ओली र कार्कीकै जिल्लामा सुरु भयो एकीकरण

  प्रकाशित मिति
९ बैशाख २०७५, आईतवार १६:४५


मेचीनगर । केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाई भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र माओबादी केन्द्रविच आइतबार एकीकरण घोषणा गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको वडा नं. १० मा एमाले र माओबादी वडा कमिटीविच एकीकरण गरिएको हो ।

पार्टीको केन्द्रीय नेतृत्वले आजकै अवसर पारेर एकीकरण गर्ने पहिल्यै घोषणा गरिसके पनि हाल झिनामसिना विवाद निकालेर अलमल भइरहेको हुँदा केन्द्रमा समेत दवाव सिर्जना गर्न वडा तहमा दुबै कमिटी मर्ज गरेर नयाँ कमिटी घोषणा गरिएको नेकपा एमाले झापा जिल्ला कमिटीका सल्लाहकार सदस्य भीम खवासले बताए ।

आज विहान धुलावारी बजारमा दुबै पार्टीका कार्यकर्ताहरुले संयुक्त रुपमा र्याली निकाल्नुका साथै कोणसभा र पत्रकार सम्मेलन गरेका छन् ।

कोणसभामा प्रकाश खड्काको संयोजकत्वमा ७७ सदस्यीय नयाँ कमिटी घोषणा गरिएको थियो । खड्का यस अघि नेकपा एमाले मेचीनगर वडा नं. १० का अध्यक्ष थिए ।

यस अघि माओबादी केन्द्रको वडा कमिटीका अध्यक्ष रहेका दलबहादुर कट्टेलले केन्द्रमा एकीकरण गर्न विलम्ब भएकाले स्थानीय कार्यकर्ता र शुभेच्छुकहरुको आग्रह अनुसार वडा तहमा स्वतस्फुर्त एकीकरण गरिएको बताए ।

माओबादी केन्द्रका नेता हृदय राजबंशीले केन्द्रमा आज एकीकरण हुने भनी पहिल्यै तय भइसकेको कार्यक्रम पदीय भागवण्डाको निहुँमा अवरुद्ध हुँदा जनता असन्तुष्ट रहेको जनाउँदै एउटै पार्टी निर्माण गर्ने भनेपछि भागवण्डा बाधक हुन नपर्ने धारणा व्यक्त गरे ।

आज एकीकरण गरिएको वडा कमिटीका संयोजक प्रकाश खड्काले गत चुनावमार्फत एकीकरणलाई अनुमोदन गरिसकेका जनताले अब पर्खिने धैर्य टुटिसकेको जिकीर गर्दै आजदेखि आफ्नो वडामा एमाले र माओबादी दुबै पार्टीको पुरानो कमिटी स्वतः निष्क्रिय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: