भद्रपुर । भद्रपुर–९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयमा लक्ष्मी अधिकारी स्मृति अक्षयकोष स्थापना भएको छ ।
सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत् छात्रा लक्ष्मी अधिकारीको २०६६ साल पुस २२ गते बिद्यालयबाट घर जाने क्रममा टेम्पोको ठक्करले असामयिक निधन भएको थियो ।
तिनै विद्यार्थी लक्ष्मीको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक शिवराम लुइँटेलले बताए । कोषको व्याजबाट विद्यार्थीलाई वर्षेनी छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
अक्षयकोषका लागि आठ वर्ष अघि चारआलीस्थित टेम्पो यातायात व्यवसायीहरुको सङ्घले ५० हजार रुपैयाँ दिएको थियो । सोही रकमबाट अक्षयकोष स्थापना गर्न लक्ष्मीका बुवा उद्धव अधिकारीले विद्यालयलाई आग्रह गरेका थिए ।
अक्षयकोष स्थापनामा विलम्ब भएपछि लक्ष्मीको परिवार र विद्यालयविचको असमझदारी अन्त्य गर्न मङ्गलवार विद्यालयमा विद्यालय प्रशासन, व्यवस्थापन समिति, जनप्रतिनिधि र पत्रकारहरुको बैठक बसेको थियो ।
प्रअ लुइँटेलको अध्यक्षतामा बसेको बैठकले दुईपक्षविचको असमझदारी अन्त्य गर्दै अक्षयकोषलाई अघि बढाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।
बैठकमा बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष दुर्गा भट्टराई, भद्रपुर–९ का कार्यवाहक अध्यक्ष राम दाहाल, शिक्षक अभिभावक सङ्घका अध्यक्ष सरोज निरौला, रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, पूर्व विद्यार्थी प्रतिनिधि मोहन काजी, बिद्यालय ब्यवस्थापन समिति सदस्य ज्ञानेन्द्र कटुवाल, शिक्षक भगिरथ नेपाल, स्वर्गीय लक्ष्मी अधिकारीका बुवा उद्धव अधिकारी, बिद्यालयका प्रधानाध्यापक शिवराज लुइँटेल लगायतको सहभागिता थियो ।