प्रदेशलाई खेलकुद हब बनाउँछौं : मुख्यमन्त्री

  प्रकाशित मिति
२० फाल्गुन २०७४, आईतवार १०:२३


विर्तामोड । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं. १ लाई खेलकुदको हब बनाउने उद्घोष गरेका छन् ।

मुलुककै सर्वाधिक पुरस्कार राशीको ‘झापा गोल्डकप’को शनिवार डोमालाल राजबंशी रङ्गशालामा उद्घाटन गर्दै मुख्यमन्त्री राईले त्यस्तो बताएका हुन् ।

‘प्रदेश नं.१ का खेलाडीहरु मुलुकमा मात्र होइन अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत उत्कृष्ट हुने गरी हामी खेलकुदको विकास गर्ने छौं’–उद्घाटन मन्तब्यमा उनले आफ्ना केही खास योजनाहरु समेत सुनाएका थिए ।

प्रदेशस्तरमा एउटा खेलकुद महाविद्यालय बनाउने र अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको रङ्गशाला निर्माण गर्ने उनले घोषणा गरे ।

विगतमा मुलुकमा अस्थिर सरकार, राजनीतिक हस्तक्षेप र अदूरदर्शी सोचका कारण खेलकुद क्षेत्रले दुर्दशा भोग्नु परेको चर्चा गर्दै उनले अब खेलकुदमा राजनीतिक हस्तक्षेप नहुने बचन दिए ।

उनले झापा गोल्डकप फुटबल प्रतियोगिताको खुला दिलले प्रशंसा गर्दै फुटबलको इतिहासमा यसले कोशेढुङ्गाको काम गर्ने बताएका थिए ।

मुख्यमन्त्री शेरधन राई झापाको कार्यक्रममा मुख्यमन्त्रीको पद सम्हालेपछि दोस्रो पटक आएका हुन् ।

उनी फागुन २१ गते सुखानी शहिदप्रति श्रद्धाञ्जलि अर्पण कार्यक्रममा सहभागी हुन फेरि झापा आउने कार्यक्रम छ ।

उनले बेलन उडाउँदै झापा गोल्डकप प्रतियोगिताको उद्घाटन गरेका थिए भने व्यस्तता हुँदाहुँदै पनि झापा एघार र सुदूरपश्चिम एघार विचको उद्घाटन खेल अभिरुचिपूर्वक हेरेका थिए ।

आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की र विर्तामोडका मेयर ध्रुव शिवाकोटीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

आयोजक समितिका बलराम कार्कीले स्वागत गरेको कार्यक्रमको उद्घोषण पत्रकार केशव भट्टराई र भीम भट्टराईले गरेका थिए ।

झापाको फुटबल विकासमा अतुलनीय योगदान पुर्याएका अग्रज खेलाडीद्वय रामदर्शन गुरुङ र सन्त रायमाझीलाई कार्यक्रममा २५ हजार रुपैयाँ नगदसहित सम्मानित गरिएको थियो ।

हजारौं दर्शकले खचाखच उद्घाटन कार्यक्रममा धुलावारीको इस्ट होराइजन अङ्ग्रेजी माविका विद्यार्थीहरुले ब्यागपाइपरको धुन र मार्चपास सहित प्रमुख अतिथि मुख्यमन्त्री राईलाई सलामी अर्पण गरेका थिए भने बाल्मिकी र नवोदय विद्यालयका विद्यार्थीहरुले लोक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेशका सांसद बसन्त बानियाँ र भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितालाई व्यवस्थित बनाउन स्वयम्सेवकको जिम्मेवारी नेप्लीज टिन नामक युवा समूहले लिएको थियो भने दर्शकको सुविधाका लागि बाँसे प्याराफिटलाई विगतको तुलनामा आरामदायी र बलियो बनाइएको थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: