‘प्रदेशकै ठूलो’ भैंसीफार्म ज्यामिरगढीमा

  प्रकाशित मिति
२१ फाल्गुन २०७४, सोमबार १४:४९


भद्रपुर । गाई फार्म सञ्चालन गरिएको खबर सबैले सुन्दै आएका छन् । भैसी फार्म सञ्चालन भने अब दुर्लभ हुन थालेको छ । एक दुई माउ भैंसी पाल्नु बाहेक कृषकहरुले भैंसीपालनतिर त्यति जाँगर चलाएको देख्न पाइन्न ।

तर, साविक ज्यामिरगढी अर्थात हालको मेचीनगर–१५ स्थित सीमावर्ती मेची नदीको किनारमा बस्दै आएका ६० वर्षीय जीवन सापकोटाले सम्भवतः प्रदेशकै ठूलो फार्म सञ्चालन गरेर भैंसीपालनको उदाहरण देखाएका छन् ।

उनले स्थानीय विद्यालयको ४० बिघा र डा. मोहपालको ११ विघा गरी कुल ५१ बिघा जग्गा वार्षिक ६० हजार तिर्ने गरी भाडामा लिएर भैंसीपालन गरेका हुन् ।
उनको यो फार्म आफ्नै सोच र निजी लगानीमा आधारित हो । उनलाई सरकारी सहयोग प्राप्त भएको छैन । बरु उदाहरणीय कृषि कर्म गरे वापत उनी दर्जनौं सङ्घ संस्थाबाट सम्मानित भएका छन् ।

उनले ‘डेस्टिनेशन कृषि फार्म’ दर्ता गरेका छन् । फार्ममा १०५ भैंसी र १५ वटा गाई पालिएका छन् ।
भारतसँग सीमा छुट्याउने जङ्गे पिलरकै छेउमा उनको फार्म छ । मेची नदीको त्यो किनार ५ वर्ष अघिसम्म उजाडलाग्दो बगर थियो । तर अहिले भैंसीकै मलका कारण बगर नै खेतीयोग्य जमिन बनेको छ ।

उनको फार्म पुग्न सदरमुकाम चन्द्रगढीवाट ४ किलो मिटर र मेचीनगर नगरपालिकाबाट १० किलोमिटरको यात्रा पार गर्नु पर्छ । फार्मबाट नजिकको मानव वस्ती एक किलोमिटर टाढा छ ।
दक्षिण झापाको पाँचगाँछीवाट सुकुम्वासीको रुपमा मेची नदीको किनारमा आएका सापकोटाले पशुपालनका लागि सुरुमा अत्यन्तै दुःख र सङ्घर्ष गर्नु पर्यो ।
२०७० सालमा सुरुमा उनले २ माउ भैंसी पाले । त्यसको ३ लिटर दुध बेचेर पशुपालन थालेका उनले क्रमशः भैंसीको सङ्ख्या बढाउँदै लगे । दुध मात्र नभएर पाडापाडी बेचेर पनि उनले मनग्य कमाउँदै आएका छन् ।

उनिसँग हाल माउ पाडा लगायत १०५ भैंसी र १५ वटा गाई रहेका छन् । जसमा ४० माउ भैंसी त दुहुना नै रहेको उनी बताउँछन् ।

उनले लैनो भैसी र गाईवाट हिउँदमा दैनिक ८० देखि एक सय लिटरसम्म र वर्षाद्मा एक सय ३० लिटरसम्म दुध बेच्ने गरेका छन् ।

भैंसीको दुध प्रति लिटर ६५ रुपैयाँका दरले विक्री हुने गरेको छ । इटाभट्टाको एनएमसी डेरी र धाइजनका रितिका डेरीले दुध खरिद गर्दै आएको उनी बताउँछन् ।

उनले आफुले पालेका पशुलाई अहिलेसम्म कुनै पनि प्रकारको औषधि नखुवाएको र प्राकृतिक चरन चराएको कारण फार्मबाट उत्पादित दुध पूर्णतः अग्र्यानिक भएको बताए ।
हिउँदमा किनेको पराल र बर्षादका बेलाको घाँस नै भैंसीकोमुख्य आहार भएको उनी बताउँछन् । उनी वर्षमा ९४ ट्याक्टर परालले पनि फार्मलाई नपुग्ने अवस्था रहेको बताउँछन् ।
महिनामा ३० बोरा चोकर, ३ बोरा नुन तथा पिना भैंसीलाई खुवाउने गरिएको र यसबाट मासिक ८० हजार रुपैयाँ भन्दा वढी नै खर्च हुने उनी बताउँछन् ।

सबै खर्च कटाएर वर्षमा ७÷८ लाख नाफा बस्ने गरेकाले भैंसीपालनबाट सापकोटा सनतुष्ट गरेको वताउदै खर्च छन् । सापकोटाले ६० लाखको त पशु बिमा मात्र गरेका छन् ।
ठूलो लगानीमा भैंसीपालन गरेको भए पनि फार्ममा विद्युत सेवा नहुँदा सास्ती भोग्नु परेको बताउँदै उनी स्थानीय नगरपालिकासँग विद्युतीकरणका लागि सहयोग पुर्याइदिन आग्रह गर्छन् ।
‘एक्लै छु, टुकी बालेर फार्म चलाउनु परेको छ’, उनी गुनासो सुनाउँछन्–‘१२० वटा भैंसीलाई पानी खुवाउन ट्युवेल पेल्नु पर्दा हत्तु होइन्छ ।’

उनी फार्ममा आफै खट्छन् । त्यसबाहेक ४ जनाले फार्ममा प्रत्यक्ष रोजगारी पाएका छन् । उनको आफ्नै परिवार भने ६ जनाको छ । घरका सबैले फार्ममा सघाउने गरेका छन् ।
राज्यले कृषि क्षेत्रमा लगानी बढाउने घोषणा गरे पनि त्यस अनुरुपको सुविधा किसानहरुले नपाएको सापकोटा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: