प्रमाणै नहेरी सुन र चाँदी पक्रेको आरोप

  प्रकाशित मिति
१६ बैशाख २०७४, शनिबार २३:४५


विर्तामोड । काठमाडौँबाट झापा ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई दिन यता एक करोडभन्दा बढी मूल्य पर्ने सुन र चाँदी पक्राउ गरेको छ । तर व्यवसायीहरुले त्यो सबै सामान बैधानिक रहेको र प्रहरीले बित्थैमा पक्रेर सास्ती दिएको आरोप लगाएका छन् ।

काठमाडौँबाट विहीवार अपरान्ह ४ बजे बुद्ध एयरको युफोर–९५४ नं. को जहाजमार्फत आएको ६७ लाख ७२ हजार ९ सय रुपैयाँ मूल्य बराबरको १०० केजी चाँदी भद्रपुर एयरपोर्टमा प्रहरीले पक्राउ गरेको थियो ।

यसैगरी, काठमाडौँबाट बा१५च ६८७२ को आई–२० नामक निजी गाडीमा ल्याउँदै गरेको अवस्थामा शनिवार विहानीपख ३ बजेतिर झिलझिलेमा प्रहरीले ४६ लाख ४५ हजार रुपैयाँ मूल्य पर्ने एक केजी सुन पक्राउ गरेको थियो ।

दुबै घटनामा प्रहरीले चेकजाँचका क्रममा सामान के हो भनी सोध्दा साथमै रहेका आयातकर्ताहरुले निर्धक्कसँग ‘सुन र चाँदी’ भनी बताएका थिए । त्यसबेला व्यवसायीहरुले सामान बैधानिक भएको विभिन्न प्रमाण समेत प्रहरीसमक्ष प्रस्तुत गरेको बताइएको छ ।

प्रहरीले ती दुबै घटनामा सामानको बैधानिकताको राम्ररी जाँचबुझ नगरी सुन र चाँदी वरामद गरेको र व्यवसायी समेतलाई पक्राउ गरी अनाहकमा सास्ती दिएको नेपाल सुन चाँदी व्यवसायी सङ्घ झापाका अध्यक्ष राजु धमलाले शनिवार पत्रकार सम्मेलन गरी बताएका छन् ।

प्रहरीले चाँदी प्रकरणमा विर्तामोडको नवदुर्गा ट्रेडिङ कन्सर्नका सञ्चालक मनोज गोयल र साथमा रहेका पुण्यप्रसाद अधिकारीलाई पक्राउ गरेको थियो ।

वरामद चाँदी बैधानिक रुपमा आयात गरिएको हो भन्दा भन्दै प्रहरीले आफ्ना कुरा नसुनी इटहरीस्थित राजस्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा पठाएको पीडित मनोज गोयलले बताए ।

राजस्व अनुसन्धान कार्यालयले ६७ लाख रुपैयाँ धरौटी लिएर मात्र गोयल र अधिकारीलाई छाडिदिएको छ ।
यता झिलझिलेमा एक केजी सुनसँगै आयातकर्ता विर्तामोडको पूर्णिमा ज्वेलर्सका सञ्चालक बैजनाथ साह सोनारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

व्यवसायीहरुले गरेको पत्रकार सम्मेलनमा सुन र चाँदी दुबै सामानको आयातको बैधानिक प्रमाणहरुको फोटोकपी वितरण गरिएको थियो ।
काठमाडौँको कुमारी बैङ्कमार्फत सुन खरिद गरिएको जनाउने बैङ्कको चलान पत्र र नेपाल सुन चाँदी व्यवसायी महासङ्घ काठमाडौँले पूर्णिमा ज्वेलर्सलाई कोटामा पाएको सुन उपलब्ध गराउन कुमारी बैङ्कलाई गरेको आधिकारिक पत्राचारको प्रतिलिपी नै पत्रकार सम्मेलनमा बाँडिएको छ ।

यसैगरी, चाँदीको हकमा काठमाडौँमा रहेको नवदुर्गा ट्रेडिङले तौल उल्लेख गरी झापा पठाएको चलान पत्र, आयात प्रज्ञापन पत्र, त्रिभुवन विमानस्थल एयरपोर्टमा तिरिएको भ्याट (कर) र बुद्ध एयरमा सामानको मात्रा उल्लेख गरी तिरिएको भाडाको इन्भोइस विलको प्रतिलिपी समेत पत्रकारहरुलाई उपलब्ध गराइएको छ ।

सुन चाँदी व्यवसायी सङ्घ झापाका अध्यक्ष धमलाले सुन र चाँदी दुबै सामानको आयातमा कहिँकतै अबैधानिक कार्य नभएको ठोकुवा गर्दै प्रहरीले दुःख दिने नियतले सामान पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा बित्थामै पठाइदिएको दावी गरेका छन् ।

२०६६ सालदेखि तोकिएका बाणिज्य बैङ्कहरुबाट मात्र सुन किन्नु पर्ने र जिल्लाहरुका लागि नेपाल राष्ट्र बैङ्कले कोटाको आधारमा सामान दिने कानूनी प्रावधान रहेको छ ।

सोही आधारमा झापा जिल्लाले यस अघि मासिक ४ केजी र यसै वर्षदेखि ८ केजीका दरले सुन पाउने गरी कोटा निर्धारण भएको सङ्घका अध्यक्ष धमला बताउँछन् ।

सरकारी प्रावधान पूरा गरी कर तिरेर ल्याइएको सुन र चाँदी यसरी धमाधम पक्राउ गर्नुले व्यवसायी आक्रोशित भएको उनको भनाई छ ।
‘सामान चेकजाँच गरेकोमा हामीलाई कुनै आपत्ति छैन’, अध्यक्ष धमला भन्छन्–‘तर सबै बैधानिकताको प्रमाण प्रस्तुत गर्दा पनि प्रहरीले अनाहकमा व्यवसायीहरुलाई यसरी बद्नाम गर्छ भने सहन सकिदैन ।’

प्रहरीले व्यवसायीमाथि दादागिरी नै गरेको उनको आरोप छ । चेकजाँच गर्दा बैधानिक कागज भएमा सामान छाड्नु पर्नेमा प्रहरीले शङ्काको बहानामा राजस्व अनुसन्धान कार्यालय इटहरीमा हतारमै पठाउने गरेकोमा समेत व्यवसायीहरु रुस्ट छन् ।

इटहरीस्थित अनुसन्धान कार्यालयले प्रहरीले पठाएको मुद्दामा विगो बराबरको धितो धरौटी राख्न लगाएर छानविन प्रक्रिया अघि बढाउने गरेको छ । बित्थामै धरौटी राख्नु पर्ने कुराले व्यवसायीहरु हतोत्साही भएको उनीहरुको भनाई छ ।

विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम कार्कीले सुन चाँदी प्रकरणमा झापा प्रहरीको ठूलो ज्यादति देखिएको बताउँदै व्यवसायीलाई दुःख दिने त्यस्तो कार्य रोक्न माग गरेका छन् ।

प्रहरीले विगतमा यस्तो हचुवाको तालमा सामान नपक्रेको जनाउँदै अहिले आएर बैधानिक कारोवार गर्ने व्यवसायीहरुलाई सास्ती हुने गरी धरपकड गर्न थालेकोमा आफु आश्चर्यमा परेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया बताउँछन् ।

‘अबैध काम गर्नेलाई हामी पनि कार्वाहीका लागि सघाउन तयार छौँ’, केन्द्रीय सदस्य डालमियाले पत्रकार सम्मेलनमा भने–‘राज्यको प्रक्रिया बमोजिम बिल बिजक लिएर व्यापार गर्न पाउने आम नागरिकको नैसर्गिक अधिकार हनन गर्ने प्रहरीको कार्य आपत्तिजनक छ ।’

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: