प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्न महिलाहरुलाई सिटौलाको सुझाव

  प्रकाशित मिति
१८ आश्विन २०७७, आईतवार १९:५२


मेचीनगर, १८ असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले समावेशी सहभागिता जनाएका महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्न सुझाव दिएका छन् ।

नेपाल महिला संघ झापाको आयोजनामा आइतबार सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशन र महिला नेतृत्व र चुनौति विषयक अन्तरिक्रयात्मक भर्चुअल कार्यक्रमलाई पूर्व गृहमन्त्री समेत रहेका प्रमुख अतिथि सिटौलाले यस्तो सुझाव दिएका हुन् ।

समावेशी सहभागितालाई संविधानले नै सुनिश्चित गरिसकेको बताउँदै नेता सिटौलाले महिला सहभागिता बढाउन खुल्ला प्रतिष्पर्धामा जान सुझाव दिएका थिए ।

संसद वा पार्टीको कुनै पनि पदमा समावेशी सहभागितामा एकपटक सहभागी भइसकेपछि खुल्ला निर्वाचनमा गएर समावेशीमा नयाँलाई स्थान दिन आग्रह गरे ।

शतप्रतिशत ब्यक्तिको नेतृत्व गर्न पुरुष वा महिला कसैले पनि नसक्ने तर खुल्ला प्रतिष्पर्धाबाट आएको नेतृत्वले बहुमत ब्यक्तिको भावना समेट्न सक्ने हुँदा खुल्ला प्रतिष्पर्धामा जान निर्देशन दिएका थिए ।

महाधिवेशनले वडादेखि केन्द्रसम्म नै सबल नेतृत्व चयन गर्नुपर्ने बताउँदै पार्टीको प्रतिपक्षी भूमिकालाई सवल बनाउनुपर्नेमा जोड दिए ।

पार्टीको आधार तह बलियो बनाउन क्रियाशिल सदस्यता वितरणमा महिला सहभागिता बढाउन निर्देशन दिदै नेता सिटौलाले वैशाखमा महाधिवेशन गर्न आफूले केन्द्रीय समितिमा प्रस्ताव गरिसकेको दावी गरे ।

कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य सुधिरकुमार शिवाकोटीले पनि महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा खुल्ला प्रतिष्पर्धाका लागि आफ्नो कार्यक्षमता बृद्धि गर्न आग्रह गरे ।

कांग्रेस झापाका उपसभापति राम कट्टेलले अहिले कम्युनिष्ट नेतृत्वको सरकार सरकारजस्तो नभएको र प्रतिपक्षी दल पनि प्रतिपक्षीजस्तो नभएको टिप्पणी गर्दै नेकपा नेतृत्वको सरकार जनताको सरकार बन्न नसकेको धारणा राखे ।

कार्यक्रममा नेपाल महिला संघका केन्द्रिय सदस्य गोमा भट्टराई, कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नेपाल महिला संघका क्षेत्रीय सभापतिहरु, गाउँ÷नगर सभापति तथा विभिन्न तहका महिला नेतृहरुले आ–आफ्ना धारणा राख्दै कांग्रेसको १४औं महाधिवेशनमा पार्टीको पदाधिकारीमा महिला सहभागिता बढाउन आग्रह गर्दै वडातहदेखि केन्द्रसम्मका सबै सांगठनिक संरचनामा ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्न आग्रह गरेका थिए ।

नेपाल महिला संघ झापाका सभापति सुशिला ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उर्मिला ढकालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: