प्रतिष्पर्धा गरेर अस्पताल चलाउन नपाएको दिब्यज्योतिको गुनासो

  प्रकाशित मिति
२७ पुष २०७५, शुक्रबार ०७:२४



इटाभट्टा । मेचीनगरको इटाभट्टामा सञ्चालित मेची दिब्यज्योति आँखा अस्पतालले स्वस्थ प्रतिष्पर्धा गरेर अस्पताल चलाउन नपाएको गुनासो गरेको छ ।

एक वर्ष अघिदेखि काँकरभिट्टामा क्लिनिक र हालै इटाभट्टामा अस्पताल चलाउँदै आएको मेची दिब्यज्योति अस्पतालले विहीवार पत्रकार सम्मेलन गरी त्यस्तो गुनासो गरेको हो ।

अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. मोनिका कर्माचार्यले काँकरभिट्टाको मेची नेत्रालयबाट दिब्यज्योतिलाई बन्द गराउन अनेक बहानामा मुद्दा लगाइएको दावी गरिन् ।

नेत्रालयका तर्फबाट दिब्यज्योति विरुद्ध दर्जन जति विभिन्न निकायमा मुद्दा दर्ता गरेर दुःख दिइएको उनले जिकीर गरेकी छन् । उनले दिब्यज्योति अस्पताललाई सरकारले बन्द गर्न पत्र पठाएको भनी चलाइएको हल्लाको समेत खण्डन गरेकी छन् ।

‘हामीलाई कतैबाट पनि बन्द गर्नु भन्ने पत्र आएको छैन, अहिले पनि अस्पतालको सेवा नियमित रुपमा सञ्चालन भइरहेको छ’, डा. मोनिकाले बन्दको हल्लाबारे अनभिज्ञता जनाउँदै पत्रकार सम्मेलनमा भनिन्–‘किन र कुन नियतले हल्ला चलाइएको हो, मैले बुझ्न सकिरहेको छैन ।’

सर्वोच्च अदालतले अस्पताल सञ्चालन गरिरहनु भनी यही पुस ११ गते अन्तरिम आदेश जारी गरेको डा. मोनिकाले जानकारी दिएकी छन् ।

मेची नेत्रालयको उजुरीका कारण यथार्थ नबुझी सहरी विकास मन्त्रालयको सचिवस्तरको निर्णयले गत असोज ११ गते सहरी विकास तथा भवन निर्माण विभागले इलामबाट प्रदान गरिएको भवन सिफारिस रद्द गरिएको पत्र पठाएको भने डा. मोनिकाले स्वीकार गरेकी छन् ।

उनले अस्पतालको सिफारिस रद्द गरिएको सम्बन्धमा सर्वोच्च अदालतमा रिट दर्ता गरिए पनि अदालतले अस्पतालको पक्षमा अन्तरिम आदेश जारी गरेको बताइन् ।
मेची दिब्यज्योति आँखा अस्पताललाई सरकारी निकायबाट १५ बेड सञ्चालनका लागि अनुमति प्रदान भएको र काँकरभिट्टामा रहेको क्लिनिकमा आँखासँगै कानको समेत उपचार गर्ने गरी बहुसेवाप्रदायक क्लिनिक सञ्चालन भइरहेको उनले जानकारी दिएकी छन् ।

उनले पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले अस्पताल सञ्चालनका लागि प्रदान गरेको स्वीकृति पत्र र इलामको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले दिएको भवन सिफारिस पत्र सार्वजनिक गरेकी थिइन् ।

करोडौं लगानी भइसकेको र कानूनी व्यवस्थाको पालना गरी सञ्चालनमा ल्याइएको अस्पताललाई चल्नै नदिने र बन्द गराउन लाग्नेहरुबाट अस्पताल सञ्चालकहरु पीडित भएको हुँदा न्यायका लागि लेखेर सहयोग गरिदिन संरक्षण समितिका अध्यक्ष बन्धन मुण्डाले आग्रह गरेका छन् ।

अस्पतालका सञ्चालक राम ओलीले पैसा र शक्तिको चलखेलका कारण दिब्यज्योतिलाई बन्द गराउन प्रयत्न भएको दावी गरे ।

पत्रकार सम्मेलनमा अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा जानकारी दिइएको थियो भने सो अवसरमा संरक्षण समितिका सुमन थापा र सञ्चालक समितिका कर्ण योगी र गीता खड्काको समेत उपस्थिति रहेको थियो ।
…………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: