प्रदेशकी ‘परफेक्ट लिडर’ जसमाया गजमेर

  प्रकाशित मिति
२३ फाल्गुन २०७४, बुधबार २१:०१


प्रस्ट वक्ता र कुशल नेतृत्व क्षमता भएकी नेकपा एमालेकी नेतृ जसमाया गजमेर महिला मुक्तिका लागि अहारोत्र खट्ने एउटी अथक योद्धा हुन् ।

उनको नाम हालै प्रदेश सभामुखको रुपमा चर्चामा थियो । तर उनी आवद्ध नेकपा एमाले र नेकपा माओबादी केन्द्रको आन्तरिक सन्तुलनका कारण जसमायाले व्याक हुन पर्यो ।

इलाम जिल्लाको साविक लुम्दे–६ मा २०३४ सालमा जन्मिएकी जसमाया प्रदेश नम्बर १ की समानुपातिक सभासद् हुन् ।

पद प्राप्तिका लागि नभएर सामाजिक सेवा गर्ने उद्देश्यले राजनीतिमा होमिएकी उनी कुनै दिन यो देशको वा प्रदेशको सांसद वा मन्त्री वा अरु कुनै उपल्लो ओहोदामा पुग्छिन् भन्ने पहिलेदेखि अनुमान थियो ।

किनकि, उनमा त्यो प्रखर क्षमता थियो । अहिले पनि प्रदेश मन्त्रीमा उनको नाम चर्चामा छ । आइपर्ने कुनै पनि जिम्मेवारीका लागि उनी योग्य मात्र होइन, तयार नै रहेकी छन् । भन्छिन्–‘अवसर आयो भने जुनसुकै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न तयार छु ।’

उनले २०४७ सालमा महेन्द्रोदय मावि गजुरमुखीमा अध्ययन गर्दागर्दै अवस्थामा राजनीति सुरु गरेकी थिइन् । उनी त्यो बेला अनेरास्ववियूको सदस्य थिइन् । उनी मुक्ति समाज इलाम जिल्ला सदस्य हुँदै वि.सं. २०५३ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्ववियु सदस्य समेत भइन् ।

मुक्ति समाजको मेची अञ्चल सदस्य, एमाले जिल्ला सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद हुँदै हाल उनी प्रदेश सदस्य, अनेम सङ्घ जिल्ला अध्यक्षको गरिमामय पदमा रहेकी छन् ।

नेपाली महिलाहरू अहिले पनि घरेलु कामबाट बाहिर निस्कन नसकेको बताउने उनी महिलाहरुले आत्मनिर्भर बन्ने बाटोमा अगाडि बढ्नु पर्ने धारणा राख्छिन् ।

राजनीतिमा अहिले पनि महिलाको स्थान सहायक भूमिकामा खुम्च्याइएको उनको गुनासो छ ।
‘उपलब्धि नभएका होइनन्, महिलाहरु ठूला ठूला पदमा पनि पुगेका छन्’, जसमाया नेपाली महिलाहरुको अवस्था विश्लेषण गर्दै भन्छिन्–‘तर आम महिलाहरु अहिले पनि आफुमाथि भइरहेको हिंसाबारे खुलेर बोल्न सक्ने अवस्थामै छैनन् ।’

उनले आफु सँधै पीडित महिला दिदीबहिनीहरुको पक्षमा लाग्ने जनाउँदै अब प्रदेशको संसदमा समान अधिकारको स्वर घन्काउने तयारीमा भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: