मेचीनगर । प्रदेश १ मा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको छ ।
मोरङ सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो ।
नगर प्रमुख कालीप्रसाद दासले कोरोनाले मृत्यु भएको पुष्टि गरे ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा मृतकमा कोरोना पोजेटिभ देखिएको थियो । उनको बुधबार रिपोर्ट आएको हो ।
बुधबार मृत्यु भएका व्यक्ति तीन महिना अघि भारतबाट आएका थिए । भारतबाट फर्किएर उनी क्वारेन्टाइन बसेका थिए । १४ दिन क्वारेन्टाइन बसेपछि परीक्षण गरिएको थियो । त्यसबेला उनमा संक्रमण देखिएको थिएन ।
प्रमुख दासका अनुसार रिपोर्ट नेगेटिभ आएपछि उनी फेरि भारतको झाला भन्ने ठाउँमा सुसुराली गएका थिए । त्यहीँ नै उनलाई कोरोनाको लक्षण देखा परेको बताइएको छ ।
लक्षण देखिएपछि उनलाई उपचारका लागि भारतकै पुर्निया लगिएको थियो । पुर्नियामा उपचार नभएपछि मङ्गलबार उनलाई विराटनगर स्थित कोशी अस्पताल भर्ना गरिएको थियो ।
अवस्था गम्भीर भएको भन्दै कोशी अस्पतालले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो ।
उपचारका क्रममा बुधबार दिउँसो करिब २ बजे तिर उनको मृत्यु भएको थियो । शव अस्पतालमै छ ।
(पहिलोपोष्टबाट)