झापा, ३२ असार । झापा मेचीनगरकी नीता पोखरेल अब कवयित्रीको रुपमा साहित्यिक फाँटमा उदाएकी छन् ।
उनको कविताहरुको पहिलो सँगालो ‘प्रयास’ आज राजधानीमा एक समारोहबीच लोकार्पण भएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् संघीय सांसद् योगेश भट्टराईले प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा ‘प्रयास’को लोकार्पण गरेका छन् ।
सो लोकार्पण अवसरमा संविधानसभा सदस्य एवम् नेकपा एमाले झापाका केन्द्रीय सदस्य रविन कोइराला, मेचीनगर नगरपालिकाका निवर्त्तमान प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, मेचीनगर लेडी जेसिजकी संस्थापक अध्यक्ष कविता शर्मा, मेचीनगरका युवा उद्यमी हरि दाहाल लगायत साहित्यिक, सामाजिक एवम् राजनीतिक क्षेत्रका दिग्गजहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि भट्टराईले कृतिको लोकार्पण गर्दै ‘प्रयास’मा संग्रहित कविताहरुले पाठकको मन छुने मात्र नभई समाजलाई सही मार्गमा हिँडाउन घच्घच्याउने धारणा व्यक्त गरेका थिए ।
सर्जक नीता पोखरेलले सो अवसरमा आफ्नो लेखनी यात्रा र कृतिका बारेमा चर्चा गर्दै कृतिको राम्रो र सुधार गर्नुपर्ने पक्षका बारेमा रचनात्मक प्रतिक्रियाको अपेक्षा गरेको बताएकी थिइन् ।
मेचीनगर वडा नं. १० धुलाबारी निवासी कवयित्री पोखरेल मेचीनगर लेडी जेसिजकी संस्थापक उपाध्यक्ष र विभिन्न सामाजिक संस्थामा आवद्ध रहँदै आएकी छन् ।
सामाजिक र राजनीतिक बेथिति र विकृतिका बारेमा तीखो प्रहार गर्न सक्षम उनका विचारहरु लोकतन्त्र पोस्टमा लामो समय स्तम्भका रुपमा प्रकाशित भएका थिए ।
उनका हरेक रचनामा महिला समानताको पक्षमा बुलन्द सन्देश निहीत रहेको हुन्छ भने उनको कलम महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध कडा प्रतिबादमा उत्रिने गरेको देखिन्छ ।