हुनै सक्दैन । आजको सवाल कस्तुरीले आफ्नो नाभीबाट फैलिरहेको सुगन्ध नचिनेर भौतारिए जस्तै हामीले आफ्नैे आँगनमा रहेका धार्मिक स्थलको पहिचान गर्न सकेनौँ भन्ने मात्र हो । निन्दा नदीको वर्णन पुराणहरूमा गरिएको छ, विभिन्न शास्त्रीय पुस्तकहरूमा यसलाई माई, कोशी, गङ्गा जत्तिकै पुण्यस्थलको रुपमा महत्व प्रदान गरिएको छ । अब हामी यसको महत्व चिनाउने अभियानमा लागेका छौँ ।

पुराणबाट कति आर्थिक सङ्कलनको लक्ष्य राख्नु भएको छ ?
धेरै पैसा जम्मा गर्न हामीले पुराणको आयोजना गरेका होइनौँ । पुराण भन्ने वित्तिकै चन्दा बटुल्ने माध्यम जस्तो भएको विकृत दृश्य हाम्रो समाजमा नदेखिएको होइन । धार्मिक भावना जगाउन, आध्यात्मिक चिन्तन बढाउन र हाम्रा धार्मिक सम्पदाहरूको जगेर्ना गर्ने हेतुले पुराणहरूको आयोजना हुनु पर्छ भन्ने हाम्रो प्रष्ट मान्यता रहेको छ ।

रामघाटको विकासमा खर्च गर्न सहयोग त चाहिन्छ होला नि ?
सहयोग नै चाहिँदैन हामीले कहाँ भनेका छौँ र ! आज रामघाट जुन अवस्थामा छ, त्यसमा हाम्रा दाता महानुभावहरूको उदार मनको भावना गाँसिएको छ । भवन, हरित वाटिका र दाहसंस्कार स्थलको निर्माणमा स्थानीय समाजसेवी, उद्योगपति, व्यवसायी, सामाजिक संस्था, सरकारी निकाय र सयौँ व्यक्तिहरूको योगदान जोडिएको छ । आगामी दिनमा यसलाई अझ व्यवस्थित गर्न, तीर्थस्थलको रुपमा विकास गर्न उहाँहरूको सहयोग जरुरत पर्ने नै छ । पुराणमा आउँदा पैसा वा चन्दा तिर्नै पर्छ भन्ने मानसिकता नराखी सद्भाव बोकेर आइदिनु हुन हामी सम्पूर्ण भक्तजनलाई आग्रह गर्दछौँ । तपाईहरूले स्वेच्छाले दिनु भएको सहयोग रामघाट सेवा समितिले ग्रहण गर्ने छ । रामघाट समितिको आजीवन सदस्य बन्नका लागि हामी अनुरोध समेत गर्दछौँ ।

रामघाटलाई आगामी दिनमा कसरी विकास गर्ने योजना छ ?
हिजोका दिनसम्म रामघाटलाई मान्छे पोल्ने ठाउँकै रुपमा मात्र हेरिने गरिन्थ्यो । अब यसको स्वरुप, संरचना र पहिचान बदलिएको जोकोहीले पनि देख्न सक्छ । हामी रामघाटप्रति मानिसहरूको पुरानो सोँच बदल्न चाहन्छौँ । रामघाट मेचीनगरवासीको धार्मिक सम्पदा हुँदै हो, यसलाई झापा जिल्लाको महत्वपूर्ण तीर्थस्थलको रुपमा विकास गर्ने हाम्रो योजना छ । सबैको साथ सहयोग रहँदै गयो भने यी योजना सम्भव हुने छन् । जहाँसम्म रामघाट भविष्यमा कस्तो हुने छ भन्ने आम जिज्ञासा छ, त्यसलाई प्रष्ट पार्नु हाम्रो कत्र्तव्य हो । यहाँ हामी पितृमोक्ष स्तम्भ निर्माण गर्न चाहन्छौँ । यसको शिलान्यास यही पुराणमा हुने छ । राम र सीताले बालेको अखण्ड बत्तीको अग्नी ल्याएर हामी यहाँ अखण्ड दीयो स्थापना गर्दैछौँ । यसले यहाँको धार्मिक महत्व बृद्धि गराउने छ । भूतेश्वर महादेवको प्रतीमा स्थापना गर्ने, गौशाला बनाउने, वृद्धाश्रम सञ्चालन गर्ने, हरियाली बढाउने हाम्रो तत्कालीन एवम् दीर्घकालीन योजना छ । पुराणमा स्वेच्छाले प्राप्त हुने सहयोग हामी यही कार्यमा लगाउने छौँ ।

मेचीनगरवासीलाई तपाइको के अनुरोध छ ?
रामघाट सेवा समिति मेचीनगरवासीको साझा संस्था हो । रामघाटले हालसम्म सक्दो सामाजिक सेवा गरिरहेको छ । यो पुराण सफल पार्ने भूमिकालाई नगरवासीले आफ्नै साझा कत्र्तव्य सम्झेर सहयोग गरिदिनु हुने अपेक्षा गरेको छु । हामी कोही अध्यक्ष वा विभिन्न पदाधिकारी भएर खटिरहेका छौँ । हामी तपाइहरूका प्रतिनिधि मात्र हौँ । रामघाट तपाइहरूकै सम्पत्ति हो, यसको श्रीबृद्धिमा तपाइहरूकै सव्रिmयताको जरुरत छ । हामी मेचीनगर र झापा जिल्लाकै उद्योगी, व्यापारी, समाजसेवी, धर्मप्रेमी, सामाजिक संस्था लगायत सबैलाई पुराणमा उपस्थित भएर सफल बनाइदिनु हुन अनुरोध गर्दछौँ । यही मिडियामार्फत समेत म सबैलाई पुराणमा सव्रिmय उपस्थितिका लागि निमन्त्रणा गर्दछु ।

पुराणको विशेषता बारे केही बताइदिनु हुन्छ कि ?
श्रीमद् भागवत महापुराणको उद्घाटन इटहरीको प्रसिद्ध धार्मिक व्यक्तित्व १०८ स्वामी दिनबन्धु शास्त्रीले गर्नु हुने छ । पुराणको कथावाचक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पं. मुक्तिनाथ सुबेदी रहनु हुने छ । पुराणस्थलको मण्डप छेउमा दिवङ्गत आत्माहरूको तस्वीर राखेर मोक्षका लागि दिनहुँ अनुष्ठान गरिने छ । पितृमोक्षका लागि दीप प्रज्ज्वलन गरिने छ । निन्दा नदीमा आजसम्म जलाइएका व्यक्तिहरूको आत्माको मोक्ष तथा चिर शान्तिका लागि विशेष अनुष्ठान सम्पन्न गरिने छ ।

तपाईको सामाजिक सव्रिmयताको पनि सकारात्मक चर्चा हुन थालेको छ । कस्तो अनुभूति भइरहेको छ ।
म कुनै पद, प्रतिष्ठा र पैसा आर्जन गर्नका लागि सामाजिक गतिविधिमा लागेको होइन । परोपकार भावनाले मैले विगतदेखि नै असहायहरूको सेवा गर्दै आएको छु । अग्रज तथा मित्रहरूले रामघाट सेवा समितिमा नेतृत्व गरिदिन आग्रह गर्नु भएको कुरालाई मैले स्वीकार गरेको हुँ । म जुन काममा हात हाल्छु, त्यो पूरा गरेरै छाड्छु । म स्वच्छ भावनाले सामाजिक कार्य गर्नु पर्छ भन्ने मान्यता राख्छु । सामाजिक कार्यका लागि जुट्ने सहयोगको शतप्रतिशत सदुपयोगको म ग्यारेन्टी गर्छु । समाजमा बसेपछि मै लाउँ, मै मात्र लाउँ र मै मात्र खाउँ भन्ने स्वार्थी भावना राख्नु हुँदैन । धेरै कमाउनेले अलिकति समाजका लागि दान दिने हो भने सामाजिक कार्यमा ठूलो योगदान पुग्छ । म आफु होइन, संस्था सफल बनोस् र संस्थाकै सकारात्मक चर्चा परिचर्चा होस् भन्ने सोच राख्ने गर्छु ।

–मोहन काजीबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: