पैसो नभएर क्यान्सरका बिरामी अस्पतालबाट फर्किए, नेताहरु रमिते

  प्रकाशित मिति
४ श्रावण २०७९, बुधबार १७:०९


मेचीनगर, ४ साउन । उपचारका लागि खर्च गर्ने सामर्थ्य नभएर मेचीनगर नगरपालिका वडा नं. १० का ६५ बर्षीय गोपाल दर्जी घरमै थला परेका छन् ।

उनलाई घाँटीको क्यान्सर भएको छ । चार महिना अघि क्यान्सर लागेको पुष्टि गर्दै भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टरले उनलाई तत्काल किमोले सेकाउन सुझाव दिएका थिए ।

उपचार गर्ने रकम नभएपछि विरामी गोपाल दर्जीलाई घरमै फर्काउन बाध्य भएको उनकी पत्नी मनमाया दर्जीले बताइन् ।

ऐलानी केही धुर जग्गामा सानो झुपडी बनाएर बस्दै आएको दर्जी परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । ‘घरमा खान लाउनकै समस्या छ, उपचार खर्च कहाँबाट जुटाउनु ?,’ मनमाया भन्छिन्–‘हामीसँग केही उपाय नै छैन ।’

बिरामीको हालत दिनानुदिन नाजुक बन्दै गएको छ । ओछ्यानबाट उठाउन सहारा चाहिने उनको बोली बाहिर आउँदैन । दम बढेर स्याँस्याँ हुन्छ । खानका लागि मुख बाउँन समेत अप्ठेरो भएकाले कोदोको खोले बिस्तारै मुखबाट छिराउने गरिएको मनमायाले बताइन् ।

‘ऐलानी जग्गामा सानो झुप्रो हालेर बसेका छौ,’ मनमायाले भनिन्, ‘उपचार गर्ने पैसा फुट्टो छैन । सबैले आर्थिक सहयोग गरिदिए बचाउन सकिन्थ्यो होला ।’

गोपाल दर्जीले बिगत १२ बर्षदेखि नेपाल टेलिकम कार्यालय धुलाबारीमा गार्डको अस्थायी जागिर गर्दै आएका थिए । बिरामले च्यापेपछि उनी काममा जान सकेका छैनन् । उमेर र तागत हुञ्जेल काम लगाउने टेलिकम जस्तो धनी सरकारी स्वामित्वको संस्थाले पनि आफ्नो कर्मचारीको उपचारमा चासो दिएको छैन ।

छरछिमेकीले दुई चार रुपैया चन्दा उठाउने प्रयास गरिरहेका छन् । डाक्टरले किमो दिएर शल्यक्रिया गर्नुपर्ने भएकाले पैसाको जोहो गरेर आउन भनेको मनमाया सुनाउँछिन् ।

उनी बिरामी भएको मेचीनगरका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई थाहा छ । ‘हिजो चुनावमा नमस्ते गर्दै भोट माग्न आउनेहरु अहिले यस्तो हालत हुँदा अनुहार देखाउन पर्ला भनेर आएका छैनन्’–दर्जी परिवारको एक छिमेकीले बताए ।

मनमायाले आफ्नो पतिको उपचारका लागि आर्थिक सहयोग गरिदिन देश विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाईहरुलाई अनुरोध गरेकी छन् ।

‘मेरा श्रीमान साह्रै असल र मिहेनती हुनुहुन्छ, तर अहिले यस्तो रोग लागेर ओछ्यानमा पर्नुभयो,’ उनले सहयोगको अपेक्षा गर्दै भनेकी छन्–‘भएको जेथो र सरसापटी गरेर एक डेढ लाख अहिलेसम्मको उपचारमा सकियो । अब हामीसँग केही बाँकी छैन ।मेरा श्रीमानले नै डिउटी गरेर हामी सबैलाई पाल्नुहुन्थ्यो । अब उहाँ नै थला परेपछि हामी भोकभोकै पर्ने अवस्था आयो । जसरी हुन्छ सहयोग गरेर मेरा श्रीमानको उपचार गराउने व्यवस्था गरिदिनुहोस् ।’

दर्जी परिवार बस्ने वडाको अध्यक्ष नेकपा एमालेका तर्फबाट बिजयी नारायण खनाल रहेका छन् भने स्थानीय सरकार (पालिका) मेचीनगरको नगरप्रमुख एमालेकै गोपाल बुढाथोकी छन् ।

यही निर्वाचन क्षेत्रबाट नेकपा माओबादी केन्द्रका राम कार्की संघीय सांसद् निर्वाचित भएका हुन् भने प्रदेश सांसद् एमालेका श्रीप्रसाद मैनाली हुन् । संघीय निर्वाचनमा पटकपटक उम्मेद्वार बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यही निर्वाचन क्षेत्रका हुन् ।

नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अशेष घिमिरे र सो पार्टीका झापा जिल्ला सचिव वीपी भट्टराई समेत सोही वडाबासी र विरामीका छिमेकी हुन् ।

आर्थिक अभावका कारण उपचार नपाउने अवस्था आउन नदिने बाँचा गर्दै आएका राजनीतिक दल, तिनका नेता र जनप्रतिनिधिहरुले गोपाल दर्जीको उपचारमा सघाउँछन् कि सघाउँदैनन्, अब हेर्नु छ ।

ईच्छुक महानुभावहरुले नेपाल बैँक लिमिटेड धुलाबारी शाखामा गोपाल दर्जीको नाममा रहेको यो खातामा विरामीको उपचारमा सहयोग गर्न सक्नु हुनेछ ।

नाम : गोपाल दर्जी
बैंक : नेपाल बैंक लिमिटेड, धुलावारी शाखा
खाता नम्बर : ०५५०१००६६२५४९००००००१

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: