भद्रपुर । झापाको एक मात्र मेची रङ्गशालामा दर्शक बस्ने प्याराफिटको क्षमता बढाएर ५ हजार पुर्याइने भएको छ । हाल प्याराफिट निर्माण धमाधम भइरहेको छ ।
नेपाल सरकारको ५० लाख रुपैयाँमा २ हजार सिट क्षमताको प्याराफिट थप्ने कार्य भइरहेको हो ।
वि.सं. २०२५ सालमा स्थापना भएको सो रङ्गशालाको दर्शक बस्ने प्याराफिटको क्षमता यस अघि ३ हजार मात्र थियो ।
जिल्ला खेलकुद विकास समिति झापाले रङ्गशालाको उत्तर र दक्षिणतर्फ प्याराफिट निर्माण गरिरहेको समितिका अध्यक्ष शङ्कर थापाले जानकारी दिए ।
आगामी आठौँ राष्ट्रिय खेलकुदको फुटबलतर्फको प्रदेशस्तरीय खेल सो रङ्गशालामा आयोजना गर्नका लागि थपिएको प्याराफिटले मदत पुग्ने उनको भनाई छ ।
५ विघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको मेची रङ्गशालामा एउटा कभर्ड हल छ । जहाँ तेक्वान्दो, बक्सिङ, उसु, जुडो, कराते र व्याडमिन्टन खेलको प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
समितिले खेलाडीको चापलाई ध्यानमा राखेर दुई वटा कभर्ड बनाउनका लागि सरकारसँग बजेटको पहल गरिरहेको अध्यक्ष थापा बताउँछन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)