पुस्तकालय छन्, पाठक छैनन्

  प्रकाशित मिति
१४ भाद्र २०७५, बिहीबार १०:०७


राष्ट्रिय त्रिफला पुस्तकालय

भद्रपुर । २००७ सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २००८ सालमा स्थापना गरेको भद्रपुर पुस्तकालय विगतमा चर्चित रहे पनि हाल गुमनाम छ ।
ऐतिहासिक महत्व बोकेको ६७ वर्ष पुरानो झापाको यो पुस्तकालय विगत दुई दशक यता पाठकविहीन अवस्थामा छ ।

‘पढ्न भनेर कोही आउँदैनन्, सरकारले समेत यसको संरक्षण र सञ्चालनमा कुनै ध्यान दिएको छैन’–भद्रपुरबाट प्रकाशित नौलो आवाज पत्रिकाका सम्पादक दिपक अधिकारी बताउँछन् ।

पश्चिम झापाको गौरीगञ्जमा २०११ सालमा स्थापना भएको अर्को ऐतिहासिक महत्वको त्रिभुवन आदर्श पुस्तकालय समेत पाठक गुमाएर सङ्कटबाट गुज्रिरहेको छ ।

खजुरगाछी बजारमा २ कठ्ठा जग्गामा निर्माण भएको एक तले पक्की भवनमा एक हजार पुस्तक सङ्ग्रहित यो पुस्तकालयको गौरादह–९ मा आफ्नै स्वामित्व रहेको खेतीयोग्य ३ विगाहा जग्गा छ ।
एक जना कर्मचारीले विहान र बेलुका पुस्तकालय खुला गरेर नियमित रेखदेख गर्दै आए पनि पुस्तक पढ्ने पाठकहरु भने आकर्षित हुन सकेका छैनन् ।

त्रिभुवन पुस्तकालय गौरीगञ्ज

२०४५ सालमा मदन पुरस्कार विजेता साहित्यकार दौलतविक्रम विष्टले ३ वर्षसम्म गौरीगञ्जमा बसेर यही पुस्तकालयमा साहित्य साधना गर्नु भएको थियो ।

मुलुकभरमै कहलिएको मेचीनगरको त्रिफला राष्ट्रिय पुस्तकालय र गौरादहको गौरादह सामुदायिक पुस्तकालयले पनि पाठक नपाउने समस्या झेलिरहेका छन् ।

भौतिक साधन स्रोतले सक्षम भए तापनि यी पुस्तकालयप्रति अध्ययनमा रुचि राख्ने नयाँ पुस्ता आकर्षित नहुँदा पुस्तकालय सुनसान भएका छन् ।

मेचीनगर वडा नं. १० धुलावारीमा २०५३ सालमा सन्त स्वाभावका प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ले धार्मिक पुस्तक संरक्षण गर्ने उद्देश्यले घुम्ती पसलबाट त्रिफला राष्ट्रिय पुस्तकालयको स्थापना गरेका थिए ।

दातासँग हात थापेर उहाँले पुस्तकालयका लागि २ कठ्ठा ५ धुर जग्गामा भब्य ३ तले पक्की भवन बनाउन सफल भए । भवनको भुइँ तलामा कम्प्युटर, प्रिन्टर र इन्टरनेट उपकरणसहितको सूचना केन्द्र, वाचनालय र पुस्तक सङ्ग्रहालय छ ।

भवनको विच तलामा आकर्षक सभा हल सञ्चालनमा छ भने माथ्लो तलामा आवासहितको वाचनालय निर्माणाधीन छ । करीव ५ करोडको सम्पत्ति जोडिसकेको क्रिफला पुस्तकालयले भोगिरहेको सबैभन्दा ठूलो चुनौति भनेकै पाठक आकर्षित गर्न नसक्नु हो ।

‘४५ हजार पुस्तक र पत्रपत्रिका छन्, एक जना कर्मचारी खटाएका छौँ’, पुस्तकालयका अध्यक्ष फलाहारी भन्छन्–‘महिनामा मुस्किलले ९० देखि सयको हाराहारीमा मात्र पढ्ने पाठक आउँछन् ।’
साहित्यिक दिवसहरुमा विभिन्न कार्यक्रम गरेर त्रिफलाले पाठकहरुलाई पुस्तकालयभित्र छिराउने प्रयास गरे तापनि पुस्तक पढ्नै भनेर आउने पाठकको सङ्ख्या एकदमै न्यून रहेको अध्यक्ष फलाहारी स्वीकार गर्छन् ।

२००७ सालमा प्रजातन्त्र आउनु अघि नै पूर्वी नेपालमा भैरवप्रसाद आचार्य गभर्नर रहेको पहिलो समानान्तर सरकार गठन भएको इतिहास छ । सो सरकारको शिक्षामन्त्री थिए–भाषाशास्त्री महानन्द सापकोटा ।

भाषाशास्त्री सापकोटाकै पहलमा २००८ सालमा स्थापना भएको देशकै चर्चित भद्रपुर पुस्तकालयमा पुस्तक पढ्न भनेर २०५७ सालदेखि एउटा पनि पाठकले ढोका ढक्ढक्याएको छैन ।

भद्रपुर–५ मा १० धुर आफ्नै जग्गामा दुई तले पक्की भवनमा सञ्चालित भद्रपुर पुस्तकालयको माथ्लो तलामा पुस्तक सङ्ग्रह छ भने भुइँतलाका कोठाहरु स्थानीय सब्जी व्यापारीले जबरजस्ती प्रयोग गरिरहेका छन् ।

पुस्तकालय कोठाको झ्यालढोका काम नलाग्ने अवस्थामा छन् भने भवनको छतबाट पानी चुहिन्छ । त्यहाँ राखिएका किताबहरु कीरा र मुसाले ढुट्याइसकेका छन् ।

२०५७ सालदेखि चल्न नसकेर ढोकामा लगाइएको ताला खोल्न २०६७ सालमा हालका प्रदेश सांसद ओमप्रकाश सरावगी र २०७० सालमा समाजसेवी हुलासचन्द्र सरियाको नेतृत्वमा पहल गरिएको थियो । तर पुस्तकालयको ताला अझसम्म खुलाउन सकिएको छैन ।

इतिहास बोकेको यो पुस्तकालयको संरक्षण र सञ्चालन गर्ने जिम्मेवारी अब स्थानीय सरकारको काँधमा आएको बताउँछन् स्थानीय पत्रकार दिपक अधिकारी ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवन श्रेष्ठले भद्रपुर पुस्तकालय विगतमा राजनीतिक खिचातानीका कारणले धराशायी भएको बताए ।

‘विगतमा जे भए पनि यो पुस्तकालय भद्रपुरको सम्पत्ति हो र यसलाई पुनः सञ्चालन गर्ने विषयमा हामी छलफल गरिरहेका छौँ’–नगर प्रमुख श्रेष्ठ भन्छन् ।

रिड नेपालले कुनै समय नेपालकै उत्कृष्ट सामुदायिक पुस्तकालय भनी सम्मान गरेको गौरादह सामुदायिक पुस्तकालयमा दुई वर्ष यता एउटा नयाँ पुस्तक पनि थपिएका छैनन् ।

२०५५ सालमा आफ्नै एक कठ्ठा जग्गामा बनेको पक्की एक तले भवनमा सञ्चालन हुँदै आएको सो पुस्तकालयमा सात हजार ७१३ वटा पुस्तक दर्ता छन् भने ई–लाइबे्रेरीका लागि भनेर दाताबाट प्राप्त ४ वटा कम्प्युटर प्रयोगविहीन छन् ।

पाठकको रुचि अनुसारका नयाँ पुस्तक थप्न नसक्नु र स्थानीय सरकारले वेवास्ता गरेका कारण गौरादह पुस्तकालय पाठकविहीन बन्दै गएको संस्थापक भोजराज दाहाल बताउँछन् ।

पाठक नपाएर झापाका ८ वटा पुस्तकालय हालसालै बन्द भएको पुस्तकालय सङ्घ झापाका अध्यक्ष प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ले जानकारी दिए ।

चन्द्रगढीको लेखनाथ पुस्तकालय र दमकको पब्लिक लाइब्रेरी स्थानीय साहित्यकार तथा युवा पाठकहरुको सक्रियतामा राम्रैसँग सञ्चालन भइरहेका छन् ।

भाषाविद् चुडामणि रेग्मी लगायतको अगुवाइमा २०३५ सालमा स्थापना भएको लेखनाथ पुस्तकालयमा सबै विधाका ५ हजार भन्दा बढी पुस्तक सङ्ग्रह गरिएको पुस्तकालयका सचिव कृष्ण सुबेदी निकारार बताउँछन् ।

२०६९ सालमा स्थापित दमकको पब्लिक लाइब्रेरीमा छ हजार पुस्तक रहेको र पाठकका रुचि समेट्ने खालका नयाँ पुस्तक समेत राखिएका कारण पाठक नघटेको अध्यक्ष भेषराज न्यौपानेले बताए ।
राजनीतिक, सामाजिक र शैक्षिक रुपमा अग्रणी जिल्लाको रुपमा चिनिएको झापामा २००७ सालको परिवर्तनपश्चात दर्जनौँ स्थानमा पुस्तकालय खोलिएका थिए ।

प्रजातन्त्रमाथि प्रतिबन्ध लगाइएको पञ्चायतकालीन अवस्थामा समेत झापाका चेतनशील युवाहरुले गाउँ गाउँमा पुस्तकालय र वाचनालय खोलेर राजनीतिक आन्दोलनलाई उर्जा भर्ने कार्य गर्दथे । तर अहिले नयाँ पुस्तकालय खोल्ने क्रम ठप्प जस्तै छ भने पुराना र ऐतिहासिक महत्व बोकेका पुस्तकालय समेत बन्द हुने अवस्थामा पुगेका छन् ।

रिडर्स झापाका उपाध्यक्ष दामोदर ढुङ्गेल पुस्तकालय नचले पनि पठन संस्कृति बढ्दै गएको धारणा व्यक्त गरे । पुस्तकालयहरु पुरानो ढाँचामा चल्ने गरेका र त्यहाँ नयाँ पुस्ताका पाठकले रुचाउने किताब नै नभएका कारण झापाका पुराना पुस्तकालयहरु बन्द हुँदै गएको उनको विश्लेषण रहेको छ ।
पत्रपत्रिका र पुस्तकको विक्री बढ्दै गएको र सर्वसाधारणमा समेत इन्टरनेटको पहुँच बढेकोले सञ्चारका नयाँ प्रविधिको प्रयोगमा रमाउन थाल्दा पुस्तकालय नै धाएर किताब तथा पत्रपत्रिका पढ्ने रुचि आम पाठकमा घटेको रिडर्स झापाका उपाध्यक्ष ढुङ्गेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: