प्रसाई साधारण तारेखमा छुटे

  प्रकाशित मिति
१ फाल्गुन २०७६, बिहीबार १५:४१


झापा । बिर्तामोड–५ स्थित बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा साधारण तारेखमा छुटेकाछन् ।

मानहानी सम्बन्धी कसूरमा फरार प्रसाई विहीबार बिहान जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सुटुक्क हाजिर भएर छुटेका हुन् ।
त्यसयता प्रसाई भारतमा लुकेर बसेको सूचना प्रहरीसँग थियो ।

आइतबार प्रहरी अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरेको थियो ।

हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी थिइन् ।

निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले २ माघमा बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

द्धारिका होटलमा मंसिर १५ मा उपाध्यक्ष गिरीले घुस मागेको प्रसाईको दावी थियो । प्रसाईले पत्रकार सम्मेलन गरेर डा. गिरीविरुद्ध अख्तियारमा उजुरी दिएका थिए ।

कार्यकारी निर्देशक प्रसाईले गत पुस २३ गते राजधानीमा पत्रकार सम्मेलन गरी आफुसँग चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले होटल द्वारिकाजमा बोलाएर २० करोड रुपैयाँ र १० प्रतिशत शेयर घुस मागेको आरोप लगाएका थिए ।

प्रसाईले लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण आयोगमा गिरीविरुद्ध उजुरी दिदै गिरीले आर्जन गरेको अकुत सम्पत्तिको छानविनको माग गरेका थिए ।

प्रसाईको आरोप सार्वजनिक भएपछि प्रतिबाद गर्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले मानहानी र अभद्र व्यवहार भएको भन्दै भक्तपुर जिल्ला प्रहरी कार्यालय र भक्तपुर जिल्ला अदालतमा प्रसाईविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

आरोप प्रत्यारोप चलिरहेका बेला भक्तपुर जिल्ला प्रहरी कार्यालयले अभद्र व्यवहारसम्बन्धी मुद्दामा वयान लिनका लागि प्रसाईविरुद्ध भक्तपुर प्रशासनमा पक्राउ पूर्जी माग गरेको थियो । सिडीओ पाण्डेले प्रहरीको माग बमोजिम पक्राउ पूर्जी जारी गरेकी थिइन् ।

पक्राउ पूर्जी जारी भएपछि पक्राउ गर्न प्रहरीको टोली भक्तपुरस्थित प्रसाईको निवासमा पुगेको थियो । भक्तपुर जिल्ला प्रहरी कार्यालयका एसपी सविन प्रधानले घरमा प्रसाई नभेटिए पछि प्रहरी रित्तै फर्केको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: