अर्जुन कार्की
काँकरभिट्टा । पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार भारत प्रस्थान गरेका छन् । मध्यान्ह १२ बजे काँकरभिट्टाबाट सिक्किम प्रस्थान गरेका हुन् ।
श्रोतका अनुसार दमक बस्दै आएका पूर्व राजा शाह केही दिनका लागि दार्जिलिङ र सिक्किम घुम्न गएको बुझिएको छ ।
डब्लु वी ७६ ए ८८२७ नम्बरको सेतो रङको दुई वटा कारमा पूर्व राजा शाह, उनकी पत्नी कोमललगायत परिवार काँकरभिट्टा नाकाबाट भारत गएका थिए ।
इलाका प्रहरी कार्यालयका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनको परिवार १०÷१५ दिनका लागि सिक्किम घुम्न गएका हुन् ।
पूर्व राजा शाह गत पुसदेखि दमकस्थित चिया बगानको आफ्नै दरवारमा बस्दै आएका थिए ।
आइतबार दमकदेखि काँकरभिट्टास्थित मेची भन्सार कार्यालयको परिसरमा सुरक्षाकर्मीहरुको साथमा आएका उनी भारतीय नम्बर प्लेटको कारमा चढेर मेची पुल क्रस गरेका थिए ।
काँकरभिट्टामा पूर्व राजा आउने धेरैलाई थाहा नभए पनि उनको स्वागतका लागि केहि समर्थकहरुको सहभागिता थियो ।
पाँच मिनेटसम्म पनि बस्न नभ्याएका उनलाई केही समर्थकहरुले सयपत्री फूलको माला लगाइदिएका थिए ।
समर्थकहरुका अनुसार पूर्व राजा शाह सिलिगुडी, दार्जिलिङ हुँदै सिक्किम धार्मिक तथा निजी भ्रमणमा निस्किएको बुझिएको छ ।