मेचीनगर । धुलाबारी माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाज गठन भएको छ । २००८ सालमा स्थापित धुलाबारी माविका पूर्व विद्यार्थीहरुको बृहत भेलाले गोपाल बस्नेतको नेतृत्वमा पूर्व विद्यार्थी समाज गठन गरेको हो ।
धुलाबारी माविको सभाहलमा सम्पन्न भेलामा २०२० सालदेखि २०७६ सालसम्म अध्ययन गरेका विद्यार्थीको उपस्थिति रहेको थियो । धुलाबारी माविको शैक्षिक उन्नयन र श्रीवृद्धिका लागि सहयोग पुर्याउँदै रचनात्मक क्रियाकलाप गर्ने उद्देश्यले गठित पूर्व विद्यार्थी समाजका सदस्यहरुमा विवेक निरौला, केशव पोखरेल, धु्रव कनाल, अम्बिका सङ्ग्रौला, इन्दिरा अधिकारी, सन्तोष धमला, धनकाजी खत्री र मिलनराज प्रसाई रहेका छन् ।
पूर्व विद्यार्थी समाजको समिति १५ सदस्यीय बनाउने र बाँकी सदस्यहरु समितिको बैठकबाट पूर्णता दिने धुलाबारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विक्रम नेम्वाङको अध्यक्षतामा आयोजित भेलामा पूर्व शिक्षकहरु तेजराज खतिवडा, पदमप्रसाद दाहाल, अम्विका रिजाल, तेजनारायण चौधरी, हरि नेपाल, जयनारायण गौतम लगायतको उपस्थिति रहेको थियो ।
प्रधानाध्यापक महेन्द्र विलास लुइँटेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा माविका पूर्व विद्यार्थी तथा अग्रज पत्रकार चन्द्र भण्डारी, पूर्व शिक्षक यामप्रसाद भण्डारी, यज्ञराज प्रसाई, मेचीनगर–१० का वडाध्यक्ष सुदय पनेरु, विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।