प्रवेशद्वार तानातानले चन्द्रगढी विमानस्थलको मास्टरप्लान अलपत्र

  प्रकाशित मिति
२७ मंसिर २०७७, शनिबार १५:४२


झापा, २७ मङ्सिर । प्रदेश नं. १ को दोस्रो ठूलो चन्द्रगढी विमानस्थलको पुनःनिर्माण सम्बन्धी गुरुयोजना प्रवेशद्वारलार्ई कता राख्ने भनेर स्थानीयवासीले सुरु गरेको अनावश्यक विवादले अलपत्र परेको छ ।

भद्रपुर नगरपालिका वडा नं. ८ मा पाँच दशक अघिदेखि रहेको चन्द्रगढी विमानस्थलको टर्मिनल भवनसँगै प्रवेशद्वार अहिले दक्षिणतिर छ । विमानस्थलको एक हजार पाँच सय मिटर लामो धावनमार्ग पूर्व–पश्चिम फैलिएको छ ।

तर पुनःनिर्माण गरी विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन नागरिक उड्डयन प्राधिकरणले अर्बको हाराहारीमा लगानी हुने गरी नयाँ गुरुयोजना हालै बनाएको छ । जसमा टर्मिनल भवन र प्रवेशद्वार धावनमार्गको उत्तरतिर डिजाइन गरिएको छ ।

विमानस्थलको विस्तार र विकासमा सबै पक्षको सहमति भए तापनि प्रवेशद्वार उत्तरतिर सर्ने भएपछि धावन मार्ग दक्षिणका बासिन्दाले सङ्घर्ष समिति गठन गरेर पचास वर्षदेखि दक्षिणमा रहेको प्रवेशद्वार कायमै राखिनु पर्ने अडान राखेका छन् ।

विराटनगर र चन्द्रगढी विमानस्थलको गुरुयोजना एकसाथ तयार भएको थियो । विराटनगरमा गुरुयोजना कार्यान्यनको चरणमा प्रवेश गरिसक्दा चन्द्रगढीमा एक वर्षदेखि सुरु भएको विवादले निकास पाउन सकेको छैन ।

प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा रहेको चन्द्रगढी विमानस्थललाई छिटो विकास तथा विस्तार गर्न चाहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई समेत प्रवेशद्वारको अनावश्यक विवादले चिन्तित बनेका छन् ।

उनले स्थानीयवासीसँग हालै दुईपटक छलफल गरी समाधान खोजे ।

विमानस्थलका प्रमुख मुरारी पौडेल ।

चन्द्रगढी विमानस्थलका प्रमुख मुरारी पौडेलले विवाद जति लम्बिन्छ, विकास त्यति नै पछाडि धकेलिने विषयमा भद्रपुरवासीलाई गम्भीर हुन आग्रह गरेका छन् ।

‘अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ स्वरुपमा लैजान ढिलोचाँडो गुरुयोजना लागू नगरी सुखै छैन,’ विमानस्थलका प्रमुख पौडेल भन्छन्–‘‘राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवाला स्थानीयवासीसँग बारम्बार छलफल चलाइरहेका छौं, सहमति नहुँदा विकास अवरुद्ध भइरहेको छ ।’’

स्थानीयबासी नै गुरुयोजनाप्रति असहमत हो भने विकास र विस्तार प्रक्रिया अघि नबढ्ने उनले बताए । गुरुयोजनामा विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गर्ने, धावनमार्ग विस्तार गर्नेलगायतका योजना रहेको उनले जानकारी दिए ।

साविकको दक्षिणी भागमै विमानस्थलको टर्मिनल र प्रवेशद्वार रहनुपर्ने अडान राख्दै स्थानीयवासीले रुद्र चुडालको अध्यक्षतामा संघर्ष समिति नै गठन गरेका छन् । समितिका अध्यक्ष चुडालले प्रवेशद्वार उत्तरतिर सार्ने हो भने भद्रपुर र दक्षिण झापावासी ओझेलमा पर्ने दावी गरे ।

‘हामीले विकास हुनुहुँदैन भनेका होइनौं,’ संघर्ष समितिका अध्यक्ष चुडालले भने–‘पचास वर्ष अघि विमानस्थल बनाउन दक्षिणबासीले ५० विगाहा जग्गा निःशुल्क दान दिएका थिए, अहिले आएर उत्तरतिरका जग्गाधनीको स्वार्थलाई लिएर प्रवेशद्वार सार्ने षडयन्त्र हामीलाई स्वीकार्य छैन ।’

प्रवेशद्वारकै कारण गुरुयोजना अलपत्र पर्ने भएपछि भद्रपुर नगरवासीकै अर्को समूहले हिरा पोखरेलको अध्यक्षतामा विमानस्थल पुनःनिर्माण सहयोग समिति गठन गरेर गुरुयोजना बमोजिम नै निर्माण कार्य चाँडो सुरु गर्न दवाव दिइरहेको छ ।

सहयोग समितिका अध्यक्ष पोखरेलले प्राविधिक दृष्टिले जहाँ राख्दा उपयुक्त हुन्छ त्यही बमोजिम विकासको काम सुरु हुनुपर्ने बताए ।

‘हामीले गेट यता वा उता भनेका छैनौं,’ उनले भने–‘विमानस्थलको विस्तार दक्षिणतिर गर्दा अहिलेको जिल्ला सदरमुकामका रंगशाला, अदालत, प्रहरी, जिसस, आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रण, बन, नापी, सहरी विकास, शिक्षा, सहकारी, कृषिलगायतका दर्जनौं सरकारी कार्यालय हटाउनु पर्दोरहेछ । त्यसो नगरौं भन्ने हाम्रो सुझाव हो ।’

उनले धेरै कार्यालय हटाएर सदरमुकामको अस्तित्व समाप्त पार्ने, चालू भवन भत्काएर नयाँ ठाउँमा बनाउने, राज्यलाई अत्याधिक क्षतिपूर्तिको भार बोकाउने जस्ता समस्या आउन नदिन विमानस्थलको विस्तार उत्तरतिर गर्नु उपयुक्त हुने प्राविधिक निष्कर्ष भएको हुँदा त्यही कुरामा आफुहरुको जोड रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: