बिर्तामोड, वैशाख १०। विश्व पुस्तक दिवसको अवसरमा वीरता जेसीजले आज सोमबार बिर्तामोडमा अन्तरक्रिया तथा सार्वजनिक पुस्तकालयलाई तीन सय बढी पुस्तक हस्तान्तरण कार्यक्रम गरेको छ ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालको प्रमुख आतिथ्यमा भएको समारोहमा बिर्तामोड–१० स्थित ज्ञानकुञ्ज सार्वजनिक पुस्तकालयलाई तीन सय बढी पुस्तक हस्तान्तरण गरिएको हो । पुस्तकालयका अध्यक्ष ओमप्रकाश श्रेष्ठसहित समितिका पदाधिकारीलाई वीरता जेसीजले ऐतिहासिक महत्व तथा समसामयिक विषयवस्तुका पुस्तक हस्तान्तरण गरेको थियो ।
कार्यक्रमका वक्ताले आधुनिकतासँगै पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै पठन संस्कृति बढाउन पुस्तक दिवसमा वीरता जेसीजको कार्यक्रम सान्दर्भिक रहेको चर्चा गरे । उनीहरुले पुस्तक पढ्ने बानीले मानिसको बौद्धिक स्तर, व्यक्तित्व क्षमता विकास हुनुका साथै पुस्तकले मानिसको जीवन नै परिवर्तन गर्ने समेत बताए । आफ्नो पेशा, व्यवसाय र जीवनका लागि उपयुक्त पुस्तक पढ्न र नियमित पुस्तक पढ्ने बानी बसाउन उनीहरुले जोड दिए ।
प्रमुख अतिथि अग्रवाल, वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेल, पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक तथा शिक्षासेवी लक्ष्मण ढकाल, विचारकुञ्ज पुस्तकका लेखक चन्द्रकान्त ढकाल, पुस्तकालयका अध्यक्ष श्रेष्ठ, रोट्ट्रयाक क्लव अफ बिर्तामोडका सुवास पोद्दार लगायतले मन्तव्य राखेका थिए ।
वीरता जेसीजका अध्यक्ष गिरीले पुस्तकालयलाई पुस्तक उपहार दिएर जेसीजले पुस्तक दिवस मनाएको चर्चा गरे । वीरता जेसीजले पहिलो पटक पुस्तक दिवस मनाएको हो । जुनसुकै उमेर समूहका मानिसले पनि पुस्तक पढ्दा केही न केही नयाँ खुराक र जीवनका लागि सकारात्मक उर्जा प्राप्त गर्ने सो अवसरमा बताइयो ।
कार्यक्रम संयोजक दिवाकर प्रसाईंले स्वागत गरेको समारोहको सञ्चालन महासचिव विनोद पाण्डेले गरेका थिए । कार्यकारिणी उपाधयक्ष मिजास पोखरेलले जेसीआई मिसन र भिजन वाचन गरेका थिए भने तालिम संयोजक विकास बस्नेतले नेपाल जेसीज र वीरता जेसीजको यस वर्षको थिम वाचन गरेका थिए । कोषाध्यक्ष जीवन खड्काले आस्था वाचन गरेका थिए ।
पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तरक्रिया वा पुस्तक उपहार दिएर यो दिवस मनाउने चलन छ । अध्ययन, प्रकाशन र बौद्धिक अधिकारलाई प्रबद्र्धन गर्न युनेस्कोको आह्वानमा सन् १९९५ देखि हरेक वर्ष अप्रिल २३ का दिन विश्व पुस्तक एवम् बौद्धिक अधिकार दिवस मनाइँदै आएको छ ।
सोमबार नै विश्व प्रतिलिपि अधिकार दिवस पनि मनाइएको छ । बेलायतका कवि, नाटककार तथा अभिनेता सेक्सपियरको जन्म र स्मृति दिवस पनि यसैदिन पर्दछ । कार्यक्रममा रोटट्रयाक क्लव अफ बिर्तामोडका अध्यक्ष बसन्त बुढाथोकी, वीरता जेसीजका पूर्व अध्यक्ष किरण श्रेष्ठ, भक्तराज भारती लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले वीरता जेसीजले विश्व पुस्तक एवम् बौद्धिक अधिकार दिवस मनाउन शुरु गरेर उदाहरणीय काम गरेको भनी प्रशंसा गरेका थिए ।