झापा । प्रदेश १ को बजेट अधिवेशन जेठ १४ गते (बुधबार) बाट सुरु हुने भएको छ ।
बैठकका लागि प्रदेश सभाहल भित्र व्यक्तिगत दुरी कायम गरी सांसदका लागि कुर्सी राखिएको छ ।
प्रदेश नं १ सरकारको मन्त्रिपरिषदको बैठकले बुधबार दिउँसो २ बजेदेखि बैठक बोलाउने निर्णय गरेको छ ।
कोरोना संक्रमणको त्रास फैलिएपछि प्रदेशको हिउँदे अधिवेशन ६ चैत २०७६ देखि स्थगित भएको थियो ।
एक नम्बर प्रदेश सभामा सत्तारुढ दल नेकपा ६७, मुख्य प्रतिपक्षी काङ्ग्रेसका २१ सदस्य छन् ।
प्रतिपक्षी समाजवादी पार्टीका ३, राप्रपा र लोकतान्त्रिक मञ्चबाट १–१ जना सदस्य छन् ।
पुरानो हलमा ६० जना, बाँकीले मनिटरबाट हेर्ने
प्रदेशसभा सचिवालयले बैठक सञ्चालनका लागि दुईवटा हललाई प्रयोगमा ल्याउन लागेको छ ।
एउटा हलमा ६० जना मात्र अटाउने भएका कारण बाँकी सांसदलाई राख्न संसद सचिवालयकै अर्काे बैठक कक्ष प्रयोग गरिने प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार दुबै बैठक कक्षमा मनिटरबाट स्क्रिन सेयरिङ गरिनेछ ।
‘सांसदका लागि बैठक कक्षको स्क्रिन सेयरङिको व्यवस्था मिलाएका छौं’ उनले भने ‘सामाजिक दुरी कायम गर्न प्रविधिको प्रयोग गरिएको छ ।’
सांसदको पुरानो हलमा बस्ने सदस्यहरुले रोष्टम प्रयोग गरेर बोल्न पाउनेछन् । नयाँ हलमा बस्नेले भने माइकको सहायताले बोल्नुपर्ने छ ।
प्रदेश नं १ सभाका संसदिय दल र कार्यव्यवस्था समितिको सहमतिपछि सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न लागिएको हो ।
बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको पराजुलीले बताए ।
बजेट अधिवेशन अवधिभर प्रदेश सभामा हातधुनुपर्ने, सेनिटाइजर, मास्क अनिवार्य प्रयोग गर्नु पर्नेछ ।
बैठक सञ्चालनका लागि कोरोना जाँच
प्रदेश सभा सञ्चालनका लागि सांसदहरुको कोरोना जाँच गरिएको छ । मुख्यमन्त्री शेरधन राईसहित जाँच गर्ने सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार कोरोना संक्रमणको जोखिम भएका कारण बैठकमा अतिथिलाई प्रवेश नदिने भएको छ ।
सधै बैठक कक्ष भित्र बस्ने पत्रकारलाई पनि छुट्टै राखिने भएको छ ।
हल साँघुरो भएका कारण पत्रकारलाई बाहिर बनाइएको मिडिया सेन्टरको ब्यावस्था गरिएको छ ।
बजेट अधिवेशन अवधिभर अतिथिलाई प्रवेश दिइने छैन् ।
सातौं अधिवेशन नयाँ भवनमा
कोरोना महामारी त्रासका कारण छैटौँ अधिवेशन गर्दा दुईवटा हल प्रयोग गर्नु परेपछि प्रदेशसभाको सातौं अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने तयारी सुरु भएको छ ।
प्रदेशसभाका सचिव पराजुलीका अनुसार सातौं अधिवेशनका लागि छुट्टै प्रीफ्याक्ट भवन बनाइनेछ ।
प्रिफ्याक्ट भवनका लागि भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले तयारी सुरु गरेको पराजुलीले बताए ।
(अनलाइन खवरबाट)