पुरानै पुस्तक पढाउने तयारी

  प्रकाशित मिति
२० बैशाख २०७७, शनिबार १४:५५


अर्जुन कार्की

मेचीनगर । वर्षैपिच्छे विद्यार्थीलाई प्रकाशन हाउसका नयाँ पुस्तक थमाउँदै आएका विद्यालयलाई कोरोना कहरका कारण यसवर्ष पुरानै पाठ्यक्रमका किताव पढाउनुपर्ने बाध्यता भएको छ ।

बन्दाबन्दीले विभिन्न प्रकाशनका नयाँ पुस्तक आउन ढिला हुने भएपछि विद्यार्थीको पढाइलाई मध्यनजर गर्दै विद्यालयहरुले गतवर्षकै पुस्तकहरु पढाउने भएका हुन् ।

मेचीनगर नगरपालिकाको नगर शिक्षा शाखाकोनिर्देशन अनुसार नगरका विद्यालयहरुले कक्षा ८ वाहेक १ देखि ९ कक्षासम्मको परीक्षाको नतिजा धमाधम प्रकाशित गरेका छन् ।

उनीहरुले कस्तो प्रकाशनको किताव पढाउने, कसरी पढाउने, भर्ना अभियान कसरी गर्ने लगायतका विषयमा व्यापक छलफल चलाउन सुरु गरेका छन् । यही छलफलको क्रममा अर्को किताब नआउञ्जेल पुरानै किताब पढ्न लगाइने भएको छ ।

मेची मोडल एकाडेमीका प्रिन्सिपल पुष्पराज पौडेलले यसवर्ष कुनै पनि नयाँ प्रकाशनको पुस्तक नपढाई पुरानै पुस्तक विद्यार्थीहरुलाई पढाइने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नै अभिभावक तथा उत्तीर्ण भएका सबै विद्यार्थीहरुलाई आफ्ना दाजु तथा दिदीले पढ्दै गरेका पुरानै पुस्तक पढ्न दिन अनुरोध गरेका छन् ।

लकडाउनले विद्यालय खुल्ने अवस्था यकिन नभएकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरिएको समेत प्रिन्सिपल पौडेलले जानकारी दिए ।

वर्षैपिच्छे विभिन्न नयाँ प्रकाशनका पुस्तक भिडाउँदै किताबको व्यापार चलाउँदै आएका विद्यालयहरुले यसपटक पुरानै पाठ्यक्रमका पुस्तक पढाउने भएपछि अभिभावकहरुले केही आर्थिक राहत महसुस गर्ने सम्भावना छ ।

‘वषैँपिछे विभिन्न प्रकाशनका किताव छोराछोरीलाई खरिद गरिदिनु पर्छ’, मेचीनगर–१० का रमेश साहले भने–‘पाठ्यक्रम भने प्रायः उस्तै हुन्छ । तर, प्रकाशन हाउस र कलरमात्र फरक छ । पुस्तकमा वर्षैपिच्छे खर्च हुन्छ । किताव र भर्नामा धेरै पैसा खर्च हुने गरेको छ ।’

उनले लकडाउनले घरमा खान नपुग्ने अवस्था सिर्जना भएको बेला पुरानै किताव चलाए राम्रो हुने धारणा राखे ।

प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालले गतवर्षकै प्रकाशनका पुराना पुस्तक पढाउने तयारी गरिएको जनाए । नगर र शिक्षा मन्त्रालयको निर्देशन अनुसार विद्यार्थीहरुको नतिजा प्रकाशित गर्ने कार्य भइरहेको उनको भनाई छ ।

वैशाख २५ गतेपछि लकडाउनको अवस्था खुकुलो भएछ भने शिक्षा मन्त्रालयको निर्देशन अनुसार सामाजिक दुरी कायम गरेर कक्षा सञ्चालन गर्न सकिने अध्यक्ष रुचालले बताए ।

यता एन–प्याब्सन झापाका पूर्व अध्यक्ष सञ्जिव राईले शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रको अनुमतिमा प्रकाशन हाउसको पुस्तक पढाउने गरिएको बताए । उनले नयाँ पुस्तक आए नयाँ नै प्रयोगमा ल्याउनु् पर्ने बताए ।

‘वर्षैपिच्छेका प्रकाशनका पुस्तक फरक–फरक हुन्छन्’, राईले भने–‘पुराना र नयाँमा विषय अलिक फरक हुन्छ । किनभने सामाजिक, गणित, अङ्ग्र्रेजी विषयका पुस्तकमा सामग्री केहि फरक खालको आउने गर्छ ।’

लकडाउनको अवस्थालाई मध्यनजर गरेर विद्यार्थीलाई वेसिक अनलाइन कक्षा सञ्चालन गरिने उनले बताए ।

मेचीनगर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले कक्षा १ कोे पाठ्यक्रम परिर्वतन हुन सक्ने बताए । तर, अन्य कक्षाका पाठ्यक्रम परिर्वतन नहुने उनले दावी गरे । पुरानै पाठ्यक्रमका पुस्तक पढाउन सकिने उनको भनाई छ ।

सामुदायिक विद्यालयका पुस्तक आउन समय लाग्ने भएकाले कक्षा सञ्चालन पनि ढिलो हुने भण्डारीको बुझाई छ ।

‘पुरानो वा नयाँ पाठ्यक्रमका पुस्तक पढाउने विषयमा सरकारले निर्णय गर्छ’, एन–प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईले भने–‘लकडाउन २५ गतेदेखि खुकुलो हुने भएछ भने आगामी जेठ १५ गतेदेखि पढाइ सुरु गर्दा हुन्छ ।’

कस्तो प्रकाशनको किताव विद्यार्थीलाई पढाउने, कक्षा सञ्चालन कसरी गर्ने, भर्ना अभियान कसरी गर्ने लगायतका विषयमा छलफल जारी रहेको अध्यक्ष राईले बताए ।

अबको कितावमा नयाँ कन्टेन्ट आउन पनि सक्ने भएकाले एन–प्याब्सन ‘पर्ख र हेर’को अवस्थामा रहेको उनको भनाई छ ।

उनले अनलाइन कक्षा सञ्चालन प्रभावकारी विषय भए पनि सबै अभिभावकको पहुँचको कुरा नभएको दावी गरे । उनका अनुसार सबै विद्यार्थी अनलाइन कक्षा लिन सक्ने अवस्थाको नहुन सक्छन् ।

मेचीनगर–९ स्थित होलीवेल इङ्लिस सेकेन्डरी स्कुलले वैशाख पहिलो हप्तादेखि अनलाइन कक्षा सुरु गरेको प्रिन्सिपल अणु प्रधानले बताए ।

मन्टेश्वरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई पुरानै पाठ्यक्रमका पुस्तकबाट अनलाइन कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: