पुरुषलाई टक्कर दिँदै फुलमति

  प्रकाशित मिति
२३ जेष्ठ २०७४, मंगलवार १०:००


झापा । ‘नमस्कार म फुलमति राजबंशी, गाउँपालिका अध्यक्ष पदको उम्मेद्वार !’ खेतीकिसानी गर्दै गाउँमा हुर्किएकी फुलमति राजवंशी यतिबेला गौरीगञ्ज गाउँपालिकाको टोलटोलमा भोट माग्दै यसरी नै हिँडिरहेकी भेटिन्छिन् ।

नेपाली काङ्ग्रेसले झापाको १५ तहमध्ये उनलाई मात्र प्रमुख पदमा उम्मेद्वार बनाएको छ । यसमा उनी जति खुशी छिन्, उनका समर्थक र दक्षिण पश्चिम झापाको सीमान्त क्षेत्र गौरीगञ्जमा पनि खुशीयाली नै छाएको छ ।

गौरीगञ्ज गाउँपालिका आदिवासी जनजातिको वाहुल्य रहेको कलस्टर मानिएको छ । जहाँ राजबंशी, ताजपुरिया, गनगाई, सन्थाल लगायतका थुप्रै आदिवासी समुदाय बसोबास गर्छन् । एकातिर आदिवासी र अर्कोतिर महिलाको प्रतिनिधित्व गरेका कारण उनी यतिबेला झापावासीमाझ चर्चित छिन् ।

फुलमतिले सो क्षेत्रमा नेकपा एमालेका श्याम ढकाल, नेकपा माओवादी केन्द्रका विद्यानन्द राजवंशी र राप्रपाका बाबुराजा श्रेष्ठसँग अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धा गर्नु पर्ने छ । सबै प्रतिस्पर्धी उम्मेद्वार पुरुष छन् ।

पुरुष नेतृत्वसँग भिड्ने आँट बोकेकी उनलाई आम महिलाले पार्टीभन्दा माथि उठेर सहयोग पुर्याउने अपेक्षा छ । भन्छिन्–‘जहाँ जहाँ भोट माग्दै जनताको घरदैलोमा जान्छु, सबैले मलाई मन पराउनु भएको पाएँ ।’

उनको क्षेत्रमा अध्यक्ष बन्ने दौडमा पुरुष प्रतिष्पर्धीहरु थिए । टिकट पाउन उनले निकै ठूलो सङ्घर्ष गर्नु पर्यो । ‘पार्टीले आदिवासी जनाधार र मेरो लोकप्रियता मूल्याङ्कन गरेर नै उम्मेद्वारी दिएको हो’–उनी भन्छिन् ।

धेरैपटक पुरुषको नेतृत्व हेरिसकेको गौरीगञ्ज यसपटक महिलाको नेतृत्व हेर्न आतुर रहेको बताउँदै उनी भन्छिन्–‘मैले जितेमा आदिवासीहरुको हितमा काम गर्ने छु, अनि पिछडिएको क्षेत्र भएकाले गाउँको विकास र उत्पीडित समुदायको उत्थानमा लाग्ने छु ।’

२०३३ सालमा आमा शान्तिदेवी राजवंशी र बुबा सहिलाल राजवंशीकी जेठी सुपुत्रीको रुपमा जन्मिएकी फुलमतिले १२ कक्षासम्मको अध्ययन गरेकी छिन् । उनले १३ बर्षको उमेरदेखि नै नेपाल विद्यार्थी सङ्घको सक्रिय कार्यकर्ता भएर काम गरेको बताइन् ।

उनी तत्कालीन खजुरगाछी गाउँ विकास समिति महिला सङ्घकी सभापति, क्षेत्रीय प्रतिनिधि र आदिवासी जनजाति सङ्घको जिल्ला उपाध्यक्ष समेत भइसकेकी हुन् । हाल उनी पार्टीको महासमिति सदस्य हुन् ।

उनले आफूले चुनाव जितेमा गौरीगञ्जमा सिंचाईको विकासमा जोड दिने बताइन् । आदिवासी जनजातिको कलस्टर क्षेत्रकै रुपमा रहेको गौरीगञ्जका युवा तथा महिलाहरुलाई स्वरोजगार बनाउने, चेतनास्तरमा बृद्धि गर्ने समेत योजना रहेको फुलमतिले सुनाइन् ।

राजवंशीले भारतसँग सीमा जोडिएको गाउँपालिका भएको हुँदा पनि गौरीगञ्जमा रहेको छोटी भन्सारलाई व्यवस्थित र चलायमान बनाएर आयस्रोत बढाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: