मेचीनगर । मेचीनगरसँग मितेरी साइनो गाँस्न आएकी फोक्सटनकी मेयर जेकी मेडको टोली र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटघाट भएको छ ।
ढिलो गरी प्राप्त समाचार अनुसार फागुन १ गते बेलायती टोली घर फर्किने क्रममा चन्द्रगढी विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहसँग आकस्मिक भेट भएको थियो ।
पूर्वराजदम्पत्ति र बेलायती टोली काठमाडौं जाँदै गर्दा विमानस्थलको भीआइपी कक्षमा आकस्मिक भेट भएको थियो ।
अचानक भएको छोटो भेटमा पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल भ्रमणमा आउनुको कारण बारे बेलायती टोलीसँग जिज्ञासा राखेको भेटघाटमा संलग्न गोर्खा मेमोरियल फन्ड युकेका अध्यक्ष धनकिरण गुरुङले जानकारी दिए ।
‘पूर्वराजाले के कति कामले आउनुभएको भनेर जिज्ञासा राख्नुभयो,’ गुरुङले लोकतन्त्र पोस्टसँग भने–‘हामीले मेचीनगरसँग मितेरी साइनो गाँस्न आएको बताएपछि उहाँले खुशी व्यक्त गर्नुभयो ।’
पूर्वराजारानीसँगको सो भेटमा मेचीनगरका नगरप्रमुख विमल आचार्य लगायत उपस्थिति थिए । भेटका क्रममा सामूहिक फोटो समेत खिचिएको थियो ।
बेलायती टोलीले इलामको सूर्योदय नगरपालिकाका मेयरसहितको टोलीसँग श्रीअन्तुमा भेटेको थियो । टोलीले काठमाडौंमा मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसँग भने भेटघाट गरेन । बेलायती टोली माघ २५ गते मेचीनगर आएको थियो ।