अर्जुन कार्की
काँकरभिट्टा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो काँकरभिट्टा नाका प्रयोग गरेर भारत प्रस्थान गरेका छन् ।
मध्यान्ह १२ बजे काँकरभिट्टा आइपुगेका उनी निजी भ्रमणको क्रममा सिक्किम र दार्जीलिङ प्रस्थान गरेको स्रोतले जनाएको छ ।
पुस महिनादेखि दमकस्थित हिमालय गुडरिक (हिउँदकालीन दरबार)मा बस्दै आएका पूर्व राजा शाह बढीमा पन्ध्र दिन भारतमा रहने बताइएको छ । उनको भ्रमण सूचीमा दार्जीलिङ र सिक्किम रहेको स्रोतले जनाएको छ ।
डब्लुवी ७६ ए ८८२७ नम्बरको सेतो रङको कार चढेर पूर्व राजा शाह, उनकी पत्नी कोमललगायत पूर्व राजपरिवारका सदस्यहरु काँकरभिट्टा नाकाबाट भारतको पानीटङ्कीतर्फ लागेका थिए ।
दमकबाट नेपाली नम्बरको गाडीमा आएका पूर्वराजपरिवारले भारत जानका लागि काँकरभिट्टास्थित मेची भन्सार कार्यालय परिसरमा गाडी परिवर्तन गरेका थिए । उनीहरु सुरक्षाकर्मीहरुसँगै आएका थिए ।
काँकरभिट्टामा पूर्व राजा आउने धेरैलाई थाहा थिएन । तैपनि स्वागतका लागि केही समर्थकहरु फुलमालासहित उपस्थित थिए । हँसिलो मुडमा रहेका पूर्वराजा शाहले समर्थकबाट दुई वटा माला मात्र लगाएका थिए ।
पाँच मिनेट मात्र भन्सार परिसरमा अडिन भ्याएका उनलाई समर्थक र हेर्नेहरुले भीड गरेपछि सुरक्षाकर्मीले उनको छेउमा सर्वसाधारणलाई जान दिएको थिएन ।
पुसमा झापा आउनेक्रममा चन्द्रगढी विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकको भीडले स्वागत र जयजयकार गरेको थियो । तर यसपाली दमकमा बसेयता पूर्वराजा विगतमा जस्तो राजनीतिक भेटघाट र घुमघाममा सक्रिय भएनन् ।