मेचीनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने भएका छन् ।
पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गरे । उनले ‘दुःखकष्ट र आपतविपदको यो घडीमा सबैका साथमा साथ दिँदै हिमानी कोषलाई रू २ करोड दिएर नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दाखिला गर्न लगाएको उल्लेख गरेका छन् ।
पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
पूर्वराजा शाहले लकडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गरिनुपर्ने बताएका छन् ।
शाहले भनेका छन्, ‘यो अवस्थाबाट मुक्त हुन ‘लकडाउन’ नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।’
महामारीविरुद्ध अहोरात्र खटिनेहरुलाई धन्यवाद दिँदै पूर्वराजाले आफ्नो वक्तव्यमा ‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै आम जनता र सञ्चारकर्मीहरूप्रति आभारी प्रकट गरेका छन्।