भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले लकडाउनका बेला स्थानीय उद्योग वाणिज्य संघहरुको सहयोगमा जिल्लाभर टोलटोलमा खाद्यान्न र तरकारी पुर्याउने व्यवस्था मिलाएको छ ।
प्रहरीले सामान ढुवानी गर्न इच्छुक निजी व्यवसायी तथा संस्थाहरुलाई सम्पर्कमा आउन आह्वान समेत गरेको छ ।
कोभिड १९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि स्थानीय किराना तथा तरकारी पसलहरुमा भीड लागेको छ । भीडभाड रोक्न टोलटोलमै सामान पुर्याउनु उचित ठानेर पहल गरिएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
कोइरालाका अनुसार आजदेखि सुरु गरिएको अभियानमा विर्तामोडस्थित कृषि थोक बजारबाट ६ वटा गाडीमा सब्जी लोड गरेर टोलतिर पठाइएका छन् । ती गाडीलाई सवारी पास दिएर टोलटोलमा पठाइएको हो ।
उनले भने, ‘पालो मिलाएर होलसेल पसलहरुसँग समन्वय गरेर उद्योग बाणिज्य संघले पाससहितका गाडीलाई टोल टोलमा पठाउँछ । तोकिएको समयमा स्थानीयबासीले आवश्यक सामाग्री खरिद गर्नुपर्छ, बजार निस्कन पाइँदैन ।’
उनले झापाका सबै स्थानीय सरकार र उद्योग बाणिज्य संघले खाद्यान्नलगायत आवश्यक सामग्री बोकेर टोलटोलमा जाने सवारी साधन तोकेर सवारी अनुमतिका लागि पठाउन आग्रह गर्दै उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट तुरुन्त अनुमतिको व्यवस्था गरिने बताए ।
यसअघि अर्जुनधाराको मामाभाञ्जा सिर्जनशील कृषि फार्मले फोनमा अर्डर लिएर घरघरै सागसब्जी पुर्याउने व्यवस्था मिलाइसकेको छ ।
प्रहरीले बजारका पसलहरुमा समेत सामाजिक दूरी कायम गर्दै निश्चित घेराभित्र बसेर सामान किन्न सर्वसाधारणलाई आग्रह गरेको छ ।