प्रसाइँ र केसीलाई एउटै कित्तामा उभिन पूर्वमन्त्रीको आग्रह

  प्रकाशित मिति
१ माघ २०७४, सोमबार १२:२८


विर्तामोड । पूर्व स्वास्थ्यमन्त्री एवम् नेकपा माओबादी केन्द्रका पोलिट्व्यूरो सदस्य गिरीराजमणि पोखरेलले विर्तामोडको वीएन्डसी हस्पिटललाई मेडिकल कलेजको मान्यता दिलाउन डा. गोविन्द केसीको विरोध गर्नु नपर्ने बताएका छन् ।

आइतवार अपरान्ह वीएन्डसी हस्पिटलको अवलोकनमा आएका उनले वीएन्डसीका कार्यकारी प्रमुख दुर्गा प्रसार्इँ र अनसनकारी डा. गोविन्द केसी एउटै कित्तामा उभिनु पर्ने समेत धारणा व्यक्त गरे ।

‘मेची अञ्चलमा एउटा मेडिकल कलेज दिनु पर्छ भन्ने विषयमा विगतमा एउटा समझदारी भएकै हो’, संसद्मा अड्किएको चिकित्सा विधेयकको ड्राफ्टकर्ता समेत रहेका पूर्व मन्त्री पोखरेलले हस्पिटल अवलोकनपछि पत्रकार भेटघाटका क्रममा भने–‘बीएन्डसीमा मेडिकल कलेज चल्ने आधार छन् भन्ने सुनेको हुँ, मलाई हेर्ने मन थियो ।’

वीएन्डसीले मेडिकल कलेजको मान्यता नपाउनुमा डा. गोविन्द केसी बाधक भएको उनले अस्वीकार गरे । बरु उनले वीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइँलाई गोविन्द केसीको विरोध नगर्न सुझाव दिए ।

‘डा. केसीले मेडिकल शिक्षाका बेथितिको विरोध गर्नु भएको हो, त्यसमा समर्थन नै गरे हुन्छ’, पोखरेलले वीएन्डसीका कार्यकारी निर्देशक प्रसाइँतिरै फर्केर पत्रकार भेटघाटमा भने–‘गोविन्द केसीको विरोध गर्नै पर्दैन, एउटा कित्तामा गोविन्द केसी र अर्को कित्तामा दुर्गा प्रसाइँ उभिन जरुरी नै छैन ।’

सोमवार भद्रपुरमा आयोजना हुने राष्ट्रिय योग दिवसको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिन आएका पोखरेलले वीएन्डसीको सेवा र पूर्वाधारहरुको अवलोकन गरेका थिए ।

वीएन्डसी हस्पिटलमा रहेको उपचार सेवा र त्यहाँको भव्य पूर्वाधार देखेर खुशी व्यक्त गरेका पोखरेलले आफु स्वास्थ्यमन्त्री र शिक्षामन्त्री रहँदा वीएन्डसी जस्ता पूर्वाधारयुक्त हस्पिटलले मेडिकल कलेजको मान्यता पाउने गरी चिकित्सा विधेयकमा मध्यमार्गी हल खोजिएको खुलासा गरेका थिए ।

हस्पिटलले विश्वस्तरीय उपचार सेवा प्रदान गरिरहेको र मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार पूरा गरिसकेको पोखरेललाई जानकारी गराएका थिए ।

प्रसाइँले अरबौँ लगानी भइसकेको अत्याधुनिक हस्पिटललाई मेडिकल कलेजको मान्यता प्रादन गर्न ढिलाइ गरेर सरकारले पूर्वाञ्चलका २९ लाख जनतामाथि अन्याय गरेको धारणा व्यक्त गरेका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा वीएन्डसीका कार्यकारी निर्देशक प्रसाई, प्रिन्सिपल डा. उमेश शर्मा, जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायतको उपस्थिति रहेको थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: