प्रधानमन्त्रीको गृहजिल्लामा ‘फुटेन नेकपा’

  प्रकाशित मिति
६ फाल्गुन २०७७, बिहीबार १०:४७


झापा, ६ फागुन । देशैभरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीहरुको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ ।

दुबै नेकपाले झापाको विर्तामोड उद्योग वाणिज्य संघ कार्यसमितिको यही फागुन १६ गते हुने निर्वाचनमा साझा उम्मेद्वार चयन गरेका छन् ।

नेकपाका दुबै समूह चुनावमा एकताबद्ध मात्र भएका छैनन्, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत गठबन्धनमा सामेल गराउन सफल भएका छन् ।

आज नेकपाले सुभाष भट्टराईलाई अध्यक्ष पदको साझा उम्मेद्वार घोषणा गरेका छन् । कार्यसमितिको अन्य पदहरुमा दुबै नेकपा र राप्रपा समर्थक व्यवसायीहरु उम्मेद्वार बनेका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहका प्रभावशाली नेता रोमणि भट्टराईले विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा साझा उम्मेद्वारको चयनले नेकपाका तल्लो तहका आम कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको सन्देश दिएको बताए ।

‘आज नेकपा जुन विभाजित अवस्थाबाट गुज्रिरहेको छ, त्यसमा तलका कार्यकर्ताको कुनै दोष छैन,’ विर्तामोड उद्योग वाणिज्य संघको चुनावमा नेकपाको तर्फबाट गठित निर्वाचन परिचालन समन्वय समितिका संयोजक समेत रहेका भट्टराईले भने–‘‘नेकपाका शुभेच्छुक आम व्यवसायीहरुलाई फुटेर होइन जुटेर जितिन्छ भन्ने लाग्यो, एकता सफल हुनुको मुख्य कारण र यथार्थ पनि यही हो ।’’

प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला भएको कारण झापामा नेकपाले जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको व्यावसायिक चुनावमा कायम राखेको एकताले मुलुकभर सकारात्मक सन्देश प्रवाहित गर्ने चर्चा सुरु भएको छ ।

नेकपाको तर्फबाट अध्यक्षकोे साझा उम्मेद्वार चयन भएका युवा व्यवसायी सुभाष भट्टराई व्यवसायी माझ लोकिप्रय छन् । उहाँ विभाजित नेकपामध्येका कुनै पनि समूहमा खुलेर लागेका छैनन् ।

यसअघि झापाकै कृषि थोक बजार व्यवस्थापन समिति र जिल्ला सहकारी संघको चुनावमा दुबै नेकपा विभाजित नभइकन साझा उम्मेद्वार चयन गर्न सफल भइसकेका छन् । दुबै संस्थाको चुनावमा नेकपाका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार निर्वाचित भएका छन् ।

बुधवार उम्मेद्वार घोषणा कार्यक्रममा नेकपाका दुबै समूहका उच्च तहका नेताहरु हाँसीखुशी एउटै लहरमा मञ्चमा उभिएका थिए । नेकपाको ओली समूहका १ नं. प्रदेशका अध्यक्ष देबराज घिमिरे, प्रचण्ड–नेपाल समूहका झापा जिल्ला सचिव एवम् साविक नेकपा माओबादीका जिल्ला सेक्रेटरी बिजय साम्पाङलगायतका नेताहरुले आफ्ना समर्थकहरुलाई कुनै पूर्वाग्रह नराखी साझा उम्मेद्वारलाई मतदान गर्न आह्वान गरेका छन् ।

‘वाणिज्य संघको चुनावको विषयमा हामी दुबै समूहका नेताहरु बारम्बार बैठकमा जुटेका छौं,’ चुनाव परिचालन समन्वय समितिका संयोजक भट्टराई भन्छन्–‘पार्टी फुटेको कुनै कार्यकर्तालाई पनि मन परेको छैन, झापाको यो निर्वाचनले केन्द्रमा शक्ति र पदको दम्भले फुटेका नेताहरुलाई क्षति व्यहोर्नु अघि नै पुनः एकता हुन सन्देश दिएको छ ।’

विर्तामोड उद्योग वाणिज्य संघको आसन्न चुनावमा चार हजार ५५० मतदाता रहेका छन् । यसअघिको निर्वाचनमा नेकपा एक्लैले नेपाली कांग्रेस र राप्रपाको समीकरणसँग चुनावी प्रतिष्पर्धा गरेको थियो । उसबेला नेकपा समर्थित उम्मेद्वार पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: