झापा, २१ कार्तिक । प्रदेश १ मा आइतबारबाट सार्वजनिक यातायात बन्द गर्ने व्यावसायीले घोषणा गरेका छन् ।
व्यवसायीको माग सम्बोधन गर्न प्रदेश सरकारले चासो नदिएपछि कार्तिक २३ गतेदेखि अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ, प्रदेश १ का महासचिव रमेश खत्रीले पटक पटक सरकारसँग आग्रह गर्दा माग सम्बोधन नभएपछि यातायात बन्द गर्ने निर्णय भएको बताए ।
उनका अनुसार व्यवसायीले लकडाउन अवधीको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियत दिनुपर्ने, कार्तिक मसान्तपछि सवारी करमा बिलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने लगायत माग प्रदेश सरकारसमक्ष पेस गरेका थिए । तर प्रदेश सरकारले माग सम्बोधन गर्न चासो नदिएको उनले बताए ।
‘सवारी करमा अन्य प्रदेशले छुट दिएका छन् । तर हाम्रोमा छुट दिइएन’ उनले भने ‘कार्तिक मसान्तपछि बिलम्ब शुल्क लाग्ने भनेपछि आन्दोलनमा जाने निर्णय गरेका छौं ।’
२३ गते आइतबारबाट बस, टेम्पो, सिटी सफारी ढुवानीका साधन लगायत सबै यातायातका साधन अनिश्चितकालका लागि बन्द हुने उनले बताए ।
(अनलाइन खवर)