झापा । पूर्व मन्त्री, नेकपा मालेका महासचिव एवम् वरिष्ठ वामपन्थी नेता सीपी मैनाली सवारी दुर्घटनामा घाइते भएका छन् ।
झापाको विर्तामोडमा भतिजीको बिहेमा सहभागी भएर काठमाडौँ फर्किदै गरेका नेता मैनाली महोत्तरीको बर्दिवास–३ कालापानीमा बिहीवार दिउँसो कार दुर्घटनामा परेका थिए ।
मैनालीलाई उपचारका लागि महोत्तरीबाट हेलिकोप्टरमार्फत काठमाडौँको ग्रान्डी हस्पिटल पुर्याइएको छ ।
टाउको र खुट्टामा बढी चोट लागेका नेता मैनालीको टाउकाको सीटी स्क्यानको रिपोर्ट नर्मल आइसकेको र खुट्टाको शल्यक्रिया गर्नुपर्ने डाक्टरहरुको सुझाव आएको भाइ मिनप्रकाश मैनालीले लोकतन्त्र पोस्टलाई बताए ।
‘उहाँ खतरामुक्त अवस्थामा हुनुहुन्छ,’ घाइतेका भाइ मिनप्रकाश मैनालीले भने–‘खुट्टाको अपरेसन आजै (विहीवार राति) हुनेछ ।’
मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई ना ४ ख ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको उनले बताए ।
दुर्घटनामा नेता मैनालीसहित परिवारका पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा छोरा सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना, नाति र चालक रामप्रसाद पौडेल घाइते छन् । सरोजसहित अन्यलाई कम चोट लागेको छ भने बुहारी पूजालाई बढी चोट लागेको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नेता मैनालीसहित घाइतेहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मगाएर काठमाडौं लगिएको जानकारी दिए ।
‘जनसेवा अस्पताल बर्दिवासले थप उपचारका लागि यहाँबाट रिफर गरेपछि हेलिकप्टर मगाएका हौं,’ प्रजिअ खत्रीले भने ।
कान्छा भाइ मिनप्रकाश मैनालीको छोरीको विहेमा सहभागी भएर नेता मैनाली बिर्तामोडबाट काठमाडौँ फर्किदै थिए ।