‘पुस्तक मेरो साथी हो’

  प्रकाशित मिति
१२ पुष २०७२, आईतवार ०७:३४


 

madav copy

जिल्ला सहकारी डिभिजन कार्यालय झापाको प्रमुख माधव पोखरेल जिल्लाका सरकारी कार्यालय प्रमुखमध्ये कुशल वक्ताको रुपमा परिचित हुनुहुन्छ । उहाँका लेख रचना समेत पत्रपत्रिकामा प्रशस्तै प्रकाशित हुने गरेका छन् । प्रस्तुत छ उहाँसँग अम्बिका भण्डारीले लोकतन्त्र पोस्टको ‘शनिवार’का लागि लिएको ‘पुस्तक वार्ता’–

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
अहिले नेपाल सरकारका पूर्व सचिव खेमराज नेपालले लेख्नुभएको ‘समाज, संस्कार र शासन’ भन्ने पुस्तक पढ्दैछु । सार्वजनिक प्रशासन क्षेत्रको राम्रा र सुधार गर्ने विषयहरू यसमा उदाहरणसहित समेटिएका छन् ।

कस्ता पुस्तक बढी मन पर्छन् ?
मलाई योगी तथा उच्च कोटीका साधकहरूको जीवनी समेटिएका पुस्तकहरू ज्यादा मन पर्छन् । यस्ता पुस्तकले मानव जीवनको अध्यात्म र जीवन दर्शनको मुख्य पाटाहरूलाई समेटेको हुन्छ । सार्वजनिक प्रसासन कर्मक्षेत्र भएको र विद्यार्थी पनि यहि विषयको भएकोले शासकीय व्यवस्थापनका पुस्तकहरू पनि पढ्ने गर्छु ।

मन परेको नेपाली लेखक ?
खगेन्द्र सङ्ग्रौलाको लेखनी मन पर्दछ । उहाँको कुनै विषयमाथि गरिएको तिखो आलोचनामा प्रयोग हुने शव्द मौलिक हुन्छन् । जुन दोहो¥याई तेहो¥याई पढ्न खुव आनन्द आउँछ ।

साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
पुस्तक धेरै छन् । त्यसमा पनि मैले सिफारिस गर्ने पुस्तकमा योगी निखिलेश्वरानन्द (श्री नारायणदत्त श्रीमाली)ले लेख्नु भएको ‘कहिँ दुर पायल खनकि’ भन्ने हो । प्रेममा आधारित विषय जस्तो पुस्तकको नाम भए पनि अति उच्च कोटिको पुस्तक हो भन्ने मलाई पढ्दा अनुभूत भएको छ । उहाँका हरेक पुस्तक पठनीय र सङ्ग्रहणीय छन् ।

पुस्तक खरिदमा कति खर्च हुन्छ ?
यसको हिसाव सामान्यतया गर्ने वानी मेरो छैन । उपहारको रुपमा साथीलाई पुस्तक नै दिने गर्छु । यस्तै वर्षको बीस हजार त खर्च हुन्छ होला । मलाई पुस्तक किनेको रकम ‘खर्च’ भन्दा पनि ‘आय’ चाहिँ हो जस्तो लाग्छ ।

पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
त्यस्तो अविस्मरणीय घटना त खैँ छैन भन्नुपर्छ । कहिलेकाहिँ एकथरि पुस्तक किन्न भनेर गयो, घर फर्किँदा अर्कै लिएर चाहिँ धेरै पटक आएको छु ।

पुस्तक पढ्ने उपयुक्त समय ?
ठ्याक्कै यहि हो भन्ने त छैन । अधिकांश त राती पढ्ने गरिन्छ । मेरा लागि एक्लो महसुस हुँदा पुस्तक नै साथी हुन्छ ।

पुस्तकको जतन कसरी गर्नु हुन्छ ?
पुस्तक किन्ने अनि पढ्ने त्यसपछि बाँड्ने चलनले होला हातमा पुस्तक त्यति अडिँदैन । भएका पुस्तकहरू पनि अव्यवस्थित रुपमा छन् । घरमा व्यवस्थापन गर्ने सानो पहल त गरेको छु तर त्यो अस्थायी रुपको छ ।

पढ्न मन लागिरहेको पुस्तक ?
रमण महर्षि एक जना उच्च कोटीको योगी हुनुहुन्थ्यो । उहाँको जीवनी र भारतीय समाजमा उहाँको योगदान लगायतका विषय समेटिएको पुस्तक पढ्न मन लागेको छ ।

कुनै पुस्तक लेख्दै हुनुहुन्छ कि ?
म पुस्तक लेखाइमा त आजकल छैन तर मेरो पिताजी तुलसी आत्रेय कविता रच्नुहुन्छ । अहिले उहाँको प्रकाशोन्मुख कृति ‘किसानका कविता’को सम्पादनको काम गर्दैछु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: