प्रधानमन्त्रीले दिएको पैसाले ‘पढाइमा खर्च गरुँ कि बाख्राको पाठो किन्दिउँ ?’

  प्रकाशित मिति
२२ फाल्गुन २०७५, बुधबार १९:४४


अर्जुनधारा । सुखानीको जङ्गलमा मङ्गलबार प्रधानमन्त्रीले भाषण गर्दागर्दै झरी पर्न थाल्यो । मानिसहरु यताउती ओत लाग्न थाले । काठमाडौं उड्नु पर्ने समय छोटिदै गएकोले प्रधानमन्त्रीको कारगेड मिलाउन थाले सुरक्षाकर्मीहरु । आमसभाको बिसर्जनको जिम्मा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लगाएर प्रधानमन्त्री ओली बाटो लागे ।

सुखानीको जङ्गलबाट करिब ५ किलोमिटर झरेपछि प्रधानमन्त्रीको कारगेड सिधै दक्षिण विर्तामोड तर्फ लाग्नु पर्नेमा शनिश्चरेबाट पश्चिम दक्षिण मोडियो ।

अर्जुनधारा–४ रातेखाल टोलको पिच सडकमा प्रधानमन्त्रीको सवारीका गाडीहरु बेगमा दौडिरहेका थिए । करिब दुई किलोमिटर झरेपछि सवारीको तेस्रो नम्बरमा रहेको झण्डावाल को १ झ ५९४ नम्बरको गाडी एक्कासी रोकियो । त्यो गाडी रोकिएपछि पछाडिका करिब २३ वटा गाडीहरु सबै आफ्ना आफ्ना ठाउँमा रोकिए ।

सुरक्षाकर्मीहरु गाडीबाट ओर्लर्दै झण्डावाल गाडीतिर दौडिए । धेरैलाई लाग्यो प्रधानमन्त्रीको गाडीले पैदलयात्रुलाई ठक्कर दियो । केहीलाई लाग्यो कारगेडमा भएको पछिल्लो गाडीले अघिल्लोलाई धक्का दियो । अवस्था बुझ्न प्रधानमन्त्रीको अघिपछिको गाडीमा भएका सबै मानिसहरु झरेर त्यही गाडी वरिपरी पुगे ।

त्यति मात्र हैन कार्यक्रममा जान नभ्याएका गाउँलेहरु सबै सवारी जाम भएका ठाउँमा भेला भए । गाडीलाई वरीपरी सुरक्षाकर्मीले घेरे । त्यो रोकिएको गाडी अरुको नभएर प्रधानमन्त्री केपी ओलीको थियो ।

रोकिएको गाडीको झ्यालको सिसा खोलेर प्रधानमन्त्री ओलीले आफूलाई बाइबाई गर्दै हात हल्लाइरहेकी बालिकालाई हातको इसारा गरेर बोलाए ।
हजुरबा गोपाल खतिवडाको आड लिएर प्रधानमन्त्री ओलीलाई बाइबाई गरिरहेकी २८ महिनाकी पुष्पा खतिवडा वरिपरी पुलिसले घेरिएको नचिनेका मानिसले बोलाएपछि रुन थालिन् ।
प्रधानमन्त्री ओलीले हजुरबा गोपाल खतिवडालाई ‘नातिनीलाई यता ल्याउनुहोस् त’ भने । प्रधानमन्त्रीको सङ्केत र आवाज सुनेपछि खतिवडाले नातिनीलाई खोकिलामा च्यापेर बाटोमा पु¥याए । प्रधानमन्त्रीले बोक्न खोजे । पुष्पाले नौलो मानिन् ।

त्यसपछि प्रधानमन्त्रीले १ हजार रुपैंयाको नोट झिकेर पुष्पालाई दिए । खुशी हुँदै समाइन् । त्यसपछि प्रधानमन्त्रीले बालिकालाई नमस्कार गरे । पुष्पाले फर्काइन् । प्रधानमन्त्री ओलीले पुष्पालाई बाइबाई गरे । पुष्पाले पनि बाइबाइ गरिन् । त्यसपछि प्रधानमन्त्रीको गाडी गाडी अघि बढ्यो । त्यही गाडीलाई पछ्याउदै अरु गाडीको लस्कर अघि बढ्यो ।
हजुरबाको खोकिलामा च्यापिएकी पुष्पाले हातमा हजारको नोट खेलाउदै आँखाले भ्याउन्जेल गाडीको रमिता हेरिरहिन् ।

तर उनका हजुरबालाई चाँहि लाग्यो ‘प्रधानमन्त्री ओली कति दयालु । आज मेरी नातिनीलाई यत्रो पैसा किन दिए होलान् । मैले त नातिनीलाई एकै चोटी यत्रो पैसा दिन सकेको छुइन ।’
प्रधानमन्त्रीको सवारी अघि बढेपछि गाउँले भेला भएर पुष्पालाई हेर्न झुम्मिए । सधैं देखिरहेकी नानी आज अलिभिन्नै, अलि उच्च मनोवलकी, अलि हेरिरहुँ जस्ती देख्थे गाउँलेहरुले ।
‘प्रधानमन्त्रीले गरिबलाई हेर्नुभयो । गरिबका आँगनमा गाडी रोकिदिनुभयो । गरिबकी नातिनीलाई यत्रो पैसा दिनुभयो’–गोपाल खतिवडाले एकै सासमा सुनाए ।
‘प्रधानमन्त्रीले नातिनीलाई दिएको पैसा के मा खर्च गर्नुहुन्छ ?’–खतिवडालाई सञ्चारकर्मीहरुले सोधे ।

‘खै के गरौं हजुर, पढाइमा लाइदिउँ कि बाख्राको पाठो किन्दिउँ । सोच्दैछु’, खतिवडाले भने–‘जे गरे पनि नातिनीको भलाइका लागि यो पैसा खर्च गर्छु ।’
पुष्पालाई बैशाखदेखि विद्यालय भर्ना गराउने खतिवडाले जानकारी दिए ।
…………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: