‘पुस्तक मन परेमा जति पनि खर्च गर्छु’

  प्रकाशित मिति
२५ पुष २०७२, शनिबार ०५:२७


sima

सीमा आभास नेपालको साहित्यिक फाँटमा सशक्त नारीबादी स्रष्टाको रुपमा सुपरिचित नाम हो । ‘बैरागी काइँलालाई कविता पत्र’ उहाँको चर्चित कविता हो । विराटनगर निवासी उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आएकी छन् । ‘साँझको सङ्घारबाट’ कविता सङ्ग्रह र ‘टापुका स्वरहरू’ कथा सङ्ग्रह प्रकाशित गरिसकेकी उनको नयाँ कविता सङ्ग्रह पनि छिटै आउँदैछ । उनीसँग लोकतन्त्र पोस्टले गरेको ‘पुस्तक वार्ता’ प्रस्तुत छ ः–

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
अभि सुवेदीको ‘फ्लानरको डायरी’ र रोशन दाहालको ‘काँचुली’ उपन्यास पढ्दैछु ।

कस्ता पुस्तक बढी मन पर्छन् ?
जोकदेखि धर्मशास्त्रसम्मका राम्रोसँग लेखिएका सबै पुस्तकहरू मन पर्छन् ।

मन परेको नेपाली लेखक ?
कृष्णभूषण बल, बैरागी काइँला, पारिजात, शङ्कर लामिछाने लगायतका लेखकहरू ।

साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
सबैलाई एकै बिधा मन पर्दैन । कसैलाई कविता, कसैलाई कथा, कसैलाई इतिहास, कसैलाई उपन्यास, कसैलाई जोक आदि इत्यादि मन पर्ने भएकाले यहि भन्ने त छैन । तर सबैले पढ्नैपर्ने पुस्तक ‘गीता’ र ‘महाभारत’ हो जस्तो लाग्छ ।

पुस्तक खरिदमा मासिक कति खर्च हुन्छ ?
हिसाब छैन । पुस्तक मन पर्यो भने जति पनि खर्च गर्छु, मन परेन भने खर्चै गर्दिनँ ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
आइए पढ्दाताका महाभारतको किताब किन्न गएँ । मसँग मसँग महाभारत किन्न पुग्ने पैसा रहेनछ । किताब हेरेर म हिँडेँ । एकजना पण्डितले यो पुस्तक किन हेरेर छोडेको भन्नु भो । किन्न नसक्ने रै’छु भनेँ । किन किन्ने भन्नु भो । पढ्न भनेँ । अनि घरमा लगेर मलाई पुस्तक दिनु भो । र, मैले पुरै महाभारत पढेँ । आजसम्म पनि पुस्तक फिर्ता दिएकी छैन । दिनै मन लागेन ।
पुस्तक पढ्ने उपयुक्त समय ?
फुर्सद र मुड चलेको बेला जहिले पनि पढ्छु ।

पढिसकेपछि पुस्तक कसरी जतन गर्नु हुन्छ ?
डेराको बसाई भएकाले विजोक गरी राखेकी छु । हेरौँ कुनै दिन राम्रोसँग पुस्तक राख्न सकिएला ।

पढ्न मन लागिरहेको पुस्तक ?
ईश्वर बल्लभको ‘आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्’ । मैले कति खोज्दा पनि यो पुस्तक पाउन सकेकी छैन ।

कुनै पुस्तक लेख्दै हुनुहुन्छ कि ?
कविता सङ्ग्रह तयारी छ । देशको अवस्था ठिक भएपछि छाप्ने तयारीमा छु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: